चीनमा चालू आर्थिक वर्षको पछिल्ला चार महिनामा अर्थतन्त्र तुलनात्मक रूपमा कमजोर भएको र रिएल स्टेट (घरजग्गा)उद्योगमा ऋण वृद्धिको समस्या देखिएको छ । दशौँ लाख घरको बिक्री नभएको र भाडामा पनि लाग्न नसकेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
हङकङ पोस्टका अनुसार अर्थतन्त्र ऊर्जा संकट, पानीजहाजमा अवरोधले मात्र नभएर चिनियाँ अर्थतन्त्र घरजग्गा उद्योगको ऋण थपिएका कारण पनि केही खस्केको हो। घरजग्गाको ऋण मात्रै अहिले ५० खर्ब अमेरिकी डलर पुगेको छ।
उक्त अखबारका अनुसार चिनियाँ अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादन पछिल्लो चार महिनामा ४.९ मा पुगेको छ, तर घरजग्गासँग सम्बन्धित कम्पनीहरू गहिरो आर्थिक संकटमा परेका छन् र चिनियाँ अर्थतन्त्रलाई यसले असर पारेको छ। हङकङ पोस्टले चीनमा घरजग्गा क्षेत्रमा लगानीकर्ताले सम्पत्तिकर तिर्नुनपर्ने नियम रहेको जनाएको छ। मूल्य वृद्धि वा नाफ वृद्धिले सरकारलाई केही पनि योगदान नहुने बरु निजी क्षेत्र मात्रै लाभान्वित हुने उक्त अखबारले जनाएको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ वेला मौकामा सम्पत्ति कर लागू गर्ने संकेत गरे पनि यसमा उनकै नजिकको टिम सहमत छैन। घरजग्गामा नेता, व्यापारी, उच्च सरकारी कर्मचारीको लगानी भएका कारण त्यो सार्वजनिक हुने डरले चीनले सम्पत्ति कर लगाउन नसकेको चिनियाँ सञ्चारमाध्यमहरूको भनाइ छ।
चिनियाँ ठूला कम्पनीहरू ऋणको भारमा भएका कारण चालू र आगामी आर्थिक वर्षमा अपेक्षाकृत रूपमा कुल ग्राहस्थ उत्पादनमा बढ्न नसक्ने देखिएको छ। अक्सफोर्ड इकोनोमिक्सले पछिल्लो चार महिनामा चीनमा पाँच प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने भनेको थियो, जब कि यो अहिले ३.६ प्रतिशतमा सीमित भएको छ।
आगामी वर्ष जिडिपी ५.४ देखि ५.८ प्रतिशत वृद्धि हुने प्रक्षेपण चीनमा गरिएको छ। कोभिड संकट अझै रहेका कारण ५.४ प्रतिशत आर्थिक वृद्धिमा मुलुक सीमित हुन पुग्ने आकलन रहेको छ।