कांग्रेस महाधिवेशन उद्घाटन सत्र : लोकतन्त्रदेखि आर्थिक रूपान्तरणसम्म सहकार्यको पक्षमा शीर्ष नेता

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडाैं/ प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष–प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका छन् । लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबिच संवाद र सहकार्य अपरिहार्य भएको नेताहरूको भनाइ छ । 

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै सत्तारूढ दल रास्वपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले महासचिव शंकर पोखरेल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, जसपा नेपालका नेता शरत्सिंह भण्डारीलगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्नेमा जोड दिए । रास्वपाबाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियतामाथि खतरा औँल्याएका छन् । रास्वपाले लोकतन्त्र खतरामा परे जनताले रक्षा गर्ने बताएको छ । 

कांग्रेस सभापति गगन थापाले लोकतन्त्र र जनताको दैनिक जीवनबिच सम्बन्ध स्थापित गर्ने जिम्मेवारी कांग्रेसको रहेको बताएका छन् । राजनीतिक अधिकारलाई नागरिकको जीवनमा अनुभूत हुने सेवा, अवसर र आर्थिक विकाससँग जोड्न नसके लोकतन्त्रप्रतिको विश्वास कमजोर हुने उनको भनाइ छ ।

थापाले नयाँ र पुरानो पुस्ताबिच तथा लोकतन्त्र र डेलिभरीबिच कांग्रेसले पुलको काम गर्ने बताए । ‘कांग्रेसले पुरानो पुस्ता र नयाँ पुस्ताबिच पुलको काम गर्छ । लोकतन्त्र र डेलिभरीबिचको पुलको काम पनि कांग्रेसले गर्छ,’ उनले भने, ‘पुल ढल्यो भने विश्वास ढल्छ ।’ 

यस्तै, सभापति थापाले कांग्रेसले सिद्धान्तमा सम्झौता गरेर तत्कालको राजनीतिक लाभ खोज्न नहुने बताए । उनले निर्वाचनमा हार–जितलाई मात्र राजनीतिक सफलताको मापदण्ड बनाउन नहुने दाबी गर्दै मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्ने बताए । ‘निर्वाचनमा हार–जितलाई मात्रै राजनीतिक सफलताको मापदण्ड बनाउन हुँदैन । मूल्य र मान्यतामा आधारित राजनीति गर्नुपर्छ,’ उनले भने, ‘हामी लालुपाते होइनौँ, हामी प्रस्ट हुन्छौँ । पाँचवटा चुनाव हार्न तयार छौँ, तर सिद्धान्तसँग सम्झौता गर्दैनौँ ।’ 

बदलिएको कांग्रेसले देश बदल्ने संकल्पसहित महाधिवेशनबाट बाहिरिनुपर्नेमा जोड दिँदै थापाले विगतमा धेरै निर्वाचन जितेको र धेरै निर्वाचन हारेको उल्लेख गरे । तर, हारलाई निराशाको कारण बनाउन नहुने उनको भनाइ थियो । ‘बदलिएको कांग्रेसले यो देश पनि बदल्छ भन्ने विश्वास लिएर यो महाधिवेशनबाट जानुपर्नेछ । यो सफल पारेर ऊर्जा लिएर जानुपर्नेछ,’ उनले भने । 

थापाले १० वर्षपछि खुलामञ्च खुलेको प्रसंग उठाउँदै संसद् र राजनीतिक दलभित्र जनताका प्रश्न, असहमति र विचारका लागि खुला ठाउँ आवश्यक रहेको बताए । उनका अनुसार खुलामञ्च केवल काठमाडौंको चउर नभई मतभेदलाई एउटै ठाउँमा राखेर संवाद गर्ने राजनीतिक संस्कारको प्रतीक हो । ‘संसद् अहिले खुला छैन । प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन । संसद् बन्द छ, पार्टी बन्द छ । नेताले प्रश्न गर्दा सदस्यता नकाटियोस्, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ उनले भने ।

सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवाका लागि महाधिवेशनमा कुर्सी खाली राखिएको प्रसंग पनि उठाए । ‘पूर्वसभापति शेरबहादुर देउवाका लागि कुर्सी खाली राखेका थियौँ, तर आउनुभएन । कतिपटक जाने हो, लिन कसरी जाने हो ?’ थापाले भने, ‘उहाँलाई सम्मान कांग्रेसलाई राम्रो बनाएर दिनुपर्छ ।’

सभापति थापाले कांग्रेसले प्रशिक्षित गरेका व्यक्तिहरू राष्ट्रपति र सभामुखजस्ता जिम्मेवार पदमा पुगेको स्मरण गर्दै पार्टीभित्रबाट योग्य नेतृत्व तयार भइरहेको बताए । ‘मत हाल्नुभएछ । संसद्भित्र पनि तपाईंहरूको तर्फबाट ४०–५० जना कांग्रेसले प्रशिक्षित गरेर राम्रा–राम्रा कुरा सिकाएर पठाएका छौँ,’ थापाले भने । 

राजनीतिलाई ‘म्युजिकल चेयर’जस्तो बनाइएको भन्दै थापाले प्रधानमन्त्री बन्ने, फेरि प्रधानमन्त्री बन्ने, मन्त्री बन्ने र फेरि त्यही पदमा दोहोरिने प्रवृत्तिले राजनीतिक नेतृत्वप्रतिको जनविश्वास कमजोर बनाएको बताए ।‘म्युजिकल चेयरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो, जसले भदौ २३ र २४ आयो,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको सवालमा राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने बताए । राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । ‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यति वेला पार्टी र झन्डा फरक हुँदैन,’ उनले भने । उनले सरकार जनमतबाट बनेको भन्दै ढल्ने दाबी नगर्न पनि आग्रह गरे । ‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ । यो सरकार ढल्दैन, नढलेपछि सरकार ढल्छ भन्नेचाहिँ बेहोस भएर ढल्छन्,’ उनले भने । 

लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने भन्दै लामिछानेले लोकतन्त्र खतरामा परे जनताले नै त्यसको रक्षा गर्ने बताए । आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको उनले स्पष्ट पारे । ‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा छैन, लोकतन्त्र खतरामा भए जनताले जोगाउँछन् । हामी लोकतन्त्रको मूल्य र मान्यताबाट डगमग चल्नेवाला छैनौँ । लोकतन्त्रप्रतिको प्रतिबद्धतामा दायाँबायाँ हुँदैन,’ लामिछानेले भने । उनले अब राजनीतिक मात्र नभई अर्थ–राजनीतिको कुरा गर्ने समय आएको पनि बताए ।

निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न उनले चुनौती दिए । आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले नै विस्थापित गरिदिने उनको भनाइ छ । ‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडा कटाउनुहोस् भनेकै छौँ । हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्र सक्छ,’ उनले भने ।

लामिछानेले कांग्रेसको शक्ति इतिहास र कमजोरी पनि इतिहास नै भएको बताए । कांग्रेसले विगतमा खेलेको भूमिका र हासिल गरेका उपलब्धिसँगै त्यसका कमजोरीबाट समेत नयाँ पुस्ताले सिक्नुपर्ने उनले बताए । ‘नेपाली कांग्रेसको शक्ति इतिहास हो । कमजोरी पनि इतिहास हो । कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ,’ उनले भने । 

उनले आफू मञ्चमा एक्लो प्रतिपक्षी भएको पनि बताए । ‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएको छु । सत्तापक्षतर्फ यो मञ्चको एक्लो प्रतिपक्ष प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उनले भने । नेकपा संयोजक प्रचण्डले आफूले विगतमा क्रमभंग गर्दै आएको स्मरण गर्दै अब कांग्रेस सभापति थापा र रास्वपा सभापति लामिछानेको पालो भएको बताए । पहिले आफूले जस्तै अहिले कांग्रेसमा थापाले क्रमभंग गरेको उनले भने ।

‘पहिले मैले क्रमभंग गर्थेँ । युद्धलाई शान्तिमा ल्याउँथेँ । शान्तिलाई संविधानमा लैजान्थेँ । संविधानलाई गणतन्त्रमा । अब सायद मलाई क्रमभंग गर्न अलि गाह्रोे भएको हो कि । अब पालो गगनजीहरूको । तपाईं क्रमभंग गर्दै जानुस्,’ प्रचण्डले भने, ‘रविजीले अझै क्रमभंग गर्न बाँकी छ । क्रमभंग गर्ने वेला आएको छ, गर्नुस् । अनि बन्छ नेपाल ।’

प्रचण्डले थापाको नेतृत्व क्षमता आफूले यसअघि नै देखेको पनि बताए । उनले आफूले प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको स्मरण गर्दै थापाको राजनीतिक यात्राप्रति आफू खुसी रहेको बताए । ‘गगनजीलाई बधाई छ । गगनजीमा नेतृत्व गर्ने क्षमता छ । अन्ततः यो देशको नेतृत्व गर्ने अवस्था आउन सक्छ भनेको थिएँ । आज त्यही देखिरहेको छु,’ उनले भने, ‘विषम राजनीतिक परिस्थितिका बिच थापा कांग्रेसको नेतृत्वमा आउनु आफैँमा क्रमभंग भएको छ । निरन्तरतामा क्रमभंग गरेर तपाईं नेतृत्वमा आउनुभएको छ ।’

प्रचण्डले कांग्रेसभित्र अझै छुटेका नेता तथा समूहलाई समेत जोडेर अघि बढ्न आग्रह गरे । पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउनुपर्ने भन्दै उनले कांग्रेसको नयाँ नेतृत्वले सबैलाई समेट्ने प्रयास गर्नुपर्ने बताए । 
शान्ति–सम्झौताका काम अझै पूरा हुन बाँकी रहेको बताउँदै प्रचण्डले ती काम टुंग्याउनुपर्ने र नसके मुलुक फेरि द्वन्द्वतर्फ जान सक्ने जोखिम रहेको औँल्याए । ‘शान्ति–सम्झौताका केही चिज अझै टुंग्याउन बाँकी छ । यो टुंगिएन भने देश फेरि अर्को द्वन्द्वमा जान सक्छ । यो पनि गगन थापाले पूरा गर्नुपर्नेछ,’ उनले भने ।

आफू प्रधानमन्त्री रहँदा लामिछानेले गृहमन्त्री र दोस्रोपटक प्रधानमन्त्री हुँदा थापा स्वास्थ्यमन्त्री रहेको बताउँदै कसैले पनि त्यति वेला नराम्रो गरेको भन्न नसक्ने बताए । ‘रवि लामिछाने मेरो क्याबिनेटको गृहमन्त्री । गगन थापाजी दोस्रोपटक प्रधानमन्त्री हुँदा मेरो क्याबिनेटको स्वास्थ्यमन्त्री । अरू थुप्रै मेरा मन्त्री हुनुहुन्छ । मलाई लाग्छ– गगनजीले वा यहाँ हुने मेरो क्याबिनेटका कुनै पनि मन्त्रीले मैले गलत ग¥यो कसैले भन्न सक्नुहुन्न,’ प्रचण्डले भने । 

एमाले महासचिव शंकर पोखरेलले लोकतान्त्रिक आन्दोलनमा वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर आएको स्मरण गर्दै अब पनि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताए । उनले कांग्रेससँग फेरि सहकार्य गरेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्नुपर्ने बताए । ‘राणा, पञ्चायत र ज्ञानेन्द्र शाहको शासनविरुद्ध हामी मिलेर आन्दोलन गरेका हौँ । अब फेरि मिलेर लोकतन्त्र र यो देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ । लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग मिलेर काम गर्न एमाले तयार छ,’ उनले भने, ‘तर, लोकतन्त्रका लागि लडेको कांग्रेस, लोकतन्त्रको रक्षाका लागि कसरी अगाडि बढ्छ भन्ने प्रश्न खडा भएको छ ।’

पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग सहकार्य र छलफल नगरी अघि बढिरहेको आरोप पनि लगाए । प्रधानमन्त्रीले संसद् र जनताका कुरा नसुन्ने अवस्था रहेको भन्दै उनले स्वेच्छाचारी शासनविरुद्ध लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने बताए ।

‘रास्वपा सभापति लामिछाने राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूसँग संवाद गर्नुहुन्छ । तर, सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, संसद्सँग संवाद गर्दैन, नागरिकसँग संवाद गर्दैन । चिन्ता त्यहाँ मात्र छैन, लोकतन्त्रको भविष्यमाथि चिन्ता छ । जनताले विश्वास गरेको प्रधानमन्त्रीले आफैँलाई प्रधानमन्त्री बनाएको दललाई चिन्नुहुन्न, संसद्लाई चिन्नुहुन्न,’ पोखरेलले भने ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपालको आधुनिक लोकतान्त्रिक आन्दोलनमा कांग्रेसले खेलेको भूमिकाको स्मरण गरे । व्यवस्था परिवर्तन भए पनि आर्थिक अवस्थामा सुधार नभएको उनले बताए । देश विकासका लागि स्पष्ट र दीर्घकालीन योजना बनाएर राजनीतिक दलहरूबिच त्यसको कार्यान्वयनका लागि प्रतिस्पर्धा हुनुपर्नेमा उनले जोड दिए । 

पुराना अन्धविश्वासमा विश्वास नगर्ने उनले बताए । ‘अहिले पनि समय छ, सबैले सोच्नुस् । अरू देश कसरी विकास भए ? हाम्रै जीवनकालमा मलेसिया, कोरिया, सिंगापुर, चीनहरू ग्लोबल साउथबाट ग्लोबल नर्थसम्म पुगे भने हामी पनि आगामी २० वर्षभित्र त्यहाँ कसरी पुग्ने ?’ उनले भने, ‘त्यसको एउटा योजना बनाऔँ । त्यसलाई सबै पार्टीले कसरी कार्यान्वयन गर्ने भनेर प्रतिस्पर्धा गरौँ । त्यसो गरे मात्रै देश बन्छ ।’

राजनीतिक लोकतन्त्र ल्याए पनि रोजगारी र समृद्धिको यात्रामा कार्यान्वयन हुन नसकेको बताए । नयाँ नेता र नयाँ नेतृत्वसहित अगाडि बढ्दा गरिबीबाट माथि उढाउन सकिने विश्वास उनको छ । ‘नेपालमा जुन ढंगले राजनीतिक उथलपुथल भइरहेको छ  । पुराना राजनीतिक दलहरूको पुनर्गठन भइरहेको छ,’ भट्टराईले भने, ‘मैले माओवादी पार्टीमै छँदा भनेको थिएँ– पुरानै सोच, विचारले देशलाई अगाडि लान सक्दैन । १२ वर्षपछि फर्केर हेर्दा खुसी लाग्छ । रास्वपा सत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुगेको छ । कांग्रेस पनि आफूलाई रूपान्तरित हुँदै अगाडि बढ्ने अवस्था आएको छ ।’

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले देश लिकबाट बाहिर गएको दाबी गरे । गलत कुरा औँल्याउँदा सामाजिक सञ्जाल प्रयोग हुने गरेको तथा सत्तामा पात्र फेरिए पनि प्रवृत्ति नफेरिएको उनको दाबी छ । ‘यो देश लिकमा नभएसम्म भनिराख्छु, मान्छे फेरेर मात्रै समस्याको समाधान हुँदैन रहेछ भन्ने यो ६ महिनाले देखाइसकेको छ ।

अहिलेको समस्या संविधान र तपाईंहरूले ल्याएको गणतान्त्रिक व्यवस्थामा छ । यसमा पनि सोच्ने वेला आएको छ,’ लिङ्देनले भने, ‘आज पनि परिस्थितिमा परिवर्तन आएको छैन । आमजनतामा नेता र राजनीतिप्रतिको घृणामा सुधार भएको छैन । राजनीतिक तरलता झन् बढेर गएको छ ।’ निषेधको राजनीति लामो समयसम्म टिक्न नसक्ने उनले बताए ।  राजनीतिक दलहरूले वर्तमान अवस्थाको समीक्षा गर्दै देश र जनताको हितमा अघि बढ्ने बाटो तय गर्नुपर्नेमा उनले जोड दिए । 

जसपा नेपालका नेता शरत्सिंह भण्डारीले मुलुक गम्भीर आर्थिक, सामाजिक तथा भू–राजनीतिक संक्रमणबाट गुज्रिरहेको बताए । उनले वर्तमान चुनौती सामना गर्न प्रमुख राजनीतिक दलहरूबिच सहकार्य र राष्ट्रिय एकता आवश्यक रहेको बताए । नेपाली जनताले लोकतन्त्रको कुनै पनि संकुचन स्वीकार नगर्ने उनले बताए । 

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले कांग्रेस सभापति गगन थापाले देश बनाउने विश्वास रहेको बताए । चौधरीले गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका थापाले अब देश निर्माणमा पनि नेतृत्वदायी भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले संविधानमा सबैको अधिकार लेखिए पनि थारू समुदायले अधिकार नपाएको गुनासोसमेत गरे । उनले गणतन्त्रसँग धर्म किन साटियो भन्ने प्रश्न पनि उठाए । 

श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले कांग्रेस हल्लाका भरमा नभई लामो संघर्ष र त्यागबाट स्थापित भएको पार्टी भएको बताएका छन् । राईले नेपालमा लोकतन्त्र र प्रजातन्त्र स्थापनाका लागि कांग्रेसले खेलेको भूमिकाको प्रशंसा गरे । ‘नेपाली कांग्रेसको इतिहास धेरै पढ्यौँ र हे¥यौँ । नेपाली कांग्रेस वास्तवमा हल्लाद्वारा स्थापित भएको पार्टी होइन,’ उनले भने, ‘आफ्ना निजी सपना मारेर, राष्ट्र निर्माणका निम्ति सपना त्यागेर, त्यो सपना देखेर निर्माण भएको पार्टी हो ।’ राईले कांग्रेसले आगामी दिनमा सत्तामा कति समय रहनेभन्दा पनि जनताका पक्षमा कति राम्रो काम गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

विदेशी पार्टी र नेताले दिए शुभकामना
कांग्रेसको १५औँ महाधिवेशनलाई विभिन्न देशका राजनीतिक दल तथा नेताहरूले शुभकामना दिएका छन् । भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीन र प्रमुख प्रतिपक्षी दल इन्डियन नेसनल कांग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले शुभकामना दिएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी, सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष तथा स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

एसिया तथा युरोपका विभिन्न राजनीतिक दल र संस्थाबाट पनि कांग्रेसलाई शुभकामना प्राप्त भएको कांग्रेसले जनाएको छ । इन्टरनेसनल काउन्सिल अफ एसियन पोलिटिकल पार्टिज् (आइक्याप) स्ट्यान्डिङ कमिटी, बंगलादेशका प्रधानमन्त्री तारिक रहमान तथा बेलायतको लेबर पार्टीले महाधिवेशन सफलताको शुभकामना दिएका छन् ।

सुझावित समाचार