कोरोना बिमा भुक्तानी माग्दै उच्च अदालत विराटनगरमा रिट

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

सम्झौताअनुसार कोरोना  बिमा रकम भुक्तानी माग गर्दै मोरङका पत्रकारले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन्। कोरोना बिमा गरेका मोरङका  पत्रकारले सम्झौताअनुसारको रकम भुक्त्तानी नपाएपछि सोमबार नेपाल पत्रकार  महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै  रिट दर्ता गराएकाे हाे । 

पत्रकार महासंघ मोरङ शाखा सचिव नेत्र पी अधिकारीका अनुसार नेपाल पत्रकार महासंघ मोरङले  अजोड इन्स्योरेन्स कम्पनीसँग दुई सयजना पत्रकारको कोरोना बिमा सम्झौता गरेको थियो। त्यसमध्ये ५१ जना बिमितमा कोरोना संक्रमण भएकोमा २० जनाले मात्र बिमा दाबी भुक्तानी पाएका थिए। बाँकी ३१ जनाले  १० महिना बितिसक्दा पनि कम्पनीले भुक्तानी दिनुको साटो भुक्तानी दिन नसक्ने व्यहोराको पत्र पठाएको थियो।  

अजोड इन्स्याेरेन्सले जारी गरेको बिमालेख तोकिएको अवधिसम्म कुनै पनि हालतमा खारेज गर्न नसकिने, पिसिआर टेस्ट पजिटिभ देखिएमा संक्रमित व्यक्तिलाई एक लाखसम्मको दाबी भुक्तानी दिने, बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई भुक्तानी गर्ने र बिमितले रितपूर्वक निवेदन दिएको सात दिनभित्र रकम भुक्तानी दिने सम्झौता गरेको छ।  

कम्पनीको नियमअनुसार आवश्यक प्रिमियम तिरेर बिमा गरेका बिमितलाई भुक्तानी दिन नसकिने भन्ने गैरजिम्मेवार जवाफ दिएपछि नेपाल पत्रकार महासंघले उच्च अदालत विराटनगरमा परमादेश माग गर्दै रिट दायर गरेको सचिव अधिकारीले बताए।  

सुझावित समाचार