ए डिभिजन लिग : दुई खेल बराबरीमा सकिए

शुक्रबार, २ पुष, २०७८
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज भएका दुई खेल बराबरीमा सकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले १–१ तथा मच्छिन्द्र क्बल र संकटा क्लबको खेल गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

अन्डरडग टोली सातदोबाटो युथ क्लबसँग आर्मीले १–१ गोलको बराबरी खेल्दै आर्मी तालिकाको दोस्रो स्थानमा पुगेको छ। एएफसी कपमा छनोट खेल्न जित्ने पर्ने दबाबका साथ मैदान उत्रिएको आर्मीलाई बराबरीले धक्का लागेको छ। सातौँ चरणको खेल सम्मको लिगबाट  क्लब लाइसेन्स प्राप्त गरेको टोलीले एएफसी खेल्न पाउने प्रावधान रहेको अवस्थामा आर्मीलाई बराबरी नतिजाले धक्का लागेको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा भने विभागीय टोलीको क्लब आर्मीले सुरुवाती अग्रता निकालेको थियो। १०औँ मिनेटमा आर्मीका दिनेश हेन्जनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बलले जाली चुमेको थियो। त्यस्तै, आर्मीविरुद्ध प्रशंसनीय खेल प्रदर्शन गरेको सातदोबाटोले आर्मीको अग्रतालाई धेरै समय टिक्न दिएन। ६ मिनेटपछि नै सातदोेबाटोका अजयी मार्टिन्सले १६औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा अवस्थामा ल्याएका थिए। त्यसपछि अग्रता आर्मीले पहिलो हाफमा निकै संघर्ष गरे पनि सफल हुन सकेन। यस्तै, सातदोबाटोले पनि केही राम्रा अवसर सदुपयोग गर्न चुक्यो।

एकएक गोलको बराबरीमा सकिएको पहिलो हाफपछि आर्मीले दोस्रो हाफमा पनि आक्रामक खेल देखायो। तर, आर्मीका प्रयास विफल भए। आर्मीका सान्तोष तामाङले ५५औँ मिनेटमा गरेको प्रहार माथिल्लो बारबाट बाहिरिएको थियो। ७५औँ मिनेटमा पनि सन्तोषको भली सटले पोस्टको दिशा लिन सकेन। सातदोबाटोका सेट पिसका अवसर पनि सदुपयोग हुन सकेनन्। बाँकी समयमा दुबै टोलीले गोलका लागि प्रयास गरिरहे पनि सफल हुन सकेनन र खेल बराबरीमा सकियो।

बराबरीसँगै ५ खेलबाट ९ अंक जोड्दै आर्मी तेस्रो स्थानमा यथावत रहेको छ। बराबरीपछि सातदोबाटो ८ अंकसहित पाँचौँ स्थानमा छ। अघिल्लो खेलमा एनआरटीसँग पराजित भएको सातदोबाटो बलियो आर्मीसँग अंक खोस्दै नवप्रवेशी पनि बलियो टोलीको रूपमा प्रमाणित गरेको छ। यसअघि सातदोबाटोले उपाधि दाबेदार थ्री स्टारलाई हराउन सफल भएको थियो।

दिनको दोस्रो खेलमा साबिक विजेता मच्छिन्द्रले छिमेकी क्लब संकटासँग रोकिन पुगेको छ। बराबरीपछि मछिन्द्रलाई एक कम खेलेको मनाङसँग ३ अंकको अग्रता बनाउने अवसर गुमेको छ। बराबरीसँगै शीर्ष स्थानको मछिन्द्रले तालिकामा ११ अंक जोडेको छ। र, दोस्रो स्थानको मनाङसँग एक अंकको अग्रता लिएको छ। संकटा ९ अंक जोड्दै शीर्ष चारमा उक्लिएको छ।

लिगमा भोलि तीन खेल हुँदै छन् । काठमाडौंमा दुई खेल हुनेछन् भने पोखरामा मनाङले विभागीय टोली नेपाल पुलिस क्लबलाई आतिथ्यता गर्दै छ। दशरथ रंगशालामा च्यासल युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेल थ्री स्टार र न्युरोड टिम (एनआरटी)बीच हुनेछ। 

सुझावित समाचार