कांग्रेस टुटफुटको शृंखला : ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा

सोमबार, १९ असोज, २०८३
प्रिन्ट संस्करण
कांग्रेस टुटफुटको शृंखला :  ००४, ०१०, ०५९ मा फुट्यो, अहिले फेरि विभाजनको सँघारमा

काठमाडौं खुलामञ्चमा आइतबार कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख दलका शीर्ष नेताहरू । तस्बिर : संजित परियार/नयाँ पत्रिका

लोकतन्त्रका लागि स्थापनाकालदेखि लड्दै आएको पुरानो पार्टी कांग्रेसले १५औँ महाधिवेशन दुई चिरामा विभाजित भएर सम्पन्न गर्दै छ । स्थापनाकालदेखि नै टुटफुटकै विरासत बोकेर आएको कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनपछि आइतबारबाट काठमाडौंमा १५औँ नियमित महाधिवेशन गरिरहँदा इतर पक्ष भने २१–२३ मंसिरको अर्को नियमित महाधिवेशनकै तयारीमा जुटिरहेको छ । पुस्तान्तरणको बहसले नयाँ मोड दिँदै गगन थापाले नेतृत्व गरिरहेको संस्थापन पक्षले महाधिवेशन गरिरहँदा शेरबहादुर देउवाले नेतृत्व गरेको इतर कांग्रेसले भने देशैभर वडा अधिवेशन गरिरहेको छ । 

कांग्रेस स्थापनाकालदेखि अहिलेसम्म सातपटकभन्दा बढी समय टुटफुटबाट गुज्रिएको छ । हरेकपटकको टुटफुटमा सैद्धान्तिकभन्दा ज्यादा व्यक्तित्व टकराव मूल कारक रहेको राजनीतिशास्त्रीको बुझाइ छ । पछिल्लो फुट पनि नीतिसँग नभएर पुस्तान्तरणको बहसले निम्त्याएको टकराव रहेको राजनीतिशास्त्रका उपप्राध्यापक माधव न्यौपानेले बताए । 

‘कांग्रेसको पछिल्लो फुट नीतिसँग सम्बन्धित छैन । पुस्तान्तरणको बहस चल्दै गर्दा जेन–जी आन्दोलन भयो । त्यसपछि नयाँ र पुरानो पुस्ताका नेताबिच सैद्धान्तिक मतभेद होइन, इगोको लडाइँ सुरु भयो । त्यसक्रममा पुरानो पुस्ताले नयाँ पुस्तालाई अस्वीकार गर्दा, अझ स्पष्ट रूपमा भन्नुपर्दा अहिलेको संस्थापन पक्षलाई इतर पक्षले स्वीकार नगर्दाको परिणाम नै आजको विभाजन हो । त्यसैले कांग्रेसको अहिलेको फुट कुनै सैद्धान्तिक विषयसँग जोडिएको छैन,’ उनले भने ।

तर, ०५९ मा कांग्रेसबाट फुटेर देउवाले नेतृत्व गरेको कांग्रेस प्रजातान्त्रिक पार्टी बन्दा भने सैद्धान्तिक विषय हुँदै व्यक्तिगत टकरावले फुटेको पनि उनले स्मरण गरे । ‘०५९ को कांग्रेस विभाजन नीतिगत लडाइँको मुद्दासँग जोडिएको थियो । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा संकटकाल लगाउने पक्षमा र गिरिजाप्रसाद कोइराला समूह नलगाउने पक्षमा उभिएर मतभेद चर्किंदा सरकारले संकटकाल लगायो । त्यही मतभेदमा देउवामाथि अनुशासनको कारबाहीले पार्टी फुटेको थियो । तर, अहिले त्यो अवस्था होइन,’ न्यौपानेले भने । 

००४ मा पहिलो फुट 
डा. डिल्लीरमण रेग्मीले ००४ मा नेपाली राष्ट्रिय कांग्रेसभित्र नेतृत्व र नीतिगत असहमति जनाएर पार्टी फुटाए । त्यसलाई नै कांग्रेसभित्र पहिलो फुट लिइन्छ । १२ माघ ००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेस एक वर्ष पनि नपुग्दै फुटको अवस्थामा पुग्यो । बिपी कोइराला र रेग्मीले नेतृत्व गरेको गुटबिच लडाइँ चल्दा कार्यवाहक सभापतिको मुद्दा प्राथमिक बन्यो ।

बिपी भारतबाट विराटनगरको मजदुर हडताललाई साथ दिने क्रममा नेपाल आउँदा पक्राउ परेपछि रेग्मी कार्यवाहक सभापति बने, तर जेलबाट छुटेपछि पनि रेग्मीले कार्यवाहक छाडेनन् । जसले गर्दा दुई गुटमा कांग्रेस विभाजित बनेको थियो ।

कांग्रेसकै एक समूहले १ साउन ००५ मा कोलकातामा नेपाल प्रजातन्त्र कांग्रेस खोलेका थिए । सुवर्णशमशेर र महावीरशमशेरको अगुवाइमा खोलिएको त्यो पार्टी पछि नेपाली राष्ट्रिय कांग्रेसको बिपी गुटसँग मिलेको थियो । २७ चैत ००६ मा ती दुई कांग्रेस मिलेर नेपाली कांग्रेस बनेको थियो । 

०१० मा फेरि विभाजन 
बिपी कोइराला र तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाबिच व्यक्तिगत टकराव र पदको लडाइँले ०१० मा कांग्रेस औपचारिक रूपमै विभाजित भयो । मातृकाप्रसादले राष्ट्रिय प्रजा पार्टीलगायतसँग जोडिएर छुट्टै दल बनाए । बिपीसँग टकराव भएपछि मातृकाप्रसादले राजीनामा दिएको केही दिनमै ‘समानान्तर नेपाली कांग्रेस अस्थायी समिति’ बनाए ।

जनकपुर महाधिवेशनबाट सभापति निर्वाचित बिपीले मातृका र उनका सहयोगीलाई तीन वर्ष पार्टीबाट निष्कासन गरेपछि समानान्तर नेपाली कांग्रेसको संरचना खडा भयो । पछि तिनै समानन्तर संरचनाले १७ वैशाख ०१० मा ‘राष्ट्रिय प्रजा पार्टी’ गठन गर्यो । 

०५९ को विभाजन : देउवाको नेतृत्वमा प्रजातान्त्रिक कांग्रेस 
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी द्वन्द्व दबाउन संकटकाल लगाउने प्रस्तावलाई पार्टीले असहयोग गरेपछि विभाजनको बिउ रोपिएको थियो । सभापति गिरिजाप्रसाद कोइरालासँग त्यही मुद्दामा देउवाको टकराव बढ्यो, असहमतिका बाबजुद उनले संकटकाल लगाए । तर, त्यही निहुँमा उनीमाथि कोइरालाले कारबाहीको डन्डा बर्साएपछि २४ जेठ ०५९ मा देउवाले प्रजातान्त्रिक कांग्रेस बनाए ।

तत्कालीन सभापति कोइराला र देउवाबिच संकटकालको परिस्थिति, संसद् विघटन र पार्टी सञ्चालनको विषयमा विवाद चर्किंदै जाँदा कांग्रेस विभाजित भएको थियो । तर, १३ चैत ०६२ मा दुवै पार्टीबिच एकता भयो ।

विशेष महाधिवेशनबाट फुटतिर
गत वर्ष २३ र २४ भदौको जेन–जी आन्दोलनले सत्तापलट गरेपछि कांग्रेसभित्र महाधिवेशनको मितिसँग जोडिएर सुरु भएको पुस्तान्तरण र नेतृत्व हस्तान्तरणको बहसलाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा चर्कियो । उनीहरूले विधानले तोकेको समयभित्रै महाधिवेशन गर्नुपर्ने अडान लिए भने तत्कालीन सभापति देउवासहित उनी पक्षधरले एकवर्षे कार्यकाल थप गरेर २१ फागुनको चुनावपछि मात्र महाधिवेशन गर्ने अडान राखे ।

दुवै पक्षबिच कुरा नमिलेपछि थापा–शर्मा पक्षले १ माघ ०८२ मा विशेष महाधिवेशन सम्पन्न गर्यो । थापा सभापति र शर्मा उपसभापतिमा निर्वाचित भए । निर्वाचन आयोगले पनि उनीहरूकै नेतृत्वलाई आधिकारिता दिएपछि चुनावमा होमियो । तर, थापाको नेतृत्वमा सफलता हात नलागेपछि देउवा पक्ष उनको नेतृत्व अस्वीकार गर्दै अलग महाधिवेशन गर्ने निर्णयमा पुग्यो ।

सर्वोच्च अदालतमा निर्वाचन आयोगको निर्णयविरुद्ध आधिकारिताको निर्णय अस्वीकार गर्दै मुद्दा दर्ता गर्यो । तर, अदालतको फैसला नआउँदै थापाको नेतृत्वमा संस्थापनले अहिले महाधिवेशन गरिरहेको छ । देउवा समूहले २१–२३ मंसिरमा महाधिवेशन आयोजना गर्ने गरी १५ असोजदेखि धमाधम वडा अधिवेशन गरिरहेको छ ।

कांग्रेसका महाधिवेशन :  कोलकातादेखि काठमाडौंसम्म 
 पहिलो, ००३ माघ १२–१३, कोलकाता
 दोस्रो, ००४ माघ २०–२१, वाराणसी
 तेस्रो, ००५ फागुन १८–२०, दरभंगा 
 चौथो, ००६ चैत २६–२७, कोलकाता
पाँचौँ, ००९ जेठ १०–१३, जनकपुर
 छैटौँ, ०१२ माघ १०–१२, वीरगन्ज
सातौँ, ०१७ वैशाख २५–३१, काठमाडौं
 आठौँ, ०४८ फागुन १–३, झापा
 नवौँ, ०५३ वैशाख २६–२८, काठमाडौं
 दसौँ, ०५७ माघ ६–९, पोखरा
११औँ, ०६२ भदौ १४–१७, ललितपुर
१२औँ, ०६७ असोज १–५, काठमाडौं
१३औँ, ०७२ फागुन २०–२३, काठमाडौं
१४औँ, ०७८ मंसिर २४–२६, काठमाडौं 
१५औँ महाधिवेशन ः ०८२ असोज १८ मा उद्घाटन दुई विशेष महाधिवेशन
 पहिलो, ०१४ जेठ १०, विराटनगर
दोस्रो, ०८२ पुस २७–३१, काठमाडौं

सुझावित समाचार