काठमाडौं- सुरक्षासम्बन्धी गम्भीर सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बलका एआइजी बंशीराज दाहाललाई सरकारले निलम्बन गरेको छ। सशस्त्र प्रहरी बलको सिफारिसमा उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले उनलाई सोमबार निलम्बन गरेको हो।
उनीमाथि विस्तृत छानबिनका लागि जाँचबुझ समिति गठन गरी जाँचबुझ अधिकृत नियुक्त गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
स्रोतका अनुसार जाँचबुझका लागि एआइजी अञ्जनी कुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकिएको छ।
दाहालको पदावधि यही २८ असोजमा सकिँदैछ। सशस्त्रमा एआइजीको पदावधि पाँच वर्ष हुनेमा चार वर्ष पूरा भएपछि सरकारले थप्नुपर्ने हुन्छ। उनको चार वर्ष पूरा भएको छ। निलम्बनमा परेकाले पदावधि थप हुने सम्भावना लगभग सकिएको छ।