नेपालले ६ वर्षपछि भारतको सामना गर्दै

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

 नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा नगरेको ६ वर्ष भइसकेको छ । २०१५ को मार्चमा नेपाल र भारतबीच रसिया विश्वकप छनोटअन्तर्गत प्रतिस्पर्धा भएको थियो । पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसपछि भारतको सिनियर टोलीसँग नेपालको प्रतिस्पर्धा भएको छैन । दरशथ रंगशालामा बिहीबार साँझ अब यो प्रतीक्षा समाप्त हुनेछ । नेपालले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्दै छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रस्ताव गरेको थियो । भारतले पनि साफ र एसिया कप छनोटकै तयारीका रूपमा नेपालको दुई मैत्रीपूर्ण खेलको प्रस्ताव स्विका¥यो । भारतले यसपटक मैत्रीपूर्ण खेलकै लागि आफ्नो पहिलो सेटकै खेलाडी पठाएको छ । कप्तान सुनील क्षेत्रीको कप्तानीमा भारतले नेपालविरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीको नेतृत्व गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । 

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । भारतले नेपालमाथि दबदबा राख्दै १३ खेलमा जित निकालेको छ । नेपालले केवल दुई खेलमा मात्र भारतलाई हराएको छ । चार खेलमा यी दुवै टोलीले बराबरी नतिजा निकालेको छ । नेपालले अन्तिमपटक भारतलाई हराएको नै सन् २०१३ मा काठमाडौंमै आयोजित साफ च्याम्पियनसिपमै थियो । त्यसवेला नेपालले भारतलाई २–१ ले निराश पारेको थियो । 

भारतले नेपालमाथि सन् २००८ को साफ च्याम्पियसिपमा ४–० को फराकिलो अन्तरमा हराएको थियो । नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय खेल सन् १९८५ मा दक्षिण एसियाली खेलकुदमा भएको थियो । जुन खेल गोलरहित बराबरी भयो । भारतले त्यसपछि लगातार चार खेलमा नेपाललाई साग तथा साफ च्याम्पियनसिपमा हरायो । तथ्यांकमा भारतभन्दा नेपाल कमजोर देखिन्छ । फिफा वरीयतामा भारत एक सय पाँचौँ र नेपाल एक सय ६८औँ स्थानमा छन् । 

नेपाली टोलीका कप्तान तथा गोलरक्षक चेम्जोङले भारतविरुद्ध मैदानमा उत्रँदा पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गर्नेछन् । महर्जनले नेपाली टोलीबाट सर्वाधिक ७३ क्याप जितेका छन् । बुधबारको खेलसँगै चेम्जोङले नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने महर्जनको रेकर्ड बराबरी गर्नेछन् । 
 

See More On

सुझावित समाचार