प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस : संसदमा प्रधानमन्त्री टेस्टेड हो, फेरि टेस्ट गरिरहनुपर्दैन

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको मंगलबारको बहसमा नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले प्रधानमन्त्री संसदमा टेस्टेड भएकाले विश्वासको मतका लागि फेरि टेस्ट गरिरहनु नपर्ने दाबी गरेका छन् ।  विश्वासको मत प्राप्त गर्ने वा नगर्ने सिफारिस त संसदले गर्ने हाेइन ?   विश्वासको मत पाए–नपाएको परिणाम त सभामुखबाट जानुपर्ने होला नि ? भन्ने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको प्रश्नमा पाण्डेयले भारतको एक मुद्दाको उदाहरण दिँदै भने, ‘यहाँ  विश्वासको मतका लागि संसदमा पेस गर्नुपर्छ भन्ने छैन श्रीमान् । म पाउँदिनँ भनेपछि संसदमा प्रस्ताव पेस गर्नैपर्छ भन्ने छैन । उहाँ संसदमा टेस्टेड हो, फेरि टेस्ट गरिरहन पर्दैन । टेस्ट नगरीकन संसद् भंगको सिफारिस गर्न पाइन्छ । टेस्ट नगरीकन बाटो खुला गर्नुपर्छ  ।’

‘प्रधानमन्त्रीले  एकपल्ट प्रमाणित कुरोलाई किन ढाँट्नु भनेर विश्वासको मत लिन्नँ भन्नुभो । भर्खरै उहाँले ७६(२) अनुसार विश्वासको  मत गुमाएका कारण फेरि उहाँले विश्वासको मत लिन चाहनुभएन । (४) अनुसार विश्वासको मत लिनैपर्छ भन्ने छैन,’ पाण्डेयले भने । 

एउटा प्रोसेसबाट अर्कोमा जान उपधारा ३ बाट सीधै ७ मा गएर प्रतिनिधिसभा भंग गर्न रिजाइन गरिरहनु नपर्ने भन्दै उनले संविधानले बाध्यता नराखिदिएकाले प्रधानमन्त्रीले ७६ (५) अनुसार प्रधानमन्त्रीमा  दाबी गर्न पाउने बताए ।  राजीनामा दिएर पद रिक्त हुँदा  फेरि ७६(१) को प्रक्रिया सुरु हुने उनको दाबी छ । 

न्यायाधीश मीरा खड्काले संविधानको धारा ७६(५) मा ‘आधार प्रस्तुत गरेमा’ भनिएको छ । आधारको अगाडि कुनै विशेषण छैन । केही बोलिएको छैन । आधार छ भने पुग्यो  भनेको छ । के हो कुरो ? भनेर सोधेको प्रश्नमा पाण्डेय भन्छन्, ‘यो आधार पेस गर्दा त्यो विश्वसनीय हुनैपर्छ । राष्ट्रपतिज्यूको निर्णय के हो भने यो आधार नै होइन । संविधानको पालना र रक्षा गर्नेले गैरकानुनी कामलाई इन्करेज र डिस्करेज गर्ने हो । त्यसैले राष्ट्रपतिज्यूले त्यो काम रोक्नुभो । प्रधानमन्त्री कसलाई बनाउने भनेर आधार खोज्ने अधिकार राष्ट्रपतिलाई  छ ।’

भारतको उदाहरण दिँदै पाण्डेयले  भने, ‘पटक–पटक विघटनले स्थिर सरकार दिन्छ । स्थिर संसदभन्दा स्थिर सरकारले विकास हुन्छ । स्थिर सरकार कि संसद् भन्दा  हामीले सरकार नै  चुज गर्नुपर्ने हुन्छ ।’

सुझावित समाचार