राजस्वको संशोधित लक्ष्य पनि भेट्न मुस्किल

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

भन्सारमा आधारित राजस्व संकलन वार्षिक लक्ष्यनजिक, आन्तरिक राजस्वले भने संशोधित अनुमान पनि भेट्न सकेन

दोस्रो लहरको कोभिड–१९ महामारीले आर्थिक गतिविधिमा पारेको असरबाट सरकारको राजस्व संकलन प्रभावित भएको छ । कोभिडका कारण उत्पादनदेखि आपूर्तिसम्मको चक्र भत्किँदा सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्ने देखिएको हो । 

सरकारले चालू आर्थिक वर्षमा १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । तर, अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षा गर्दै राजस्व संकलनको वार्षिक लक्ष्य ५.१५ प्रतिशतले घटाएर ९ खर्ब ५९ अर्ब राजस्व संकलन हुने संशोधित अनुमान गरेको छ । हालसम्मको राजस्व संकलनको तथ्यांक हेर्दा सरकारले वार्षिक लक्ष्य त परको कुरा, संशोधित लक्ष्यसमेत भेट्न नसक्ने देखिएको हो । 

महालेखा नियन्त्रणको कार्यालयका अनुसार शुक्रबारसम्ममा सरकारले ८ खर्ब ८० अर्ब ९० करोड राजस्व संकलन गरेको छ । यो वार्षिक लक्ष्यको ८७.०७ प्रतिशत र संशोधित लक्ष्यको ९१.८६ प्रतिशत हो । अर्थात् सरकारले राजस्वको वार्षिक लक्ष्य पूरा गर्न अबको एक सातामा १ खर्ब ३१ अर्ब रुपैयाँ उठाउनुपर्छ ।

त्यस्तै, संशोधित लक्ष्य पूरा गर्न बाँकी एक सातामा ७९ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्ने देखिन्छ । शुक्रबारसम्मको तथ्यांकलई विश्लेषण गर्दा राजस्वको संशोधित लक्ष्यसमेत भेट्न नसकिने देखिएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए । यद्यपि, संशोधित लक्ष्यको नजिक भने पुगिने उनले बताए । राजस्व कार्यालयका प्रमुखहरूले भने संशोधित लक्ष्य भेट्न सकिने बताएका छन् । आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकद्वयले आवको अन्तिमसम्ममा राजस्वको संशोधित अनुमान भेट्न सकिने बताएका छन् । 

उत्पादन प्रभावित हुँदा आन्तरिक राजस्वमा चुनौती
कोभिडका कारण उत्पादनदेखि आपूर्ति र उपभोगसम्मको चक्र खलबलिँदा आन्तरिक राजस्व प्रभावित भएको छ । चालू आवमा सरकारले ४ खर्ब ५० अर्ब आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको थियो । हालसम्म ३ खर्ब ८५ अर्ब संकलन भएको आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । खासगरी चैत र वैशाख महिनाको राजस्व संकलन प्रभावित हुँदा अपेक्षाअनुसार राजस्व संकलन हुन नसकेको उनको भनाइ छ । ‘निषेधाज्ञाको अवधि अर्थात् चैत–वैशाखको कर तिर्ने म्याद शुक्रबारसम्म रहेको छ,’ उनले भने, ‘अन्तिम समयसम्म संशोधित लक्ष्य पूरा हुने हाम्रो अनुमान छ ।’ 

भन्सार राजस्वको लक्ष्य पुग्ने 
कोभिडले अन्तर्राष्ट्रिय व्यापारलाई पनि प्रभावित गरेको देखिन्छ । तर, भन्सारदेखि ढुवानीसम्ममा सहजीकरण गर्ने नीति लिएका कारण अन्तर्र्राष्ट्रिय व्यापार भने बढेको छ । व्यापारसँगै भन्सारमा आधारित राजस्व पनि बढेको छ । चालू आवमा सरकारले ४ खर्ब ४० अर्ब भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । हालसम्म ४ खर्ब ३२ अर्ब राजस्व उठेको विभागका महानिर्देशक यमलाल भुसालले बताए । यसलाई आधार मान्दा सरकारले भन्सारमा आधारित राजस्व संकलनको संशोधित लक्ष्य भेटिसकेको छ । ‘हामी वार्षिक लक्ष्यको नजिक छौँ, लक्ष्य भेट्नलाई अब ९ अर्बजति मात्रै उठाउन बाँकी छ,’ उनले भने, ‘दैनिक १ देखि १ अर्ब २० करोडको हाराहारीमा भन्सार राजस्व उठेका कारण वार्षिक लक्ष्य पूरा हुने हाम्रो अनुमान छ ।’
 

See More On

सुझावित समाचार