टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास, कतारमाथि क्लिनस्विप

बिहिबार, २ मंसिर, २०७८
डिजिटल संस्करण
टी–२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले रच्यो इतिहास, कतारमाथि क्लिनस्विप

कतारविरुद्धको तीनै खेलमा जित हासिल गरेपछि ट्रफी लिँदै नेपाली टोलीकी कप्तान रुविना क्षेत्री ।

नेपालले अब ६ मंसिरमा हङकङ, ७ मंसिरमा भुटान, ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ

नेपाली महिला क्रिकेट टोलीले कतारविरुद्ध अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा ‘क्लिन स्विप’ गरेको छ । कतारको दोहास्थित वेस्ट इन्ड पार्कमा बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई १०९ रनको फराकिलो अन्तरले हराउँदै सिरिज ३–० ले हात पारेको हो ।

यसअघि नेपाल पहिलो खेलमा ११९ रन तथा दोस्रो खेलमा ६१ रनले विजयी भएको थियो । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेटको नोक्सानीमा १६४ रनको योगफल बनायो । कतारविरुद्ध तेस्रो खेलमा नेपाली महिला टोलीले अहिलेसम्मकै ठूलो योगफल खडा गरेको छ । यसअघि पहिलो खेलमा नेपालले १४६ रनको कीर्तिमानी योगफल बनाएको थियो । 

कतारले १६५ रन पछ्याउँदा २० ओभरमा सात विकेट गुमाएर ५५ रन मात्र जोड्यो । कतार तेस्रो खेलमा अलआउट हुनबाट जोगियो । यसअघि दुवै खेलमा नेपालले कतारलाई सस्तै रनमा समेटिएको थियो । सिरिजमा नेपालकी कप्तान रुविना क्षेत्री म्यान अफ दी सिरिज घोषित भइन् । रुविनाले प्रतियोतिामा ५० रन बनाउनुका साथै ६ विकेट लिएकी थिइन् । यसैगरी, अन्तिम खेलमा सीता रानामगर म्यान अफ दी म्याच भइन् । 

सीताको कीर्तिमानी अर्धशतक
लगातार तीनवटै टी–२० खेलमा नेपालका खेलाडीले अर्धशतकीय इनिङ्स खेल्न सफल भएका छन् । पहिलो खेलमा इन्दु बर्माले ५५ रन र दोस्रो खेलमा कप्तान रुविनाले ५० रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । इन्दुले अन्तर्राष्ट्रिय टी–२० मा नेपाली महिला खेलाडीबाट पहिलो अर्धशतकको रेकर्ड बनाएकी थिइन् । 

कतारसँगको तेस्रो खेलमा ओपनर सीताले व्यक्तिगत पहिलो अर्धशतक बनाइन् । उनले ७२ बल सामना गरी ८२ रनको योगदान दिइन् । उनले इन्दुले राखेको व्यक्तिगत सर्वाधिक रेकर्ड पनि तोड्न सफल भइन् । सीताले आफ्नो इनिङ्समा सात चौका प्रहार गरेकी थिइन् । 

बलियो साझेदारी
पहिलो ब्याटिङ गरेको नेपालले टी–२० मा सर्वाधिक योगफल बनाउँदा साझेदारी पक्ष नै मुख्य रह्यो । ओपनर काजल श्रेष्ठ र सीताबीच पहिलो विकेटका लागि ४.४ ओभरमा ३२ रनको साझेदारी भएको थियो । त्यसपछि सीता र ज्योति पाण्डेबीच दोस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो । यी दुवैबीचको साझेदारीपछि नेपालले १२.५ ओभरमा ९९–२ को बलियो स्थिति बनाएको थियो । ज्योतिले २० बलमा एक चौका प्रहार गरिन् । सीताले डोली भट्टसँग तेस्रो विकेटका लागि २३ रनको साझेदारी गरिन् । डोलीले नौ बलमा एक चौका प्रहार गरिन् । सीताले चौथो विकेटका लागि सरिता मगरसँग ४२ रनको साझेदारी गर्दै नेपाललाई २० ओभरमा १६४ रनको दरिलो स्थितिमा पुर्याइन् । सीता अन्तिमसम्म पनि नटआउट रहिन् । 

चार ब्याट्सम्यान रनआउट
नेपाली खेलाडीले उत्कृष्ट बलिङ गर्नुका साथै फिल्डिङ पनि त्यतिकै राम्रो गरे । नेपालका फिल्डरले कतारका चार ब्याट्सम्यानलाई रनआउट गरेका थिए । हिरल अग्रवाल ६, रिज्फा बानो इमानुएल २, साची शून्य र अन्गेलिने मारे ३ रनमा रनआउट भए ।

कतारकी कप्तान आयशाले मात्र इनिङ्सकै एक मात्र छक्का प्रहार गरिन् । उनले १४ बलमा एक छक्का र चौकाको सहयोगमा १३ रन जोडिन् । अलिन खानले सर्वाधिक १९ रन बनाउन ३३ बलमा तीन चौका प्रहार गरिन् । यसैगरी, ओपनर हिरल अग्रवालले २६ बलमा केवल ६ रन बनाइन् । सो इनिङ्समा दुई ब्याट्सम्यान डकआउट भए । 

सवनम राईले तीन ओभरमा दुई मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिइन् । यसैगरी सरस्वती कुमारीले चार ओभरमा १० रन खर्चेर एक विकेट लिइन् । कप्तान रुविनाले चार ओभरमा नौ रन दिँदै एक विकेट लिइन् । सीता रानामगर र अप्सरी वेगमले समान एक ओभर गर्दै एक रन मात्र दिए । 

ग्लोबल छनोटको तयारी
नेपालले आइसिसी महिला टी–२० एसिया छनोटका लागि कतारसँग तीनवटा अन्तर्राष्ट्रिय खेल खेलेको हो । कतारमा सानदार प्रदर्शन गरेको नेपाली महिला टोली शुक्रबार युएईतर्फ लाग्नेछ । सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपका लागि नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र युएईले अर्को वर्ष हुने ग्लोबल छनोटका लागि प्रतिस्पर्धा गर्नेछन् । यो ग्लोबल छनोटका विजेताले अर्को ग्लोबल छनोट खेल्नेछ । नेपालले अब ६ मंसिरमा हङकङ, ७ मंसिरमा भुटान, ९ मंसिरमा कुवेत, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
 

सुझावित समाचार