जीवन बिमा प्रदायक कम्पनी राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ। डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौताअनुसार अब बिमा संस्थानमा बिमाशुल्क कनेक्ट आइपिएसबाट तिर्न सकिने भएको छ। प्रिमियम डिजिटल भुक्तानीमार्फत तिर्न सकिने भएपछि लाइन बस्ने र कार्यालयमै पुग्नुपर्ने बाध्यता पनि हटेको छ।
संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सिइयो) निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गरे । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रुपैयाँबराबरको बिमाशुल्क कनेक्ट आइपिएसमार्फत भुक्तानी गरे।
कनेक्ट आइपिएससँग सहकार्यका लागि केही यसअघि नै समझदारी भइसकेको संस्थानले जनाएको छ। संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ । प्रशासक पाठकले भने, ‘नेपालको पुरानो बिमा कम्पनी भए पनि संस्थानले प्राविधिक हिसाबले आफूलाई कान्छो कम्पनी भन्नुपर्ने बाध्यता रहेको थियो। आगामी दिनमा बिमाशुल्क बुझाउन लाइन बस्नुपर्ने झन्झटबाट बिमित मुक्त भएका छन्।’