नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताएका छन्। काठमाडौंमा आजदेखि सुरु भएको नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवशेनको उद्घाटन समारोहमा पोखरेलले यस्तो बताएका हुन्।
२०७४ सालको निर्वाचनमा एमाले र माओवादी एउटै घोषणपत्र लिएर जनतामा गएको स्मरण गर्दै उनले भने , ‘जनताले हामीलाई विश्वास गरे। त्यसको जगमा जनताको भावनालाई सम्मान गर्दै एउटै पार्टी निर्माण गर्ने अभियानको नेतृत्व गर्यौँ । नेकपा गठन गर्यौँ । तर, त्यो एकतालाई त्यो नेकपालाई रक्षा गर्न सकेनौँ।’
नेकपा गठन इमानदार प्रयास भएको बताउँदै पोखरेलले अगाडि भने, ‘नेकपा गठन कुनै गलत कुरा थिएन। त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई हामीले जोगाउन नसकेकोमा मलाई पछुतो छ। त्यस अर्थमा हामी हिँड्ने बाटो के हो भन्ने कुरा इतिहासको शिक्षाको रूपमा ग्रहण गर्नु जरुरी छ।’