काठमाडाैं/बाढीपहिरोले चीनसँग जोडिने अन्तर्राष्ट्रिय व्यापारिक मार्ग अवरुद्ध हुँदा पनि चालू आर्थिक वर्ष ०८३/८४ को पहिलो त्रैमासमा वस्तु आयात ३८.१८ प्रतिशतले बढेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको वैदेशिक व्यापारसम्बन्धी तथ्यांकले आयातमा उच्च उछाल देखाएको हो ।
चालू आवको पहिलो त्रैमासमा ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको सोही अवधिमा भने चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको वस्तु आयात भएको थियो । साउनमा एक खर्ब ८७ अर्ब ४४ करोड ३६ लाख र भदौमा दुई खर्ब १४ अर्ब सात करोड ५३ लाख रुपैयाँको वस्तु आयात भएको थियो । तर, असोजमा मात्रै दुई खर्ब ४५ अर्ब २६ करोड ३५ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको असोजमा भने एक खर्ब ६२ अर्ब ९२ करोड ८२ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यो तथ्यांकले पनि असोजमा आयात उच्च दरमा बढेको देखिन्छ ।
नेपालको वैदेशिक व्यापारमा चीनको दोस्रो ठुलो हिस्सा छ । तर, चीनसँग जोडिने तातोपानी नाका १ साउनदेखि नै बन्द छ । १५ भदौदेखि यसलाई अनिश्चितकालीन रूपमा बन्द गरिएको छ । यता १० भदौको बाढीले सडक, भन्सार र अध्यागमनसम्बन्धी सबै पूर्वाधार बगाएपछि रसुवागढी नाका पनि बन्द छ । त्यसपछि चीनसँगको व्यापारमा मुस्ताङस्थित कोरला नाकाको प्रयोग बढेको छ । तर, ११ असोजमा कालीगण्डकी नदीमा आएको बाढीले कालीगण्डकी करिडोर लामो समयसम्म अवरुद्ध गरायो । बाढीपहिरोका कारण मुलुकभित्रका यातायात सञ्जाल पनि अवरुद्ध भए । त्यसका बाबजुद पनि वैदेशिक व्यापारमा भने उछाल आएको छ ।
मुख्यतः दसैँतिहार तथा छठलक्षित व्यापारले आयात बढाएको देखिन्छ । भन्सार विभागका महानिर्देशक यमलाल भुसालले वैदेशिक व्यापारमा उछाल नै आएको बताए । मुख्यतः दसैँतिहारलक्षित सामग्रीको व्यापारले आयात बढाएको उनको भनाइ छ ।
‘मुख्यतः चाडपर्वले नै आयात बढाएको हो । यसपालि बाढीपहिरोले पटक–पटक चीनसँग जोडिएको व्यापारिक नाका अवरुद्ध भए । देशभित्रकै सडक सञ्जाल पनि पटक–पटक अवरुद्ध भए । त्यसका बाबजुद पनि असोजमा वैदेशिक व्यापारमा उछाल नै आएको छ । उत्तरतर्फको नाका अवरुद्ध भए पनि अन्य नाकाबाट गरिएको व्यापार सहजीकरणले पनि सहयोग पुग्यो,’ उनले भने, ‘मुख्यतः चाडपर्वले नै आयात बढाएको हो । तिहारसम्म यो प्रवृत्ति कायम रहन्छ ।’ विगतका वर्षमा पनि यो वेलामा आयात उच्च हुने गर्थ्यो । यसपालि पनि त्यो प्रवृत्ति कायम रहेको उनले बताए ।
५७.०३ प्रतिशतले बढ्यो निर्यात
समीक्षा अवधिमा नेपालको वस्तु निर्यात ५७.०३ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँको निर्यात भएको थियो । चालू आवको तीन महिनामा एक खर्ब १४ अर्ब २८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । पहिलो त्रैमासमै एक खर्बमाथिको निर्यात हुनुलाई सकरात्मक रूपमा हेरिएको छ । असोजमा मात्रै ३७ अर्ब ७० करोड नौ लाख रुपैयाँको वस्तु आयात भएको छ । गत आवको असोजमा २५ अर्ब ४६ करोड ५१ लाख रुपैयाँको वस्तु आयात भएको थियो ।
३४.७१ प्रतिशतले बढ्यो व्यापार घाटा
उच्च दरमा निर्यात बढ्दा पनि व्यापार घाटा भने घट्न सकेको छैन । समीक्षा अवधिमा निर्यात ५७.०३ प्रतिशतले बढ्दा व्यापार घाटा पनि ३४.७१ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा तीन खर्ब ९५ अर्ब ३० करोड पाँच लाख रुपैयाँको व्यापार घाटा भएको थियो । तर, चालू आवको पहिलो तीन महिनामा पाँच खर्ब ३२ अर्ब ४९ करोड ४० लाख रुपैयाँबराबरको व्यापार घाटा भएको छ । समीक्षा अवधिमा आयात पनि ३८.१८ प्रतिशतले बढेको छ । त्यसमाथि आयातको आकार पनि ठुलो छ । यता निर्यातको वृद्धिदर उच्च भए पनि आयातको तुलनामा यसको आकार भने न्यून छ । त्यसले गर्दा व्यापार घाटा बढेको देखिन्छ ।
४०.७१ प्रतिशतले बढ्यो वैदेशिक व्यापार
समग्रमा आयात र निर्यातसहित कुल वैदेशिक व्यापार ४०.७१ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । चालू आवको तीन महिनामा भने सात खर्ब ६१ अर्ब सात करोड नौ लाखको वैदेशिक व्यापार भएको छ । त्यसमा निर्यातको १५.०२ प्रतिशत र आयातको ८४.९८ प्रतिशत हिस्सा छ । गत आवको समीक्षा अवधिमा निर्यातको १३.४६ प्रतिशत र आयातको ८६.५४ प्रतिशत हिस्सा थियो । समीक्षा अवधिमा वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ ।
चीनतर्फको आयात–निर्यातमै वृद्धि
समीक्षा अवधिमा चीनतर्फको आयात निर्यात दुवै बढेको छ । १० भदौको रसुवाबाढीले चीनतर्फको सबैभन्दा ठुलो व्यापारिक टिमुरे नाका बगाएको छ । असोज ११ गतेको बाढीले पनि कोरला नाका जोड्ने कालीगण्डकी करिडोर अवरुद्ध गरायो । त्यसका बाबजुद चीनतर्फको आयात निर्यात बढेको छ । चीनबाट हुने आयात २८.०४ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा चीनबाट एक खर्ब चार अर्ब ८९ करोड ४२ लाख रुपैयाँको वस्तु आयात भएको थियो । चालू आवको तीन महिनामा एक खर्ब ३४ अर्ब ३१ करोड पाँच लाख रुपैयाँको वस्तु आयात भएको छ ।
यस्तै, निर्यात पनि २५९.७१ प्रतिशतले बढेको छ । गत आवको तीन महिनामा १८ करोड ६४ लाख २३ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आवको तीन महिनामा ६७ करोड पाँच लाख ९८ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।