केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न

बुधबार, ११ कार्तिक, २०८३
डिजिटल संस्करण

विराटनगर । मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका– २ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ।

सबस्टेसनलाई कात्तिक १४ गते शनिबार र १५ गते आइतबार चार्ज गर्ने गरी काम अगाडि बढाइएको प्राधिकरणले जनाएको छ। उक्त दिनहरूमा पूर्व–पश्चिम १३२ केभी प्रसारणलाइनअन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य हुने बताइएको छ। दुहबी–दमक १३२ केभी प्रसारणलाइनबाट सबस्टेसनमा विद्युत् आपूर्ति हुनेछ।

दुहबी–दमक प्रसारणलाइनलाई शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिनेछ। यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरू र मोरङको उर्लाबारी, पथरीआसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणका अनुसार सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिएका दुईवटा र ३३/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ। सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ।

सबस्टेसनबाट स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि ११ केभीका पाँचवटा फिडर लाइनहरू निकालिएको छ। त्यस्तै, करौन–रंगेली र केरौन–विराटचोक ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ।

आयोजना निर्माणका लागि ०७८ असारमा ठेक्का सम्झौता भएको थियो। अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो।

सुझावित समाचार