नयाँ भेरियन्टको संक्रमण दर उच्च छ, मृत्युदर भने उस्तै हो

आइतबार, १८ बैशाख, २०७८
डिजिटल संस्करण

डा. जनक कोइराला,
कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका विज्ञ

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट एमबिबिएस तथा युनिभर्सिटी अफ इलिनोई, सिकागोमा जनस्वास्थ्य र इन्टरनल मेडिसिनमा स्नातकोत्तर तथा संक्रामक रोगमा सुपर स्पेसलाइजेसन गरी सदर्न इलिनोई विश्वविद्यालयमा दुई दशक प्राध्यापन र एक दशक विभागीय प्रमुखका रूपमा काम गरी नेपाल फर्केका डा. जनक कोइराला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)मा विज्ञका रूपमा क्रियाशील छन् । साथै, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा परामर्शदाताका रूपमा कार्यरत छन् । मुलुकमा देखिएको कोभिड–१९ को दोस्रो लहरमा केन्द्रित रही नयाँ पत्रिकाका सुजित महतले डा. कोइरालासँग गरेको कुराकानी :

हामी त कोरोना भाइरसमाथि विजय प्राप्त गरिसकेको भ्रममा थियौँ । भारतमा र अहिले नेपालमा पनि यसको दोस्रो लहर आयो, जुन पहिलोभन्दा खतरनाक देखिँदै छ । विज्ञहरूका लागि यो दोस्रो लहर अपेक्षित थियो त ?

दोस्रो लहर आउँछ भन्नेमा त खासै शंका थिएन । लकडाउन थिएन, भीडभाड पनि सुरु भइसकेको थियो । भीडभाडका बाबजुद कोभिड–१९ संक्रमितको संख्या नबढेपछि नागरिकमा ‘हामीले कोरोनालाई जित्यौँ’ भन्ने भाव आएको थियो । मत्थर भएपछि हामी मात्र होइन, विश्वका अरू देशमा पनि अब सधैँकै लागि महामारी मत्थर भयो भन्ने परेको थियो । महामारीको दोस्रो, तेस्रो लहरका बारेमा सर्वसाधारणको चासो नहुनु अस्वाभाविक पनि होइन । हामीकहाँ सुरक्षा सावधानीलाई सबैभन्दा बेवास्ता गरिएको दसैँ–तिहारपछि दोस्रो लहर आउने पूर्वानुमान गरिएको थियो । अन्यत्र पनि जाडोयाममै अर्को लहर आउने पूर्वानुमान थियो । नभन्दै इंग्ल्यान्ड, अमेरिकामा आयो अनि नियन्त्रण पनि भयो । हाम्रोमा चाहिँ अचम्मसँग त्यही वेला मत्थर भयो । हामीकहाँ पहिलो लहर पनि ढिलो गरी आएको हो । मे महिनामा पहिलो केस पहिचान भएपछि एकैचोटि जुलाई–अगस्टदेखि ह्वात्तै बढ्न थालेको हो । भारतमा पनि त्यस बखत जनसंख्याको अनुपातमा कोरोनाको असर कमै देखिएको हो । यसैले हामी दक्षिण एसियालीमै रोगप्रतिरोधी क्षमता बढी रहेको निष्कर्षमा आमजनमानस पुगे । सन् १९१८ को इन्फ्लुएन्जा (स्पेनिस फ्लु) पनि तेस्रो लहरपछि बल्ल मत्थर भएको थियो । नागरिकको ठूलो हिस्सामा रोगप्रतिरोधी क्षमता विकास नभएसम्म महामारी आइरहन्छ । अर्को कुरा, कोरोना भाइरसको ‘म्युटेसन’ (रूपान्तरण) हुन्छ भन्ने पोहोर जनवरीमै देखिइसकेको थियो । भाइरस ‘म्युटेसन’ भएपछि अझ तीव्र वेगमा फैलिन सक्छ । म्युटेसन भएको भाइरसमाथि भ्याक्सिनको प्रभावकारिता नहुने हो कि आदि विषयमा विज्ञहरूबीच विमर्श भइरहेको थियो । तैपनि, फेरि पनि म्युटेन्ट भाइरसले झन् कहर ल्याउँछ नै भन्ने ठोकुवा गर्न सकिँदैन । सन् २००३–००४ मा पहिलो सार्समा त्यस्तै भयो । सुरुमा ८–१० देशलाई यसले निकै प्रभावित पा¥यो, तर स्वाट्टै हरायो । दोस्रो, तेस्रो लहर आउँदै आएन । सायद भाइरस नै कमजोर थियो, एक वर्षभित्र बिलायो । कोरोना बलियो छ, यो हराएर जाने सम्भावना हालसम्म त देखिँदैन । यसैले दोस्रो लहर त अवश्यम्भावी थियो । 

यो भाइरससँगको युद्ध हो । भाइरसको ब्रेन छैन, हामीसित ब्रेन छ । त्यसैको मद्दतले युद्ध जित्ने हो । युद्धमा जस्तै सबै मिलेर लड्नुपर्छ । युद्धमा सेनाले बचाइहाल्छ भनेर गैरसैनिकले जे पनि गर्न थाले के हुन्छ ? गैरसैनिकले पनि सुरक्षा सावधानी अपनाउने, दुस्मनविरुद्ध सक्रिय हुने गरे युद्ध जित्न सजिलो हुन्छ ।

दोस्रो लहरमा भारतमा जे–जस्तो अवस्था देखिँदै छ, नेपालमै पनि पहिलोभन्दा विकराल अवस्था देखिइसक्यो । पहिलो लहरको भाइरस र अहिलेकोमा के फरक छ ? के यो बढी घातक हो ?

यो युके भेरियन्ट हो । भारतमा आइपुग्दा डबल म्युटेसन भएको पनि भनिएको छ, यकिन भएको छैन । सिंगल म्युटेसनमा एउटा प्रोटिन अल्टर भएको हुन्छ, डबलमा दुइटा प्रोटिन अल्टर हुन्छ । स्पाइक प्रोटिन भनिन्छ । मान्छेको शरीरमा प्रवेश गर्ने र बिरामी बनाउने त्यही स्पाइक प्रोटिनले गर्दा हो । भ्याक्सिनमा हुने प्रोटिन पनि त्यही स्पाइक प्रोटिन हो । भाइरसमा बदलाव (म्युटेसन) हुँदा छिटो फैलिने सम्भावना हुन्छ । जस्तो– हिजोको भाइरस एकजनाबाट परिवारकै अर्को एकजना सदस्यमा सर्ने सम्भावना हुन्थ्यो भने अहिले एकजनाबाट परिवारका सबैलाई सर्ने सम्भावना बढी छ । हिजोको भाइरस अर्कोमा संक्रमण हुन एक साता लाग्थ्यो भने अहिलेको एकदमै चाँडै । पहिले वृद्धवृद्धा, रोगप्रतिरोधी क्षमता कमजोर भएका दीर्घरोगीलाई हुन्थ्यो, हाम्रो परिवेशमा पनि त्यही देखिएको थियो । अहिलेको भाइरसले इंग्ल्यान्डमै युवालाई बढी प्रभावित पा¥यो । यहाँ पनि २०–४० उमेरसमूहमा बढी देखिन्छ । ५० नाघेकामा कम देखिन्छ । 

यसको कारणचाहिँ पहिलेको भाइरसबाट संक्रमित हुँदा युवा, रोगप्रतिरोधी क्षमता बलियो भएकामा लक्षण नै देखिँदैनथ्यो । यसैले परीक्षण नै नभई ती रेकर्डमा आउँदैनथे । अहिलेको भाइरसले संक्रमणमा रोगप्रतिरोधी क्षमता बलियो भए पनि लक्षण देखिइहाल्छ । अस्पताल पनि कुदाइहाल्नुपर्ने अवस्था बन्छ । दक्षिण अफ्रिकी भेरियन्ट सबैभन्दा घातक छ, जुन यहाँ फैलिएको छैन । अमेरिकामा पछिल्लो समय फैलिएको ब्राजिलियन भेरियन्ट हो । तिनमा भ्याक्सिन प्रतिरोधी क्षमता बढी छ । एउटा भाइरसले रजाइँ गरिरहेको ठाउँमा अर्को भाइरस फैलिहाल्दैन । भारत र नेपालमा युके भेरियन्टको रजाइँ भएकाले ब्राजिली र दक्षिण अफ्रिकी भेरियन्ट आइहाल्दैन वा एकदमै कम फैलिने सम्भावना हुन्छ । हामी वा अरू जनावरमा अंग विकास हुने एउटा पूर्ण मेकानिजम हुन्छ । एउटा सेलबाट सुरु भई मल्टिप्लाई हुँदै फोक्सो, छाला, दिमाग, कलेजो आदि अंग ठ्याक्कै बन्छ । शरीरको पूर्ण संरचना तयार हुन्छ । तर, भाइरसको शरीरमा त्यो पूर्ण मेकानिजम हुँदैन । मल्टिप्लाई गर्दै जाँदा प्रोटिनहरू लाइन लगाउने हो । प्रोटिन यताउता भएपछि प्रिन्टिङ गर्दा एरर भएर शब्दको अर्कै अर्थ लाग्ने वा अर्थै नलाग्ने हुन्छ नि, त्यस्तै भाइरसको प्रभावमा पनि फरक पर्छ । युके भेरियन्ट प्रोटिनमा परिवर्तन भएको हुँदा मान्छेको सेलमा छिटै पस्न सक्ने, छिटो फैलिने भयो । 

भाइरसमा म्युटेसन हुँदा भ्याक्सिनको प्रभावकारिता नहुने हो कि भन्ने डर पनि थियो, तर भ्याक्सिनले काम गरेको छ । ‘कोभिसिल्ड’ले अहिलेको भाइरसबाट जोगाउँछ । भारतमा भनिएको डबल म्युटेसनमा भ्याक्सिनको प्रभावकारिता प्रमाणित भइसकेको छैन, अध्ययन जारी छ । ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको भाइरसमा भने ‘कोभिसिल्ड’ले काम नगर्ने प्रमाणित भइसकेको छ ।

पहिलो लहरमा हामीकहाँ र भारतमा खासै भौतिक क्षति भएन, अहिले किन हताहती बढिरहेको छ ?

भाइरस बढी घातक भएर होइन । मृत्युदर त अझ घटेको छ, विश्वव्यापी रूपमा । बढ्ता मान्छे मरेकोचाहिँ बढी पैmलिएर हो । पहिले एक महिनामा एक सय थपिन्थे भने अहिले दुई हजार थपिन्छन् । संक्रमित हुनेको संख्या बढेपछि मर्नेको संख्या पनि बढेको हो । भारतमा बिरामी ह्वात्तै बढेपछि स्वास्थ्य प्रणालीले काम गर्न सकेन । अक्सिजनसमेत दिन नसकिने अवस्था आयो । मान्छेले डराएर घरघरै अक्सिजन भरिएका सिलिन्डर राख्न थाले । बजारमा सिलिन्डर नभएपछि अक्सिजनको वितरण प्रभावित भयो । ‘रेम्डेसिभिर’ त्यही भयो । भोलि संक्रमित भइहालियो भने काम लाग्छ भनेर ‘रेम्डेसिभिर’ किनेर राख्न थाले । नत्र उपचारमा त पोहोरभन्दा यसपालि स्वास्थ्यकर्मी झन् दक्ष भइसके नि । मृत्युदर ४–५ प्रतिशतबाट १ प्रतिशतभन्दा कममा झरेको छ । उपचार पाए संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था एकदमै न्यून छ । स्टेरोइड र अक्सिजन मात्र भए बिरामी बचाउन सकिन्छ । त्यस्तै अवस्था नआओस् भनेर निषेधाज्ञा लगाइएको हो । सुरुमा स्वास्थ्य मन्त्रालयले भीडभाड नगर्नुस्, मास्क लाउनुस् भनेर सचेत गराउन खोज्यो । तर, पूर्वराजा नै कुम्भको भीडमा गएर कोभिड–१९ संक्रमित भई फर्किने देशमा नागरिकबाट कति नै अपेक्षा गर्ने ? स्वास्थ्य प्रणाली भारतमै जस्तो क्र्यास नहोस् भनेर निषेधाज्ञा लगाउनुपरेको हो । बिस्तारै फैलियो भने अस्पतालले उपचार गर्न भ्याउँछ, उपचार पाएपछि बिरामीको मृत्यु हुने सम्भावना न्यून हुन्छ । 

बडे–बडे विकसित देशका स्वास्थ्य प्रणाली महामारीले भत्काइदियो, महामारीमा यस्तै हो ? चीनले चाहिँ कसरी व्यवस्थापन ग¥यो ?

अमेरिकामा डोनाल्ड ट्रम्पले हल्का लिइदिँदा स्वास्थ्य प्रणाली क्र्यास भएको हो । व्यापार–व्यवसायलाई प्राथमिकता दिइयो । अर्थतन्त्र सबैभन्दा माथि भनियो । मरे पनि गरिब–अश्वेत मर्छन् भन्नेमा ट्रम्प पुगे । इंग्ल्यान्डमा बोरिस जोन्सन सुरुतिरै संक्रमित भएकाले विज्ञको सुझाबअनुसार चले । विश्वकै उत्कृष्ट विज्ञको कुरा नसुनी ट्रम्पले लहड देखाए । ब्राजिल नियन्त्रणबाहिर जानुमा पनि सामथ्र्यभन्दा पनि हेलचेक्र्याइँ हो । नरेन्द्र मोदीले पनि पर्याप्त गम्भीरता देखाएनन् । अस्ति भर्खरसम्म पश्चिम बंगालमा विशाल चुनावी ¥याली गर्दै थिए । कम्युनिस्ट प्रणालीको चीनमा नागरिक अनुशासनमा बाँधिनैपर्छ । यसैले मास्क र भौतिक दूरीको परिपालना भयो । हामीकहाँ पनि पुलिसले चौबाटोमा उभ्याउन थालेपछि बल्ल घरबाहिर यसै ननिस्कने, मास्क लाउने नियम पालन हुने गर्छ । चीनले कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकता दियो, जसले फैलिन दिएन । भ्याक्सिनमा पनि चीन अघि नै रह्यो । अर्को कुरा, चीनमा कति–कस्ता तथ्यांक बाहिर ल्याउने भन्ने त सरकारको हातमा छ । त्यसैले वास्तविक चित्र सार्वजनिक नहुन पनि सक्छ । सानो जनसंख्या भएका भुटान, ताइवानले पनि अनुशासनमा बाँधेर स्थिति नियन्त्रणबाहिर जान दिएनन् । 

ट्रम्प हुन् वा बोल्सोनारो, मोदी हुन् वा केपी ओली, दक्षिणपन्थी विचारधाराका शासकले कोभिड–१९ को महामारीलाई गम्भीरतापूर्वक लिएनन् । दक्षिणपन्थी विचारधाराका शासक नै किन ?

यसमा कुनै विचारधाराको प्रभाव हो जस्तो लाग्दैन । ज्ञानको कमीले गर्दा हो । वैज्ञानिक अनुसन्धानमा विश्वास नगर्ने, आफूले पढेको, विश्वास गरेको ज्ञानलाई मात्र अन्तिम सत्य ठान्ने प्रवृत्ति हो । सिसिएमसी र स्वास्थ्य मन्त्रालयको किताब विमोचनमै एलोप्याथीभन्दा नेचुरोप्याथीमा लाग्नुपर्छ भनेको सुन्न प¥यो । बेसार खानुपर्छ भनेर चिकित्सकलाई पढाएर पठाइदिने काम नभएको होइन । यी सब वैज्ञानिक प्रमाण नभएका व्यक्तिका निजी विश्वास हुन् । बेसारको अनुसन्धान नभएको होइन, तर त्यसको प्रभावकारिताबारे कतै पनि पुष्टि भएको छैन । निजी विश्वासलाई महŒव दिने भएपछि नागरिकले दुःख पाउँछन् । मुलुक गलत दिशातिर जान्छ ।

राष्ट्रको नेतृत्व गर्ने नै वैज्ञानिक प्रमाणभन्दा निजी विश्वासमा लाग्ने भएपछि उच्चस्तरीय निर्णयहरूमा त्यसको के–कस्तो प्रभाव पर्दोरहेछ ?

विज्ञसहित धेरैको राय सुनेर निर्णय गर्दा ‘प्राग्मेटिक’ (व्यावहारिक) हुन्छ । सबै कुरामा वैज्ञानिक प्रमाण नहुन सक्छ, यस्तोमा इतिहास हेर्ने हो । निजी आस्था–विश्वासमा गरिने निर्णय ‘डग्मेटिक’ (जडसूत्रवादी) हुन्छ । नेतृत्वले अरूको कुरै नसुनी निजी विश्वासका आधारमा निजी काम गर्दा त्यसले राष्ट्रलाई नै घाटा पुग्छ । त्यसैले मुलुकको विषयमा निर्णय गर्दा निजी विश्वासका आधारमा गरिनु हुँदैन । विज्ञानले धेरै चमत्कार गरिसकेको छ, त्यसैले विज्ञानको आधारमा निर्णय हुनुपर्छ, निजी विश्वासका आधारमा होइन । हाम्रो सन्दर्भमा स्वास्थ्य मन्त्रालय र सिसिएमसी नै हो । मन्त्रालय ‘प्राग्मेटिक’ छ । सुझाब पनि लिने गर्छ । त्यहाँबाट मन्त्रिपरिषद्मा गएपछि चाहिँ गलत निर्णय त भन्दिनँ, विलम्ब भएको छ । अहिलेकै निषेधाज्ञा दुई हप्ता ढिलो भयो । समयमै गर्दिएको भए नेपालगन्जकै क्षति रोक्न सक्थ्यौँ कि । काठमाडौंमा फैलिएपछि मात्र निर्णय गरियो । शिक्षा मन्त्रालयले अघि नै स्कुल बन्द गर्दिनुपथ्र्यो । निजी स्कुलहरूको दबाबमा ढिलो गरे, निजी स्कुलले शुल्क उठाउन गाह्रो परेका कारण खोल्नका लागि दबाब दिएको सबैले बुझेकै छन् । हामीलाई पनि थाहा छ नि, बालबालिकाको पढाइ पोहोरदेखि प्रभावित छ, सकेसम्म पढ्ने वातावरण बनाइदिनुपर्छ । तर, ज्यानभन्दा ठूलो त फेरि केही पनि होइन । अन्ततः सही निर्णय भएको हो । 

बेसार खानुपर्छ भनेर चिकित्सकलाई पढाएर पठाइदिने काम नभएको होइन । यी सब वैज्ञानिक प्रमाण नभएका व्यक्तिका निजी विश्वास हुन् । बेसारको अनुसन्धान नभएको होइन, तर त्यसको प्रभावकारिताबारे कतै पनि पुष्टि भएको छैन । निजी विश्वासलाई महत्व दिने भएपछि नागरिकले दुःख पाउँछन् । मुलुक गलत दिशातिर जान्छ ।

भ्याक्सिनको प्रभावकारिता कस्तो छ ? नेपाल होस् वा भारत, भ्याक्सिन सुरु गर्दा नागरिकमा भ्याक्सिन लाउने अपेक्षित उत्साह देखिएन, दोस्रो लहरले गाँजेपछि बल्ल उत्साह देखिन्छ । भ्याक्सिनको दोस्रो डोज लिइसकेका पनि लक्षणसहित संक्रमित भएको खबर सुनिदै छ, यस्तो किन ? 

महामारी मत्थर भई ‘हामीले कोरोनामाथि विजय प्राप्त गरिसक्यौँ’ भन्ने भाव आएको वेला भ्याक्सिन उपलब्ध भएको हुँदा अपेक्षित उत्साह नदेखिएको हुन सक्छ । भ्याक्सिनमा पनि भाइरस नै हुन्छ, थाहा पाउनेहरू कोरोनाभन्दा भ्याक्सिनको भाइरसले डराएका हुन सक्छन् । भ्याक्सिनको एफिकेसीमा फाइजर र मोडेर्ना नै अब्बल देखिए, ९५ प्रतिशत एफिकेसी प्रमाणित भएको छ । ९५ प्रतिशत एफिकेसीको मतलब सयजनालाई लाउँदा ९५ लाई कोभिड नै लाग्दैन । लाग्ने पाँचजना पनि गम्भीर बिरामी हुँदैनन्, मर्ने त करिब जिरो नै हुन्छ । ‘कोभिसिल्ड’को ७० प्रतिशत एफिकेसी देखिएको छ, अमेरिकामा ८० प्रतिशतसम्म देखियो । ३० प्रतिशतलाई त हुने भयो, तैपनि गम्भीर बिरामी हुनबाट जोगाउँछ । पहिलो डोजले पर्याप्त रोगप्रतिरोधी क्षमता विकास गरेको हुँदैन । दोस्रो डोजको पनि दुई हप्तापछि बल्ल खोपले पूरा काम गर्ने हो । स्पष्ट कुरा के हो भने खोपमार्फत भाइरस नै दिने हो । यसैले त्यो भाइरसले हल्का ज्वरो आउने, जिउ दुख्ने भएको हो । खोपको लक्ष्य रोग लाग्नै नदिने होइन, मर्नबाट जोगाउने हो । संक्रमित भए पनि ज्यान नजाला ।

फाइजर र मोडेर्नामा अत्याधुनिक प्रविधि प्रयोग भएको छ, यसमा भाइरसको जिनलाई निकालेर भ्याक्सिन बनाइन्छ । यो भ्याक्सिन मासंपेशीमा दिएपछि स्पाइक प्रोटिन बनेर एन्टिबडी तयार हुन्छ । त्यसैले प्रभावकारितामा यो अब्बल देखिएको हो । 

‘कोभिसिल्ड’ अलि पुरानो प्रविधिमा उत्पादन भएको हो । भाइरसमा म्युटेसन हुँदा भ्याक्सिनको प्रभावकारिता नहुने हो कि भन्ने डर पनि थियो, तर भ्याक्सिनले काम गरेको छ । हामीकहाँ सुरुमा भित्रिएको ‘कोभिसिल्ड’ले अहिलेको भाइरसबाट जोगाउँछ । भारतमा भनिएको डबल म्युटेसनमा भ्याक्सिनको प्रभावकारिता प्रमाणित भइसकेको छैन, अध्ययन जारी छ । ब्राजिल र दक्षिण अफ्रिकामा देखिएको भाइरसमा भने ‘कोभिसिल्ड’ले काम नगर्ने प्रमाणित भइसकेको छ । त्यो नेपालमा आएको छैन । यहाँ भएको युके भेरियन्ट नै हो ।

मन्त्रालय ‘प्राग्मेटिक’ छ, सुझाब पनि लिने गर्छ । त्यहाँबाट मन्त्रिपरिषद्मा गएपछि चाहिँ गलत निर्णय त भन्दिनँ, विलम्ब भएको छ । अहिलेकै निषेधाज्ञा दुई हप्ता ढिलो भयो । समयमै गर्दिएको भए नेपालगन्जकै क्षति रोक्न सक्थ्यौँ कि ! काठमाडौंमा फैलिएपछि मात्र निर्णय गरियो ।

सन् १९१८ को स्पेनिस फ्लुले भारतमा ठूलो हताहती भयो, नेपालमा चाहिँ खासै भौतिक क्षति भएको देखिँदैन, किन होला ?

नेपालमा यातायात सञ्जालमा नजोडिएका कारण हुनुपर्छ । जति आवतजावत भयो, उति महामारी फैलिने हो । हवाईजहाज वा सडक सञ्जाल नभएको समयमा पनि प्लेग महामारीको रूपमा आउँथ्यो । किनकि, जल यातायात प्रचलित थियो । पानीजहाजमै मुसामार्फत मान्छेमा सथ्र्यो । स्पेनिस फ्लु न्युयोर्क, लन्डन, पेरिस र बम्बईमा एकैचोटिजसो फैलिएको थियो । कारण, पानीजहाजमार्फत मान्छेको ओहोरदोहोर । नेपालमा पनि त्यसबखत अलि–अलि भयो होला, तर रोग पहिचान नै भएन होला । केही मान्छे त मरे होलान् नि । तैपनि, भारतको तुलनामा एकदमै कम हताहती भएको हुनुपर्छ । यसको कारणचाहिँ भारत त्यतिवेलै रेल सञ्जालमा जोडिइसकेको थियो । 

आगामी दिन कस्ता होलान् ? भारतकै जस्तो अवस्था आउला कि ?

अहिलेको उभार तत्काल मत्थर हुँदैन । दुई दिनदेखि दुई हप्ताको समय इन्कुवेसनको हुन्छ, औसतमा एक हप्ता । अर्थात्, एक्सपोज भएपछि संक्रमित हुन औसत एक साताको समय लाग्छ । निषेधाज्ञाको नतिजाका लागि यो सकिएको अर्को दुई हप्ता कुर्नुपर्छ । अहिले स्वास्थ्य मन्त्रालयमा बुझ्दा अस्पतालमा बेड उपलब्ध छ भनेको सुन्छु, आवश्यक पर्दा अस्पतालमा फोन घुमायो, बेड छैन भनिन्छ । मन्त्रालयले तथ्यांक तोडमोड ग¥यो कि अस्पतालहरू बिरामी भर्ना गर्न अनिच्छुक हुन्, बुझ्न सकेको छैन । दिनको १०–१५ हजार संक्रमित देखिन थाले भारतकै जस्तै दृश्य दोहोरिन सक्छ । अस्पतालले अत्यावश्यकबाहेक अरू सेवा तत्कालका लागि बन्द गरी कोभिड बेड बढाउन प¥यो । यसबाहेक अक्सिजनसहितको बेड भएको सेन्टर स्थापना गर्नुपर्छ । म सक्रिय रहेको अमेरिका–नेपाल फाउन्डेसनले गोंगबुमा राधास्वामी भवनमा दुई सय बेडको आइसोलेसन सञ्चालन गर्ने तयारी गरेको छ, जसमा अक्सिजन, औषधिसहित स्वास्थ्यकर्मी परिचालित हुन्छन् । यो महामारीमा अक्सिजन र स्टेरोइडसहित स्वास्थ्यकर्मी परिचालन गर्न सके धेरै बिरामीलाई अस्पताल नपठाई बचाउन सकिन्छ । 

कोरोना भाइरस अर्को एउटा फ्लु भयो, एन्फ्लुएन्जाजस्तै । एन्फ्लुएन्जा जाडोमा हुन्छ । कोरोना बिलाउने होइन कि रहिरहने देखिन्छ । बिस्तारै रोगप्रतिरोधी क्षमता विकास हुन्छ । अमेरिकाले ३० करोडमध्ये १० करोड जनतालाई खोप लगाइसक्यो । हामीले पनि सबैलाई खोप लगाउनुपर्छ । दीर्घरोगीलाई प्राथमिकता दिएर मृत्युदर घटाउनुपर्छ । यो भाइरससँगको युद्ध हो । भाइरसको ब्रेन छैन, हामीसित ब्रेन छ । त्यसैको मद्दतले युद्ध जित्ने हो । युद्धमा जस्तै सबै मिलेर लड्नुपर्छ । युद्धमा सेनाले बचाइहाल्छ भनेर गैरसैनिकले जे पनि गर्न थाले के हुन्छ ? गैरसैनिकले पनि सुरक्षा सावधानी अपनाउने, दुस्मनविरुद्ध सक्रिय हुने गरे युद्ध जित्न सजिलो हुन्छ । 

सुझावित समाचार