- समूह ‘ए’मा अफगानिस्तानलाई पाँच विकेटले हराएको नेपालले आगामी मंगलबार क्वार्टरफाइनलमा अर्को टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै
नेपाली पुरुष राष्ट्रिय पुरुष क्रिेकट टोलीसमक्ष पुनः एकपटक टेस्ट राष्ट्रलाई टी–२० आईमा हराउने अवसर जुरेको छ । जापानको आइची र नागोया सहरमा चलिरहेको २०औँ एसियन खेलकुद प्रतियोगिता (एसियड)अन्तर्गत क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा टेस्ट राष्ट्र श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दै छ । एसियाडमा लगातार दोस्रोपटक नेपालले टेस्ट राष्ट्रविरुद्ध खेल्न लागेको हो ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल र आयोजकबिचको खेल वर्षाले रद्द हुँदा अंक बाँडिएको थियो । नेपाल आफ्नो समूहमा सर्वाधिक तीन अंकसहित शीर्ष स्थानमा रहँदै क्वार्टरफाइनलमा पुग्यो । समूह ‘बी’बाट उपविजेता बनेको श्रीलंकाले नेपालसँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले समूहमा टेस्ट राष्ट्र अफगानिस्तानमाथि पाँच विकेटको सानदार जित निकालेको थियो ।
नेपालले टी–२० आईमा १२ वर्षपछि अफगानिस्तानविरुद्ध दोस्रो भेटमै हराउन सफल भयो । यसअघि नेपालले सन् २०१४ को आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानलाई नौ रनले पराजित गरेको थियो । नेपाल अघिल्लोपटकको एसियाडमा पनि क्वार्टरफाइनलसम्म पुगेको थियो ।
वर्षाले खेल नहुँदा श्रीलंका विजयी हुने
नेपाल र श्रीलंकाबिचको आगामी मंगलबार खेल हुनेछ । यस खेलमा वर्षा हुँदा नतिजा नेपालको पक्षमा रहनेछैन । खेल वर्षाका कारण रद्द भए रिजर्भ डे को व्यवस्था गरिएको छैन । खेल हुन नसकेको अवस्थामा आइसिसी टी–२० अन्तर्राष्ट्रिय वरीयताका आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपाल प्रतियोगिताबाट बाहिरिनेछ । आइसिसी टी–२० आई वरीयतामा श्रीलंका नौ स्थानमा छ । नेपाल भने १४औँ स्थानमा छ ।
अफगानिस्तानलाई हराएको नेपालले दुई दिनअघि मात्र दुई स्थान वरीयता सुधार गरेको हो । वरीयतामा श्रीलंकाले २२० रेटिङ प्राप्त गरेको छ । नेपालले १८१ रेटिङ हात पारेको छ ।
वरीयताकै नियमअनुसार सन् २०२३ मा चीनको हाङझाउमा भएको एसियाडमा भारतले अफगानिस्तानलाई निराश बनाउँदै स्वर्णपदक जितेको थियो । त्यसवेला भारतले पहिलो ब्याटिङ गर्दा १८.२ ओभरमा वर्षाले खेल रोकिएको थियो । नियमअनुसार आइसिसी वरीयताअनुसार भारतलाई पहिलो तथा अफगानिस्तानलाई दोस्रो स्थानमा राखियो । भारतले स्वर्ण र अफगानिस्तानले रजत प्राप्त गर्यो ।
श्रीलंकाविरुद्ध पहिलो भेट
आइसिसी टी–२० आईमा नेपाल र श्रीलंका बिच पहिलो खेल हुँदै छ । यसअघि कुनै पनि प्रतियोतिगामा यी दुईबिच खेल भएका छैनन् । पछिल्लो समयमा श्रीलंकाले टी–२०आईमा खराब प्रदर्शन गरिरहेको छ । श्रीलंकाले लगातार चार टी–२० आई खेल गुमाएको छ । पाँचमध्ये एक खेलमा मात्र श्रीलंकाले जित निकालेको छ । यसविपरीत नेपालले भने पाँच खेलमा अपराजित यात्रा राखेको छ । नेपालले लगातार चार टी–२०आईमा जित निकालेको छ । एक खेलमा मात्र नेपालले अंक बाँड्यो । जुन जापानसँग रह्यो ।
अलराउन्डरले भरिएको श्रीलंका
श्रीलंकाली क्रिकेट संघले एसियाडका लागि अनुभवी खेलाडी पठाएको छ । टोलीमा धेरैजसो खेलाडी अलराउन्ड रहेका छन् । ब्याटिङदेखि बलर अलराउन्डरसम्म टोलीमा समावेश छ । कप्तान सहान ब्याटिङ अलराउन्डर हुने । यसैगरी मध्यक्रममा असेन ब्रान्द्रा मिडल अर्डरमा राम्रा ब्याट्सम्यान मानिन्छन् । चमिका करुनारत्ने ब्याटिङ अलराउन्डरमै छन् । थरिन्दु रत्नायके बलिङ अलराउन्डर हुन् । वान्जु सहान अलराउन्डर भूमिका निपूर्ण छन् ।
नेपाली टोलीमा पनि अलराउन्डर छन् । कप्तान दीपेन्द्रसिंह ऐरी पछिल्लो समयमा अलराउन्डर भूमिका चम्किरहेका छन् । गुल्सन झा र करण केसी पनि अलराउन्डर नै हुन् । यसैगरी, पूर्वकप्तान रोहित पौडेल ब्याटिङ अलराउन्डरमा छन् ।
नेपाल समूह विजेता
सन्दीप जोरा र लोकेश बमको आक्रामक अर्धशतक मद्दतमा शनिबार आयोजक जापानलाई १५० रनको विशाल लक्ष्य दिएको थियो । वर्षा बाधक बनेको खेलमा नेपाललेअंक बाँड्न बाध्य भएको हो । नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाउँदै १४९ रन बनाएको थियो । यसअघि वर्षाका कारण खेल पाँच ओभर घटाइएको थियो ।
दोस्रो इनिङमा वर्षा भएपछि खेल रोकियो । सन्दीपले ३२ बलमा ५७ रन बनाए । उनले पाँच चौका र तीन छक्का प्रहार गरे । सन्दीपको यो करिअरकै पाँचौँ अर्धशतक थियो । उनी जापानमा पहिलो अर्धशतक प्रहार गर्ने नेपाली खेलाडी बने । लोकेशले २२ बलमा ५२ रन बनाएका छन् । उनले एक चौका र ६ छक्का प्रहार गरेका छन् । पाँचौँ विकेटका लागि सन्दीप र लोकेशबिच ३० बलमा अविजित ६५ रनको साझेदारी भएको थियो । यसअघि दोस्रो विकेटको लागि आसिफले जोरासँग २९ बलमा ५५ रनको साझेदारी भएको थियो ।