बाढी पसेपछि अवरुद्ध बनेको विराटनगर विमानस्थल आजबाट सुचारु

शनिबार, ६ कार्तिक, २०७८
डिजिटल संस्करण

बेमौसमी वर्षाले डुबानमा परेको  विराटनगर विमानस्थलबाट आजदेखि नियमित उडान सुरु भएको छ। बेमौसमी वर्षाले गर्दा मंगलबारदेखि विराटनगरमा उडान अवरुद्ध भएको थियो । सोही राति धावनमार्गमा समेत बाढी पसेपछि उडान पूर्ण रूपमा बन्द भएको थियो । 

बाढी पसेपछि विराटनगर विमानस्थल शुक्रबार साँझसम्मका लागि क्लोज गरिएको थियो। वर्षा रोकिएर घाम लागेसँगै पानी घटेपछि परिसर र धावनमार्गको सरसफाइ गरेर शनिबार बिहानबाट उडान सुचारु भएको नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सवकुमार पोखरेलले जानकारी दिए । विमानस्थलबाट आज शनिबार करिब १८ वटा उडान हुनेछन् । 

अचानक बाढी पसेपछि  पार्किङ गरेर राखिएको बुद्ध एयरको एक र श्री एयरलायन्सको एउटा जहाजसमेत धावनमार्गमै डुबानमा परेका थिए । दुवै जहाजलाई बिहीबार साँझ यात्रुविनै काठमाडौं लगेर पार्किङ गराइएको थियो । 

मंगलबार साँझ परेको बेमौसमी वर्षाले बस्ता खोला र माथिल्लो सतहबाट बगेर आएको बाढी विराटनगर विमानस्थल परिसर र धावनमार्गमा जमेको थियो । यसअघि विराटनगर विमानस्थल २०७४ साउनमा पनि यसैगरी डुबानमा परेको थियो ।  

सुझावित समाचार