इराकसँग अपेक्षित नतिजा

सोमबार, १७ जेठ, २०७८
डिजिटल संस्करण

इराकको बसार रंगशालामा ३०औँ मिनेटसम्मको प्रदर्शन र गोलअन्तर हेर्दा नेपाली राष्ट्रिय फुटबल टोलीले अप्रत्याशित नतिजा निकाल्ने हिम्मत गरेको थियो । इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालका युवा खेलाडीले पहिलो हाफमा अविस्मरणीय कला देखाएका थिए । एसियाकै शक्तिशाली फुटबल राष्ट्र इराकविरुद्ध नेपालले पहिलोपटक अग्रता पनि लियो । यद्यपि पछि घरेलु टोली इराक नै विजयी भयो । 

एक आत्मघाती उपहार तथा डेब्यु खेलाडी मनीष डाँगीको चलाखीपूर्ण गोलमा नेपालले इराकविरुद्ध २९औँ मिनेटमा २–१ ले अग्रता लिएको थियो । इराकविरुद्धको हालसम्मको चार अन्तर्राष्ट्रिय खेलमा नेपालको यो पहिलो अग्रतासमेत हो । नेपालका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको फुटबलको आक्रामक रणनीतिले काम गरिरहेको थियो । फिफा वरीयतामा आफूभन्दा एक सय तीन स्थान माथि रहेको इराकलाईसमेत नेपालले यसपटक चुनौती दिन सफल भयो । खेलको ३८औँ मिनेटसम्म नेपालको रणनीति चुस्त थियो ।

खेलको ३९औँ मिनेटको कर्नर प्रहारमा मोहम्मद अब्दुलजारा ओबेदले इराकलाई २–२ को बराबरी हेडिङ गोल फर्काए । डिबक्सभित्र उनी अनमार्कमै थिए । अनमार्कको उनले फाइदा लिए । अब्दुलजाराको हेडिङ गोलसँगै नेपालको हकमा भनेजस्तो भएन । 

यसपछि नेपाली डिफेन्डरले गल्ती गर्दै गए । डिफेन्स र मिडफिल्डबीच तालमेल मिलेको देखिएन । डिफेन्सका खेलाडीले इराकका खेलाडीलाई खासै मार्किङ गर्न सकेनन् । इराकका स्ट्राइकरहरूले सहजै नेपालको डिफेन्स तोडिरहेका थिए । यतिसम्म कि पछाडि हेर्दै नहेरी पनि नेपाली खेलाडीले इराकी स्ट्राइकरलाई नै ब्याक पास दिए । नेपाली डिफेन्डरको ब्याक पास गल्तीमा इराकले फाइदा लियो ।

डिफेन्स र मध्यपंक्तिका खेलाडीको कमजोर प्रदर्शनमा नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ दोस्रो हाफमा निकै व्यस्त भए । किरणकै केही उत्कृष्ट बचाउका कारण इराकले आफ्नो जितमा ६ गोलभन्दा माथि पु¥याउन सकेन । नेपालले यसअघि इराकसँग तीनपटक खेलेको थियो । सन् १९८२ मा एसियाली खेलकुदमा नेपाल इराकसँग ३–० ले हारेको थियो । विश्वकप छनोटअन्तर्गत सन् २००१ मा नेपाल इराकसँग पहिलो लेगमा ९–१ र दोस्रो लेगमा ४–२ ले पराजित भयो । दुई दशकअघिको विश्वकप छनोटमा नेपालका लागि निराजन रायमाझी र हरि खड्काले इराकविरुद्ध गोल गरेका थिए । 

प्रशिक्षकले नै लिए हारको जिम्मेवारी 
इराकसँग आधा दर्जन गोलले पराजित भएपछि नेपालका प्रशिक्षक अलमुताइरीले सबै जिम्मेवारी स्वयंले लिएका छन् । खेलअघि नै जस्तो नतिजा आए पनि यसको जिम्मेवारी आफैँले लिने घोषणा गरेका थिए । ‘यो हारको दोष म लिन्छु,’ उनले भने । सबै खेलाडी युवा भएकाले उनीहरूलाई सिक्न समय लाग्ने प्रशिक्षक अलमुताइरीले बताए । ‘सबै युवा खेलाडी छन्, उनीहरूलाई धैर्यता र समय चाहिन्छ,’ प्रशिक्षक अलमुताइरी भन्छन्, ‘हामीले दुई गोल गरेका थियौँ । यो इराकविरुद्ध ३–१ को नजिक भन्नुपर्छ ।’

खेलमा एक गल्तीमा नतिजा नै फरक हुन सक्ने उनले औँल्याएका छन् । ‘फुटबल हो एक बल गुमाउँदा सबै परिवर्तन हुन्छ, आजको खेलमा यस्तै भयो, एकपछि अर्को गल्तीमा हामी पराजित भयौँ,’ उनले भने । एकैपटक उत्कृष्ट नतिजा आउन नसक्ने र त्यो प्राप्तिका लागि प्रतीक्षा गर्नुपर्ने उनको भनाइ छ । 

खुसीसँगै दुःखी छु : मनीष
प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिग फुटबल प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २० वर्षीय मनीष डाँगीलाई एकैपटक प्रशिक्षणमा बोलाएका थिए । मनीषसँग घरेलु फुटबल प्रतियोगिताको खासै अनुभव छैन । सुपर लिगमा उनले विराटनगर सिटीबाट प्रतिस्पर्धा गरेका थिए । अलमुताइरीलाई प्रभावित बनाएका मनीषले राष्ट्रिय टोलीबाट छिट्टै डेब्यु हुन्छ भनी विश्वासै गरेका थिएनन् । ए डिभिजन लिगसमेत नखेलेका मनीषले शनिबार पहिलो अन्तर्राष्ट्रिय डेब्यु खेलमै इराकविरुद्ध सनसनीपूर्ण गोल गरे । 

मिडफिल्डबाट संतोष तामाङले उपलब्ध गराएको बलमा मनीषले डिबक्सभन्दा २५ यार्डअगाडिबाटै उत्कृष्ट गोल गरे । इराकी गोलरक्षक स्थानभन्दा बाहिर आएको फाइदा उठाउँदै मनीषले हल्का फिल्क गरी गोल गरेका हुन् । मनीषले पहिलो अन्तर्राष्ट्रिय खेलमै धेरै पक्ष सिक्न पाएको बताएका छन् । ‘ टेक्निकल्ली खेलाडीले राम्रो खेले,’ मनीषले भने, ‘तर नतिजा राम्रो आएन, यसैमा अलि दुःखी छु ।’ डेब्यु खेलमै गोल गर्न सकेकोमा असाध्यै खुसी लागेको पनि बताए । प्रशिक्षक अलमुताइरीले बन्द प्रशिक्षणका लागि बोलाइएको ३२ सदस्यीय सूचीमा मनीष समावेश थिए । 
 

See More On

सुझावित समाचार