जागिर खोज्दै थिइन् सबिना, महामारीले व्यवसायी बनाइदियो

शुक्रबार, ८ असोज, २०७८
डिजिटल संस्करण

कोभिड महामारीपछि बेरोजगार युवाको संख्या झन् बढेको छ। महिनौँसम्म हुने लकडाउनका कारण जागिर गुमाएका र व्यापार व्यवसायमा फर्किन नसकेका कारणसमेत विश्वभर नै बेराजगारी मुख्य समस्याको रूपमा देखिएको छ। तर कतिपयका लागि लकडाउन करियर सुरुवातीको खुड्किलोसमेत बनेको छ। 

खासगरी अनलाइनबाट हुने व्यापार मुख्य विकल्पको रूपमा फस्टाएको छ। महामारीमा विश्वविद्यालयका कक्षा र परीक्षासम्म, व्यवसाय, कार्यालयका कामहरू अनलाइनमा भर पर्न थालेका छन्। महामारीमा कैयौँ दिन घरमा थुनिएर बस्नुपर्ने नियतिबाट बच्नका लागि अनलाइन व्यवसाय धेरैका लागि करिअर बन्दै गएको छ। दिनभरि निष्क्रिय भएर घरमै थुनिनुपर्ने दैनिकीलाई व्यवसायमा बद्ल्नेहरूमध्ये एक हुन् फेसन डिजाइनर सबिना चौधरी। 

फेसन डिजाइनमा स्नातक गरेकी चौधरी जागिर वा अन्य कुनै अवसरको खोजीमा थिइन्। त्यति नै वेला कोरोना नियन्त्रणका लागि नेपालमा पहिलो लकडाउन सुरु भयो। चीनबाट सामान ल्याएर होलसेलमा बेच्ने योजना बनाइरहेकी उनी लकडाउनमा घरमै थन्किनुपर्यो। लकडाउनको अवधि लम्बिँदै गइरहेको थियो, विदेशबाट सामान आयात गरेर व्यवसाय गर्ने कल्पनामै सीमित रह्यो । 

जीवनशैली सामान्य अवस्थामा फर्किन नसकेपछि विकल्प बन्यो, ‘अनलाइन व्यवसाय’। तर लकडाउनमा नत सामान ल्याउन सम्भव थियो, नत डेलीभरी गर्न नै। फुर्सदको समयलाई उपयोग गर्दै उनले कपडा ल्याएर आफैँले डिजाइनिङ सुरु गरीन्। बजारबाट कच्चा पदार्थ संकलन गरेर लन्जरी फेसन डिजाइन अर्थात महिलाले लगाउने भित्री लुगा र राति सुत्दा लगाउने लुगाको डिजाइन बनाउन थालिन्। 

बजारमा अत्यधिक माग रहने लन्जरी अधिंकासजसो आयात गरीने हुँदा नेपालमै उत्पादन गरियो भने बजार लिन सक्ने उनको ठम्याइ थियो। सूरुवातीमा होलसेलबाट कपडा किनेर ल्याउने र आफैँले विभिन्न डिजाइनिङ गर्नेमै लामो समय बित्यो। बजार नखूल्दा अनलाइनबाट सामान किन्नेहरुको भिड बढ्न थालेपनि उनले यसलाई व्यवसायको रुपमा सुरु गरीन्। 

नेपालमा लन्जरी डिजाइनिङलाई खासै वास्ता गरीएको पाइदैन। हरेक सिजनमा नयाँ डिजाइनहरु भित्रिने हुदाँ बजारको मागसमेत आयातमा बढी निर्भर रहन्छ। भित्री बस्त्रको अत्यधिक माग रहने भएपनि स्वदेशी उत्पादन भने निकै न्यून देखिन्छ। लकडाउनमा नाका ठप्प हुदाँ बजारमा सामानको सिमितता र संक्रमणका कारण बाहिर निस्कन डराउने वातावरणलाई सविनाले अवसरको रुपमा लिइन्। बजारबाट कपडा ल्याएर विभिन्न डिजाइनमा बजारमा अनलाइन लुगा बेचीरहेकी सपनाले लन्जरीलाई ब्राण्डको रुपमा स्थापित गरीसकेकी छिन्। सामान्य लगानीबाट सुरु गरेको उनले हाल दैनिक कम्तीमा ५ देखि ६ प्याकेट (एक प्याकेटमा डिजाइन अनुसार ८ देखि १० पिस हुन्छन्) बजारमा पठाउँछिन्। 

दुई वर्षको अवधीमा आफैले डिजाइनिङ सुरु गरेर उत्पादन सुरु गरेकी सविनाले होलसेलमा सामान नेपालभरी पठाँउछिन्। उनी भन्छिन्, ‘जागीर नहुँदा विकल्पको रुपमा सुरु गरेको कामले व्यवसायको रुप लिएको छ। अनलाइन मार्फत व्यवसाय सुरु गर्दा झन सजिलो भएको छ। बद्लिदो ट्रेण्डमा बजार पाउन मुस्किल रहेपनि बिस्तारै सहज बन्दै गएको छ।’

डेलीभरीमार्फत विशेषगरी काठमाडौं उपत्यकामा आफ्नो उत्पादन बेचीरहेकी सविनाले लकडाउनका कारण जागीर गुमाएकाहरुलाई समेत जागीर दिएकी छिन्। उनीसँगै लन्जरी डिजाइनमा अन्य चार जनाले पनि काम पाएका छन्। संक्रमणको उच्च जोखिमको समयमा काम गर्ने वातावरण नहुदाँ आर्थिक अभाव कम गर्ने माध्यमसमेत बनेकी छन्। 

डिजाइनिङमा पनि खासगरी एकल महिलाहरुले काम गरीरहेको बताउँछिन् उनी। भन्छिन्,     ‘लकडाउनले महिनौसम्म घरमा थुनिदाँ खानेबस्न पनि अप्ठ्यारो अवस्था आइसकेको थियो। सुरुवातीमा समस्यामा रहेका एकल महिलाको सहयोगमा अगाडि बढ्न सजिलो भयो। बिस्तारै उनीहरुले नै निरन्तरता दिइरहेका छन्। संक्रमणका कारण अस्तव्यस्त बनेको समयमा एक दुई जनालाई पनि काममा फर्काउन सक्नु ठूलो उपलब्धी बनेको छ।’

उनले डिजाइन गरेका लुगाहरुको बजार माग पनि बढ्दै गएको बताउँछिन्। पछिल्लो समय भौतिक भन्दा पनि अनलाइन किन्नेहरुको जमात बढ्दै गएको जीवनशैली सामान्य भएपनि अनलाइन व्यवसायलाई नै निरन्तरता दिन सोचमा छिन्। तर सामानको गुणस्तर र भौतिक बजारको मूल्यको तुलनामा मंहगो हुने भन्ने आमधारणालाई लिएर चिन्तित पनि छिन्। भन्छिन्, ‘अधिंकासमा अनलाइनको सामानको क्वालीटि हुदैन भन्ने छ, तर सबैमा त्यस्तो हुँदैन। हामीले कपडाको कलेक्सन गरेर आफैले उत्पादन गरीरहेका छौँ। डेलीभरीको चार्ज अनुसार तुलनात्मक रुपमा मंहगो परेपनि धेरै मंहगो हुँदैन।’ उनले लन्जरीमा हरेक नयाँ डिजाइनमा काम गरीरहेकी छिन्। स्वउत्पादनलाई स्थापित गराउन सकने हरेक वर्ष भित्रिने विदेशी आयातलाई कम गर्न सकिने उनी बताउँछिन्। तर डिजाइनको क्षेत्रमा नेपाल अझै निकै पछाडि रहेको र कच्चा पदार्थ बाहिरबाटै आयात गर्नुपर्ने हुदाँ चुनौतीपुर्ण देखिन्छ। महामारी पश्चात फैलिएको अनलाइन व्यवसायले भने युवालाई आत्मनिर्भर बन्न सहज बनाइदिएको छ।         
तस्बिर : दीपेन्द्र ढुंगाना

सुझावित समाचार