फिफा प्रतिबन्धको जोखिममा अफ्रिकी राष्ट्र बुर्किना फासो

बुर्किना फासोकोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कारबाही गर्ने चेतावनी दिएपछि फिफाले तेस्रो पक्षको हस्तक्षेप नमान्ने जनाएको छ

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

अफ्रिकी राष्ट्र बुर्किना फासोका राष्ट्रपति इब्राहिम ट्राओरेले राष्ट्रिय फुटबल महासंघलाई कारबाही गर्ने चेतावनी दिएका छन् । महासंघले आगामी दिनमा व्यवस्थापन र अन्तर्राष्ट्रिय नतिजामा सुधार गर्न नसके हस्तक्षेप गर्ने राष्ट्रपति इब्राहिमले चेतावनी दिएको अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

राष्ट्रपतिले हस्तक्षेप गरेको खण्डमा फिफाले उनीहरूको फुटबल संघमाथि प्रतिबन्ध लगाउन सक्छ । फिफाले कुनै पनि राष्ट्रिय फुटबल संघमा तेस्रो पक्षको हस्तक्षेप स्वीकार्य नभएको प्रस्ट पारेको छ । 

पछिल्लो समयमा अर्जेन्टिनासँगको मैत्रीपूर्ण खेलमा ७–० को हारपछि आफ्नो अग्रसरतामा उनी फुटबलमा देखिएको संकट समाधान गर्न लागेका हुन् । राष्ट्रिय टोलीको व्यवस्थापनमा गम्भीर कमजोरी भएको उनको भनाइ छ । ‘पछिल्लो समयमा राष्ट्रिय फुटबल टोलीको व्यवस्थापन कमजोर बन्दै गइरहेको छ । यसले अन्तर्राष्ट्रिय नतिजामा असर गरेको छ,’ उनले भनेका छन्, ‘तत्कलै व्यवस्थापनमा हस्तक्षेप गरेन भने थप जटिल बन्दै जानेछ ।’ 

बुर्किना सरकारले महासंघको कार्यसमिति विघटन गर्ने, नेतृत्वलाई हटाउने वा आफ्नो नियन्त्रणमा नयाँ नेतृत्व स्थापना गर्ने कदम अगाडि बढाए फिफाको नियमविपरीत मानिनेछ । यस किसिमको कदममा बुर्किना फासोको फुटबल महासंघमाथि निलम्बनको कारबाही हुन सक्छ । यसअघि फिफाले केन्या र जिम्बावेलाई पनि तेस्रो पक्षको हस्तक्षेप भन्दै प्रतिबन्ध गरेको थियो ।

फिफाले प्रतिबन्ध लगाए बुर्किना फासोको राष्ट्रिय टोलीले विश्वकप छनोट र अफ्रिका कप अफ नेसन्सका छनोट प्रतियोगितामा सहभागी हुन नपाउने जोखिम हुनेछ । यसैगरी, अफ्रिकी फुटबल महासंघअन्तर्गतका प्रतियोगिताबाट वञ्चित हुन सक्छन् । फिफाबाट प्राप्त हुने विकाससम्बन्धी आर्थिक सहयोगसमेत रोकिन सक्छ ।

अर्जेन्टिनाविरुद्ध खेल्नुअघि बुर्किना फासोको राष्ट्रिय टोलीले कठिन यात्राको सास्ती व्यहोर्नुपरेको थियो । ट्रान्जिट भिसासम्बन्धी समस्याका कारण टोलीको यात्रा जटिल बनेको थियो । आर्थिक अवस्था कमजोर जनाउँदै फुटबल महासंघले खेलाडीहरूलाई लामो र घुमाउरो हवाई यात्रा गराएको थियो । 

 पाँच घण्टाअघि मात्र रंगशालामा 
बुर्किनाका खेलाडी अर्जेन्टिनाविरुद्ध खेल्नुभन्दा पाँच घण्टाअघि मात्र ब्युनस आयस पुगेका थिए । फिफाले आधिकारिक मानेको प्रतियोगितामा पाहुना टोली कम्तीमा दुई दिनअघि पुग्नुपर्छ । तर, लामो हवाई यात्राले बुर्किनोका खेलाडीले त्यो नियम पालना गर्न सकेनन् ।

थकित खेलाडीले अर्जेन्टिनाविरुद्ध राम्रो खेल्न सकेनन् । उनीहरू आधा दर्जन गोलले पराजित भए । बुर्किनोका पहिलो रोजाइका खेलाडी टोलीमा थिएनन् । महासंघका अध्यक्ष ओमारो सावाडोगोले आर्थिक अवस्था कमजोर भएका कारण खेलाडीले लामो हवाई दूरी तय गर्नुपरेको स्विकारेका छन् ।

‘अहिले महासंघ आर्थिक अवस्थाले कमजोर छ । यस्तो अवस्थामा सिधा अर्जेन्टिनासम्म खेलाडीलाई हवाईजहाज चढाउने क्षमता छैन । अर्जेन्टिनाजस्तो राष्ट्रसँग कमै मात्र खेल्ने अवसर पाइन्छ । यो अवसर खेर नफाल्न हामीले खेलाडीलाई कम खर्चमा पठायौँ,’ उनले भने, ‘यस पक्षमा केही कमजोरी भएको हो ।’ 

तत्काल प्रशासनमा सुधार हुनुपर्ने 
राष्ट्रपति इब्राहिमले देशको फुटबल प्रशासनमा व्यापक सुधार गर्नुपर्ने बताएका छन् । उनले फुटबलको अवस्था सुधार्न निर्णायक कदम चाल्ने संकेत गरेका छन् । ‘हाम्रो फुटबल बिरामी छ भन्ने कुरा सत्य हो । यसको उपचार गर्न लागेका छौँ । फेरि लगानी गर्नका लागि पहिले यो रोग निको पार्नुपर्छ,’ उनले भने, ‘काम अघि बढाउन यसै साता महत्वपूर्ण निर्णय लिनुपर्ने देखिन्छ ।’

राष्ट्रपति इब्राहिमले आफूले नचाहँदा–नचाहँदै फुटबल महासंघमा हस्तक्षेप गर्न बाध्य भएको दाबी गरेका छन् । ‘हामीले महासंघको काममा हस्तक्षेप गर्न चाहेका थिएनौँ । तर, अब अर्को विकल्प छैन । फिफाले प्रतिबन्ध लगाए पनि नलगाए पनि हामीले कदम चाल्नुपर्छ,’ उनले भने ।

सुझावित समाचार