नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेका खेलाडीहरूले आफूहरूले नेपाली क्रिकेटमा आजसम्म गरेको समर्पणको सम्मान यही हो? भनेर प्रश्न गरेका छन्। शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरूले आफ्नो हकअधिकारका लागि आवाज उठाएकै आधारमा देशका लागि वर्षौँ खेलेका, आफ्नो सबै इच्छा आकांक्षा मारेर क्रिकेटमा लागेका खेलाडीहरूलाई यसरी कारबाही हुन्छ भने भोलिका दिनमा नयाँ पुस्ता कसरी आकर्षित होला भन्दै उनीहरूले शंका व्यक्त गरेका छन्।
कारबाहीमा परेका ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरले पत्रकार सम्मेलन गर्दै क्यानलाई अभिभावकीय भूमिका खेल्दै निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका छन्। ‘हामी अहिले पनि चाहन्छौँ, नेपाली क्रिकेटमा देखिएका सबै समस्या हल गरौँ, खेलका लागि राम्रो वातावरण बनोस्। यसका लागि नेपाल क्रिकेट संघले अभिभावकीय भूमिका खेल्दै यो निर्णयलाई पुनर्विचार गरोस्। हामी र हामीजस्ता क्रिकेट खेलमा भविष्य खोजिरहेका खेलाडीहरूले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नबनोस्,’ उनीहरूले भनेका छन्।