मेसीको चारतारे होटेल भत्काउन आदेश

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

 गत साता कीर्तिमानी रूपमा सातौँपटक बालोन डिअर उपाधि जितेका अर्जेन्टिनी कप्तान लियोनल मेसीको स्पेनमा रहेको चारतारे होटेल मिम सिटगेस भत्काउन अदालतले आदेश दिएको छ । बार्सिलोना सहरभन्दा ४० किलोमिटर टाढा मेसीको स्वामित्वमा रहेको यो होटेल मापदण्डविपरीत बनेका कारण नै भत्काउनुपर्ने अदालतले आदेश दिएको स्पेनिस मिडियाहरूले जनाएका छन् । 

मेसीले सन् २०१७ मा तीन करोड युरोमा होटेल किनेका थिए । म्याजेस्टिक होटेल समूहसँग मिलेर होटेल खरिद गरेका थिए । यद्यपि, त्यसवेला पनि अदालतले मापदण्डविपरीत होटेल बनेका कारण भत्काउनुपर्ने अन्तरिम आदेश दिएको थियो । मेसीले होटेल खरिद गर्दा अदालतमा परेको मुद्दा र फैसलाबारे ध्यान दिएनन् । स्पेनिस मिडियाका अनुसार होटेलको बाल्कोनी निकै ठूलो छ । 

यो होटेल मेसीले सन् २०१७ मा तीन करोड युरोमा खरिद गरेका थिए । होटेल मापदण्डविपरीत रहेको भन्दै अदालतले भत्काउन आदेश दिएको हो ।

यसैगरी, चारतारे होटेलमा हुनुपर्ने मापदण्डअनुसार कोठाहरू पनि मिलेको छैन । होटेलको आगलागी नियन्त्रणको योजना पनि स्थानीय मापदण्डअनुसारको नभएको जनाइएको छ । यो होटेलमा ७७ ओटा कोठा छन् । यी प्रत्येक कोठामा बसेको एक रातको औसत एक सय पाँच पाउन्ड तिर्नुपर्छ । होटेलमा पाँचवटा जुनियर स्विट र एउटा स्विट कोठा छन् । यसैगरी, बेलायती पत्रिका द सनका अनुसार यो होटेलका अन्य संरचना तोकिएको मापदण्डअनुसार नभएको जनाएको छ । स्पेनिस अदालतले फैसला सुनाएपछि मेसीलाई होटेलको मापदण्ड गलत भएको आफूलाई खरिद गरेको वेला थाहा नभएको प्रतिक्रिया दिएका छन् । 
 

See More On

सुझावित समाचार