न्यायाधीशको सम्पत्ति सार्वजनिक हुनुपर्ने रिटको दर्ता मंगलबार टुंगो लाग्ने

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

न्यायाधीशको सम्पत्ति सार्वजनिक गरिनुपर्ने मागसहितको रिट दर्ता हुने–नहुने मंगलबार टुंगो लाग्ने भएको छ । यसअघि दर्ता गर्न अस्वीकार भएको रिटबारे सर्वोच्चको इजलासले टुंगो लगाउने भएको हो । 

अधिवक्ता प्रवेश केसीले सार्वजनिक सरोकारको मुद्दाअन्तर्गत रिट दर्ता गर्न खोजेका थिए । अधिवक्ता केसीले १७ साउनमा ‘मौलिक हकमा अनुचित हुने गरी बनाइएको कानुनको भाग बदर गरिपाऊँ’ भन्ने व्यहोराको रिटमा ‘न्यायपरिषद् ऐन, २०७३ को दफा २९ को उपदफा ३ उपदफा १ र २ मा न्यायाधीशको सम्पत्ति गोप्य राखिनेछ भन्ने प्रावधानले नेपालको संविधानको धारा २७ ले दिएका अधिकार अनुचित रूपले बन्देज लगाएकाले प्रावधानलाई बदर गर्न माग गरिएको छ । 

मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले रिट दरपीठको आदेश दिएका थिए । केसीले दरपीठविरुद्ध निवेदन दिएका थिए । यसबारे एकल इजलासमार्फत टुंगो लाग्ने सर्वोच्चले जनाएको छ ।

सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले मंगलबार दर्ताबारे टुंगो लाग्ने बताए । ‘भोलि इजलासमा पेस हुन्छ । दरपीठ भएपछि दरपीठ आदेश गैरकानुनी भयो भनेर आएपछि एकल इजलासमा पेस हुने व्यवस्था छ,’ उनले भने, ‘कैफियत प्रतिवेदन माग्यो भने कारबाही अगाडि बढ्छ, होइन भने दरपीठ सदर हुन्छ ।’

सुझावित समाचार