लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री (वली) पुनः एमालेमै फर्किएकी छिन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट उपनिर्वाचन जितेकी उनले माओवादी केन्द्र रोजेकी थिइन्। वैशाख १९ गते बुटवलमा पत्रकार सम्मेलन गरी माओवादी केन्द्र रोजेको जानकारी दिएकी थिइन्। केही दिनदेखि माओवादी केन्द्रको सम्पर्कभन्दा बाहिर रहेकी विमलाले सोमबार एक विज्ञप्ति जारी गरि एमालेमा फर्किएको बताएकी छिन्।
उनले प्रदेश सभामा क्रियाशील हुँदै गर्दा पार्टीप्रति केही गुनासा रहेको भन्दै अब ती गुनासा र अविश्वासलाई विश्वासमा बदल्दै एमालेमा प्रतिबद्ध भएको उनले बताएकी छिन्। उनले एमालेको प्रदेश सभा संसदीय दलको सदस्य रहेको स्पष्टसमेत पारेकी छिन्।
‘उहाँको निधनपछि रिक्त रहेको प्रदेश सभा सदस्यमा उपचुनाव हुने भयो। यो उपचुनावमा पार्टीले मलाई उम्मेदवार बनाउने निर्णय गर्याे। शाेकमा डुबेकी म उम्मेदवार बन्ने निर्णय गरेँ। कमरेड उत्तरकुमार ओलीले पार्टीलाई गर्नुभएको योगदान स्मरण गरेँ, जनताले गरेको विश्वासलाई सम्झेँ, अन्ततः यी सबै कुराले मलाई आत्मबल बलियो बनाएर उम्मेदवार बन्न प्रेरित गर्यो। म चुनावी मैदानमा होमिएँ। चुनाव जितेँ,’ उनले विज्ञप्तिमा लेखेकी छिन्, ‘मेरो जित केवल प्राविधिक मात्रै थियो। चुनावमा खास जित कमरेड उत्तरकुमार ओलीको थियो र हो। मलाई पार्टीले उम्मेदवार बनाउनु पनि कमरेड उत्तरकुमार ओलीप्रतिको सम्मान हो, भन्ने मेरो निष्कर्ष छ।’
उनले आफूले सूर्य चिह्नबाट चुनाब जितेको भन्दै कानुनी रूपमा पनि एमाले छोडेर माओवादी रोज्ने कुरा ठीक नभएको बताएकी छिन्। उनले दाङ क्षेत्र नं. ३ को प्रदेश सभा ‘ख’बाट उपनिर्वाचन जितेकी हुन्। उनले आफू स्वास्थ्यमा समस्या हुँदा सम्पर्कमा आउन नसकेको बताएकी छिन्।