कांग्रेस महाधिवेशन : मतदानको समय फेरि एक घन्टा थपियो, राति नै सभापतिको मतगणना

सोमबार, २७ मंसिर, २०७८
डिजिटल संस्करण

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानको समय फेरि थप भएको छ । बिहान साढे ११ बजे सुरु भएको मतदान राति साढे ११ बजेसम्मका लागि थपिएको हो । 

सुरुमा साँझ पाँच बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको थियो । तर, निर्धारित समयभन्दा साढे ३ घन्टा ढिलो मतदान सुरु भएको थियो । निर्धारित समयमा मतदान नसकिएपछि राति ९ बजेसम्म समय थपिएको थियो । थपिएको समयमा पनि मतदान नसकिएपछि फेरि राति साढे १० बजेसम्म थप गरिएको थियो । 

मुचुल्का उठाएर राति नै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ । सुरुमा सभापति पदको मात्रै मतगणना हुनेछ । 

सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

कांग्रेस विधानअनुसार सभापतिका उम्मेदवारले जितका लागि ५० प्रतिशतभन्दा धेरै मत ल्याउनुपर्छ । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याए सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन हुन्छ । त्यसैले मतदानलगत्तै सुरुमा सभापतिको मतगणना गर्ने कार्यसूची निर्वाचन समितिले बनाएको छ ।

सुझावित समाचार