युएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन

जलवायु विपत् पूर्वतयारी गर्न नेपालले राख्यो तीन प्रस्ताव

बिहिबार, १२ कार्तिक, २०८३
डिजिटल संस्करण

काठमाडौँ/ नेपालले जलवायु विपत् पूर्वतयारीका लागि एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलन’मा तीनवटा प्रस्ताव राखेको छ । बैंककमा आयोजित सम्मेलनमा   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलवायु जोखिम निगरानी र पूर्वसूचना प्रणालीका लागि नेपालका तर्फबाट एसिया प्यासिफिक क्षेत्रीय अन्तरिक्ष सहकार्यको प्रस्ताव गरेका हुन् ।

सम्मेलनको एउटा सत्रलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जलवायु परिवर्तनका कारण निम्तिने जटिल विपत्को सामना गर्न अन्तरिक्ष प्रविधिको प्रयोग र क्षेत्रीय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले क्षेत्रीय सहकार्यका लागि अन्तरिक्ष प्रविधिबाट हिमाली जोखिमको निरन्तर निगरानी, तथ्यांकको व्यावहारिक प्रयोग र समान तथा समतामूलक पहुँच हुनुपर्ने प्रस्ताव राखेका छन् ।

उच्च–हिमाली जोखिमलाई क्षेत्रीय अन्तरिक्ष सहकार्यको निरन्तर प्राथमिकताका रूपमा स्थापित गर्ने उनको पहिलो प्रस्ताव छ । त्यस्तै, दोस्रो प्रस्तावमा समयमै सही कदम चाल्नका लागि तथ्यांकलाई व्यावहारिक मार्गदर्शनमा रूपान्तरण गर्नुपर्ने रहेको छ । ‘भूउपग्रह तस्बिरहरूको पहुँचका साथसाथै समयको प्रत्येक मिनेट महत्वपूर्ण हुने अवस्थामा सही निर्णय लिन देशहरूलाई प्रयोग गर्न सकिने सूचना, साझा विश्लेषणात्मक उपकरण र प्रशिक्षित जनशक्तिको आवश्यकता पर्छ,’ मन्त्री श्रेष्ठले भने । त्यस्तै तेस्रो प्रस्तावमा अन्तरिक्षमा आधारित सूचना र सेवाहरूमा समतामूलक र पहुँचयोग्य सुनिश्चित गर्नुपर्ने रहेको छ ।  उनले भने, ‘भूउपग्रहले हिमालको खतरा पत्ता लगाउन सक्छ, तर तल्लो तटीय क्षेत्रका सर्वसाधारणसम्म पुग्ने सही समयको चेतावनीले मात्रै मानिसको ज्यान बचाउन सक्छ ।’  
 

सुझावित समाचार