तेस्रो जितसँगै युएईमाथि नेपालको दबाब

शनिबार, ११ मंसिर, २०७८
डिजिटल संस्करण

लगातार तेस्रो जितपछि पनि नेपाल अंकतालिकाको दोस्रो स्थानमै छ, तर शीर्ष स्थानमा रहेको युएईमाथि दबाब बढाएको छ, छनोट खेलमा अपराजित आयोजक युएईले कुवेतलाई सात विकेटले हराउँदै रनरेटमा सुधार गरेको छ

आइसिसी महिला टी–२० विश्वकपअन्तर्गत एसियन छनोट प्रतियोगितामा नेपाली महिला टोलीले लगातार तेस्रो जित हात पारेको छ । नेपालले शुक्रबार मलेसियालाई ६ विकेटले हराएको हो । जितसँगै नेपाल अंकतालिकाको दोस्रो स्थानमा यथावत् नै छ । नेपालले चार खेलबाट ६ अंक जोडेको छ । नेपालले ग्लोबल छनोट आशा कायमै राखेको छ । आयोजक युएईले चारै खेलमा शतप्रतिशत जित निकाली शीर्ष स्थान बलियो बनाएको छ । युएईको आठ अंक छ । एसियन छनोट प्रतियोगिताकोे शीर्ष स्थानमा रहने टोली ग्लोबल खेलमा पुग्ने प्रावधान छ । 

युएईको आइसिसिए २ मैदानमा मलेसियाले पहिलो ब्याटिङ गरी २० ओभरमा सात विकेट गुमाएर ९२ रनको मध्यम योगफल खडा गर्यो । प्रत्युत्तरमा नेपालले १८.२ ओभरमा चार विकेटको क्षतिमा ९३ रन जोड्दै जित हात पा¥यो । यसअघि नेपालले भुटान र कुवेतमाथि फराकिलो अन्तरले पाखा लगाएको थियो । नेपालको जितमा सीता रानामगरले अलराउन्डर प्रदर्शन गरेकी थिइन् । उनले ब्याटिङको क्रममा ३८ बलमा ३० रन तथा बलिङमा १६ रन खर्चेर एक विकेट हात पारिन् । 

दोस्रो विकेटको बलियो साझेदारी
पछिल्लो समय नेपालले ओपनिङ परिवर्तन गरिरहेको छ । कुवेतविरुद्ध कप्तान रुविना क्षेत्री र इन्दु बर्माले ओपनिङमा आएका थिए । यसपटक मलेसियाविरुद्ध इन्दु र सीताले सुरुवातमै ब्याटिङ गरेका थिए । दुवैले पहिलो विकेटका लागि १६ रनको साझेदारी गरेका थिए । इन्दुले आठ बल सामना गरी चार मात्र जोडिन् । त्यसपछि सीताले कप्तान रुविनासँग दोस्रो विकेटका लागि ४८ रनको साझेदारी गर्दै नेपाललाई ६४–२ को स्थितिमा राखिन् । क्रिजमा सेट हुने क्रममा रुविना रन आउट भइन् । उनले २९ बलमा २० रन जोडिन् । 

रुविना आउट भएको चार रनपछि नै सीताले पनि आफ्नो विकेट गुमाउन पुगिन् । सीताले ३८ बलमा तीन चौका प्रहार गरेकी थिइन् । सरिता मगर र कविता कुँवरले त्यसपछि नेपालको ब्याटिङ इनिङ्स सम्हाले । दुवैले चौथो विकेटका लागि २२ रनको साझेदारी गर्दै नेपाललाई जितनजिक पुर्याए ।

कविता इनिङ्सको १७.४ ओभरमा पेभेलियन फर्किइन् । उनले १६ बलमा १० रन बनाइन् । इनिङ्समा सरिता नटआउट रहँदै १७ बलमा १५ रनको योगदान दिइन् । नेपालले अतिरिक्त रूपमा १३ रन पाएको थियो । 

नेपालको कसिलो बलिङ
मलेसियाले मध्य योगफल खडा गर्नु पछाडि नेपालका बलरले उत्कृष्ट बलिङ गरेका थिए । सवनम राईले २७ खर्चेर दुई विकेट हात पारिन् । उनले एक मेडन ओभर पनि फय फ्याँकिन् । यसैगरी रुविनाले नौ रन खर्चेर एक विकेट लिइन् । मलेसियाको सुरुवात निकै कमजोर रह्यो । इनिङ्सको छैटौँ बलमै कप्तान वारिफ्रेड शून्य रनमा आउट भइन् । इलास हन्टर र युश्रीनाले तेस्रो विकेटका लागि २४ रनको साझेदारी गरिन् । सवनामले युश्रीनालाई बोल्ड गरिन् । युश्रीनाले २५ बलमा दुई चौकाको सहयोगमा १२ रन बनाइन् । रुविनाले रन आउट गरिन् । हन्टरले ४८ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ३९ रनको योगदान दिइन् । मध्यक्रमकी ब्याट्सम्यान मास इल्सायले २१ बलमा १४ रन बनाइन् । त्यसपछिका चार ब्याट्सम्यानले दश मात्र बनाए । नेपालले अतिरिक्त रूपमा १६ रन दिएको थियो । 

कुवेतमाथि युएईको सानदार जित
प्रतियोगितामा अपराजित रहेको एक मात्र टोली युएईले शुक्रबार कुवेतमाथि सात विकेटको जित निकालेको छ । युएईले ८४ बलअघि नै सफलता प्राप्त गरेको हो । पहिलो ब्याटिङ गरेको कुवेतले २० ओभरमा पाँच विकेट गुमाएर ७६ रन जोड्यो । प्रत्युत्तरमा युएईले ६ ओभरमा तीन विकेटको क्षतिमा ७७ रन जोड्दै रनरेट पनि सुधार ग¥यो । युएईको जितमा काभिसाले १३ बलमा ६ चौकाको सहयोगमा ३३ रनको योगदान दिइन् । 

युएईको जितमा इसा ओजा र काभिसाले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवैले दोस्रो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । ओजाले केबल १३ बलमा आठ चौका र एक छक्का प्रहार गर्दै ३८ रन बनाइन् । यसअघिको ब्याटिङमा मायम ओमारले नटआउट रहँदै ३७ बलमा ३१ रन बनाइन् । 

सुझावित समाचार