शिलान्यास भएको एक वर्ष बित्दा पनि ठडिएन अस्पतालको पिलर

शनिबार, २५ मंसिर, २०७८
डिजिटल संस्करण

गत वर्ष मंसिरमा सरकारले देशभर एकैसाथ तीन सयभन्दा बढी अस्पतालको शिलान्यास गर्यो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ ५ देखि १५ शय्यासम्मको अस्पतालहरुको शिलान्यास गरेका थिए। तर, त्यतिवेला शिलान्यास भएका अधिकांश अस्पतालको प्रगति भने सन्तोषजनक छैन। त्यसको एउटा उदाहरण हो दाङको बबई गाउँपालिकामा शिलान्यास भएको अस्पताल। शिलान्यास भएको एक वर्ष बित्दासमेत यसको पिलरसमेत ठडिएका छैनन्। अविशा ज्ञानज्योति क्षितिज निर्माण कम्पनीले ठेक्का पाएको भवनको भर्खरै फिल्ड निर्माण भइरहेको छ।

ठेकेदार कम्पनीका सञ्चालक कृष्णप्रसाद चौलागाईं बजेट अभावका कारण निर्माण कार्यमा विलम्ब भएको बताउँछन्। ‘कोरोनाका कारणले पनि निर्माण कार्यमा ढिलाइ भयो। अर्कोतर्फ, हामीसँग बजेट पनि न्यून भयो। अहिले आफ्नै पैसा हालेर पनि काम अगाडि बढाएका छौँ’, उनले भने, ‘त्यसले गर्दा पनि काममा विलम्ब भएको हो।’ 

सबै कुरा सहज भएमा एक वर्षभित्र निर्माण पूरा गसिसक्ने उनले दाबी गरे। उनका अनुसार अहिलेसम्म केन्द्रबाट ८० लाख मात्रै बजेट आएको र त्यतिले नपुगेपछि डेढ करोड आफूले खर्च गरिसकेका छन्। अन्य स्थानीय तहमा ३–४ करोड बजेट आउँदा बबईमा ८० लाख मात्रै आएकाले ढिला भएको उनले बताए।

उक्त भवन निर्माणका लागि ७५ वटा पिलर हाल्न लागिएको छ। निर्माण कार्य ढिला भएपछि लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला कुमारी (खत्री) वलीले अनुगमन गरेर छिटो काम सक्न ठेकेदारलाई निर्देशन दिएकी छिन्। साढे १० करोडको लागतमा उक्त अस्पताल निर्माण हुन थालेको हो। गत वैशाखमा निर्माणको सम्झौता भएको थियो। तीन वर्षमा सक्ने सम्झौता भए पनि एक वर्ष बितिसकेकाले छिटो काम अघि बढाउन उनले निर्देशन दिएकी हुन्।  

भवनको गत वर्ष मंसिरमा वलीले नै शिलान्यास गरेकी थिइन्। त्यहाँको पुरन्धारा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउन लागिएको हो।

सुझावित समाचार