ललितपुर सिटी एफसी अझै जितविहीन, तालिकाको पुछारमा

शुक्रबार, १७ बैशाख, २०७८
डिजिटल संस्करण
ललितपुर सिटी एफसी अझै जितविहीन, तालिकाको पुछारमा

ललितपुर सिटी एफसीविरुद्व गोलको खुसी मनाउँदै धनगढी एफसीका खेलाडी ।

आजको खेल

काठमाडौं रेजर्सविरुद्ध पोखरा थन्डर्स
समय : ५:३० बजे (दशरथ रंगशाला)

सुरुवाती तीनमध्ये पहिलो खेलमा पराजय र त्यसपछि लगातार बराबरीको नतिजा व्यहोरेको ललितपुरलाई उपाधि होडमा मुस्किल देखिएको छ

ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल)मा लगातार दोस्रो बराबरीको नतिजा व्यहोरेको छ । बिहीबार भएको खेलमा धनगढी एफसीसँग ललितपुर १–१ गोलको बराबरीमा रोकिएको हो । 

यससँगै भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरका लागि उपाधि यात्रा मुस्किल बन्दै गएको छ । प्रतियोगितामा तेस्रो खेल खेलिसक्दा ललितपुर अझै जितविहीन छ । ललितपुर यसअघि एफसी चितवनसँग पनि १–१ गोलकै बराबरीमा रोकिएको थियो । त्यसअघि ललितपुर प्रतियोगिताको उद्घाटन खेलमा उपत्यकाको अर्काे टोली काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो ।

लिग चरणको ६ मध्ये तीन खेल खेलिसक्दा ललितपुर प्रतियोगिताको अंकतालिकामा पुछारमा छ । आगामी खेलमा जितको नतिजा भेट्टाउन नसके ललितपुरलाई प्लेअफमा समेत स्थान सुरक्षित गर्न मुस्किल हुनेछ । 

सात टोली सहभागी रहेको प्रतियोगिताको तेस्रो र चौथो स्थानमा रहेको दुई टोलीले प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् । यो खेलको विजेता टोलीले दोस्रो स्थानको टोलीसँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्दै फाइनल यात्रा तय गर्नेछ । फाइनलमा उसको प्रतिद्वन्द्वी लिग चरणमा शीर्ष स्थानमा रहेको टोलीसँग हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीविरुद्ध निरन्तर उत्कृष्ट प्रदर्शन गरेर पनि ललितपुरले तीन अंक सुरक्षित गर्न सकेन । ललितपुरले नियमित रूपमा धनगढीको पोस्टमा आक्रमण गर्यो । खेलमा अग्रता भने धनगढीले लियो ।

विशाल राईले प्रहार गरेको कर्नर बललाई ललितपुरका गोलरक्षक अर्पण कार्कीले पन्च गर्दै क्लियर गर्ने प्रयास गरेका थिए । यद्यपि, त्यही बललाई नियन्त्रणमा लिएर धनगढीका रक्षक अशोक खवासले प्रहार गरेका थिए । अशोकको प्रहार ललितपुरका कप्तान अञ्जन विष्टलाई लागेर डिफ्लेक्ट हुँदै कसैको पनि निगरानीमा नरहेका ओलाडिपो ओलावाले अफिजतर्फ पुगेको थियो । त्यसमै सहज हेडिङ गोल गर्दै अफिजले खेलको ७२औं मिनेटमा धनगढीलाई १–० ले अघि बढाएका थिए।

धनगढीविरुद्ध निरन्तर उत्कृष्ट प्रदर्शन गरेर पनि ललितपुरले तीन अंक सुरक्षित गर्न सकेन । ललितपुरले नियमित रूपमा धनगढीको पोस्टमा आक्रमण गर्यो । खेलमा अग्रता भने धनगढीले लियो ।

ललितपुरले त्यसको सात मिनेटपछि नै बराबरी गोल फर्कायो । धनगढीका खेलाडीले आफ्नो डी बक्सबाट फर्काएको बललाई नियन्त्रणमा लिएर रञ्जन विष्टले सशक्त प्रहार गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा फर्काएका हुन् । उनको प्रहार धनगढीका रक्षक दिनेश राजवंशीको टाउकोमा लागेर जाली चुम्न पुगेको थियो । 

त्यसअघिको खेलमा पेनाल्टी अवसरसमेत गुमाउँदा ललितपुर प्रतियोगिताको पहिलो जितको निकै नजिक पुगेर रोकियो । खेलको ४२औँ मिनेटमा धनगढीका गोलरक्षक एवं कप्तान किरण चेम्जोङले ललितपुरका कप्तान अञ्जनलाई आफ्नै पेनाल्टी क्षेत्रमा हातले प्रहार गरेका थिए । त्यससँगै ललितपुरले पेनाल्टी अवसर पाएको थियो । 

यद्यपि, उक्त अवसरमा नुर्लन नोभ्रुजोभ जहिदको प्रहार फितलो रह्यो । उनको प्रहारलाई धनगढीका गोलरक्षक किरणले सहज नियन्त्रणमा लिए । त्यसको एक मिनेटअघि गोलरक्षक किरण बिट भइसकेको अवस्थामा अञ्जनले खाली पोस्टमा प्रहार गरेको बललाई गोल लाइनबाट रक्षक दिनेशले फर्काइदिएपछि ललितपुर गोलको अर्काे अवसरबाट चुकेको थियो । 

आफ्नो टोलीका लागि सशक्त प्रदर्शन गरेका धनगढीका रक्षक दिनेश सुपर प्लेयर अफ द म्याच चुनिए । उनले आत्मघाती गोलमा टोली जितबाट चुकेको र त्यसमा आफू संलग्न हुँदा भने दुःख लागेको प्रतिक्रिया दिए । ‘हामीले जितिसकेको खेल थियो । तर, मैसँग ठोक्किएर आत्मघाती गोल हुन पुग्यो,’ खेलपछि दिनेशले भने, ‘जितिसकेको खेलमा अंक बाँड्नुपर्दा खल्लो लागेको छ । त्यो कारण म आफैँ बन्नुपर्दा अझ दुःख लागेको छ ।’

धनगढी भने एक अंक थप्दै सात टोली सहभागी प्रतियोगिताको अंकतालिकामा दोस्रो स्थानमा उक्लिएको छ । धनगढीले तीन खेलबाट चार अंक पु¥याएको छ । आफ्नो पहिलो खेलमा विराटनगर सिटी एफसीसँग ३–० ले पराजित भएको धनगढीले आफ्नो दोस्रो खेलमा काठमाडौं रेजर्समाथि ३–० कै जित हात पारेको थियो ।

सुझावित समाचार