भारतमा दैनिक संक्रमितको संख्यामा फेरि वृद्धि

बिहिबार, १० भदौ, २०७८
डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमित हुनेको संख्यामा फेरि वृद्धि भएको छ। यसअघि गत सोमबार दैनिक संक्रमितको संख्या एक सय ६० दिनपछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो।

सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ नयाँ संक्रमित भएका जनाएका थिए। तर, बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार एक सय ६४ नयाँ संक्रमित थपिएको उल्लेख छ। मृतकको संख्या पनि बढेको देखिएको छ। पछिल्लो एक दिनमा ६ सय सात जनाको कोरोना भाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन् । गत सोमबार तीन सय ८९ जनाको मृत्यु भएको थियो।

महामारीबाट पछिल्लो समय सबैभन्दा बढी केरला राज्य प्रभावित भएको छ। केरलामा मात्रै ३१ हजार चार सय ४५ नयाँ संक्रमित थपिएका छन्। यहाँ पछिल्लो एक दिनमा मात्र दुई सय १५ जनाको मृत्यु भएको छ। केरलामा अहिले एक लाख ७० हजार दुई सय ९२ सक्रिय संक्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड २५ लाख ५८ हजार पाँच सय ३० रहेको छ। तीमध्ये तीन लाख ३३ हजार सात सय २५ सक्रिय संक्रमित रहेका छन्।

भारतमा अहिलेसम्म तीन करोड १७ लाख ८८ हजार चार सय ४० जना संक्रमणमुक्त भइसकेका छन्। तीमध्ये ३४ हजार एक सय ५९ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन्। रासस

सुझावित समाचार