सार्वजनिक यातायातको दसैँलक्षित अग्रिम टिकट खोल्न आज निर्णय गरिँदै

मंगलबार, २० असोज, २०८३
प्रिन्ट संस्करण
सार्वजनिक यातायातको दसैँलक्षित अग्रिम टिकट खोल्न आज निर्णय गरिँदै

घर जानका लागि सोमबार गोंगबु बसपार्क पुगेका यात्रु । दसैँ नजिकिएसँगै काठमाडौं छाडेर आफ्नो थातथलो फर्किने क्रम बढ्दै गएको छ । दसैँमा १० लाखहाराहारीले उपत्यका छाड्ने अनुमान ट्राफिक प्रहरीको छ । तस्बिर : सतिश पोखरेल/नयाँ पत्रिका

दसैँलक्षित लामो दूरीका सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाको निर्णय गर्न आज (मंगलबार) यातायात व्यवस्था विभागमा बैठक बस्दै छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार  बिहान ११ बजे बस्ने बैठकले अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गर्नेछ । ‘असोज २२ वा २३ गते (बिहीबार वा शुक्रबार)बाट अग्रिम टिकट बुकिङ खुलाउने तयारी छ,’ उनले भने ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, मजदुर संगठन, ट्राफिक प्रहरीसहित सरोकारवाला निकायबिच बैठक बसेर अग्रिम टिकट खुलाउँदै आएको छ । यसअघिका वर्षमा घटस्थापनाभन्दा कम्तीमा १५ दिनअघि अग्रिम टिकट खुलाउने गरिन्थ्यो ।

यसपटक पनि विभागले टिकट खुलाउन व्यवसायीलाई आग्रह गरेको थियो । तर, असोज दोस्रो साताको बाढीपहिरोबाट देशका ठुला राजमार्ग अवरुद्ध/आंशिक अवरुद्ध भएपछि व्यवसायीले सडक पूर्ण रूपमा सुचारु भएपछि मात्र खोल्ने जवाफ फर्काएका थिए । हाल राजमार्ग पूर्ण रूपमा सुचारु भएपछि अग्रिम टिकट बुकिङ खुलाउन थालिएको हो । यसपटक २५ असोजमा घटस्थापना छ । दसैँमा थातथलो फर्किने भएकाले काठमाडौंसहितका सहर छाड्नेको संख्या अत्यधिक हुन्छ । जसकारण यात्रुको चाप उच्च हुन्छ ।  यसपालि २५ असोजमा घटस्थापना, ३१ असोजमा फूलपाती र ४ कात्तिकमा टीका छ । अध्ययन तथा रोजगारीका लागि विदेश र देशका विभिन्न ठाउँमा गएका व्यक्ति दसैँ मान्न घटस्थापनाआसपासको समयदेखि फर्कने गर्छन् । त्यसले गर्दा अघिपछिभन्दा यो समयमा यात्रुको चाप उच्च हुन्छ । त्यसलाई सही ढंगले व्यवस्थापन गर्न दसैँमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्ने अभ्यास छ ।

अनलाइन बुकिङको पनि सुविधा 
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अनलाइनबाट अग्रिम टिकट बुकिङको सुविधा दिने तयारी छ । अहिले अधिकांश कम्पनी अनलाइनबाटै टिकट काट्न सकिने बससेवालगायत प्लाटफर्ममा जोडिएका छन् । त्यस्ता प्लाटफर्मबाट अग्रिम रूपमा टिकट काट्न मिल्ने गरी व्यवस्था गरिने महासंघका महासचिव डेकनाथ गौतमले बताए ।

‘अधिकांश यातायात कम्पनी अनलाइटबाट टिकट काट्न मिल्ने प्लाटफर्ममा जोडिएका छन् । हामीले सेवाप्रदायक यायायात कम्पनीलाई अनलाइनबाट टिकट काट्न मिल्ने सुविधालाई उच्च प्राथमिकतामा राख्न भनेका छौँ,’ उनले भने, ‘यो सुविधा हुन्छ नै । तर, यसका लागि सरकारले कार्यविधि ल्याउने भने पनि अझै आउन सकेको छैन । कार्यविधि आउन सकेको भए थप प्रभावकारी हुने थियो ।’
 

सुझावित समाचार