राष्ट्रिय सभा उपनिर्वाचन : लुम्बिनीका मतदाता नामावली स्वीकृत, मतदान केन्द्र निर्धारण

बुधबार, २९ बैशाख, २०७८
डिजिटल संस्करण

आगामी १७ जेठमा हुने लुम्बिनी प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली स्वीकृत गरी मतदान केन्द्रसमेत निर्धारण गरेको छ । आयोगले बुधबार प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २१७ गरी २९६ मतदाता नामावली स्वीकृत गरेको हो । 

लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्य गरी जम्मा ३०५ जना मतदाता रहेकोमा हाल विभिन्न कारणले प्रदेश सभा सदस्य ८ र स्थानीय तहका सदस्य १ गरी जम्मा ९ स्थान रिक्त छ । 

निर्वाचनका लागि दाङको घोराही उपमहानगरपालिका १५ स्थित कर्मचारी मिलन केन्द्रमा मतदानस्थल तोकिएको छ । मतदानस्थलमा प्रदेश सभा सदस्यका लागि केन्द्र 
(क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुखको लागि केन्द्र (ख) गरी २  (दुई) वटा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । 

आयोगले बुधबार नै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्युटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । अभिमुखीकरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको विषम परिस्थितिमा स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिहरू सञ्चालन गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका छन् । कार्यक्रममा आयोगका आयुक्तहरू, सचिवलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो । 
 

सुझावित समाचार