नेपाल राष्ट्र बैंकले दसैँको लागि नयाँ नोट सटहीको तयारी गरेको छ। राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक र वित्तीय संस्थाहरूमा राष्ट्र बैंकले नयाँ नोट पठाइसकेको छ। असोज ४ गतेदेखि बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ नोट साट्न पाइने छ।
राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पोख्रेलले यो वर्ष पुग्दो नयाँ नोट छापेको जानकारी दिए। उनले भने, ‘गत वर्षहरूमा दसैँको वेला नयाँ नोटको अभाव भएको थियो। यो वर्ष हामीले अभाव नहुने गरी छापेका छौँ। बैंक तथा वित्तीय संस्थाबाट सहजै साट्न पाइनेछ।’ उनले नयाँ नोट साट्न हतार नगर्न आग्रह गरे। अपुग भएमा राष्ट्र बैंकले नयाँ नोट पुनः छाप्ने उनले बताए।
प्रवक्ता पोखरेलका अनुसार ५, १०, २०, ५०, १००, ५०० र १००० का नयाँ नोट बैंक तथा वित्तीय संस्थाहरूले लगिसकेका छन्। एउटा वित्तीय संस्थाले करिब ६० करोडभन्दा बढी नयाँ नोट लगेका छन्। जसका कारण ग्राहकले इच्छाअनुसार नयाँ नोट साट्न पाउनेछन्। कोभिड स्वास्थ्य मापदण्ड अपनाएर नयाँ नोट वितरण गर्न राष्ट्र बैंकले सबै वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।