काठमाडौं/ नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसको संघर्षबाट अभिव्यक्ति स्वतन्त्रता पाएको उल्लेख गर्दै प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको सम्मान गर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले आइतबार कांग्रेस महाधिवेशन उद्घाटन समारोहका विषयलाई लिएर टिप्पणी गरेपछि शर्माले सोमबार त्यसको जवाफ दिएका हुन्। प्रधानमन्त्रीले ‘आफूहरूले खुलामञ्च राम्रो बनाएकाले नयाँ दलले गाली गर्न पाएका’ भन्दै सामाजिक संजालमार्फत प्रतिक्रिया जनाएका थिए।
जवाफमा शर्माले भने, ‘म यसमा सम्माननीय प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु किनभने त्यो अभिव्यक्ति राख्न पाउने अधिकारका लागि कांग्रेस लडेको थियो। कांग्रेस लडेको कारणले प्रधानमन्त्रीजीले त्यो अभिव्यक्ति राख्नुभएको छ।’
तर, लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र व्यक्ति स्वयं लोकतान्त्रिक हुनुमा फरक रहेको स्पष्ट पार्दै शर्माले थपे, ‘लोकतान्त्रिक प्रक्रियाबाट आउनु र लोकतान्त्रिक चरित्रको हुनुको बिचमा फरक छ। र त्यो फरक केलाएर हामीले लोकतान्त्रिक संस्कृति मुलुकमा स्थापित गर्ने दिशातर्फ भूमिका निर्वाह गर्नुछ।’