काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्टस् प्रालिका प्रतिनिधिले स्वागत गरे।
३० वर्षीय वाटले स्कटल्यान्डका लागि टी–२० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन्। त्यस्तै, ३२१ रन बनाएका छन्। समग्रमा उनले टी– २० मा १३१ खेल खेल्दा १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन्।
दोस्रो एनपिएलमा समेत कर्णाली याक्सबाटै खेलेका वाटले ११४ रन बनाएका थिए। उनले मात्र ४१ बलमा कीर्तिमानी शतक प्रहार गरेका थिए। उनी आन्द्रेस गौसपछि एनपिएलमा शतक बनाउने दोस्रो खेलाडीसमेत हुन्।
कर्णालीले विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका क्रिकेटर डेभिड मिलरसँगै पाकिस्तान टी–२० टिमका कप्तान साहिबजादा फर्हान र हुसैत तलात, बंगलादेशका युवा ब्याटर अरिफुल इस्लाम र अकबर अली तथा स्कटल्यान्डका अलराउन्डर मार्क वाट अनुबन्ध गरेको छ।
यस्तै, कर्णालीले घरेलु खेलाडीको रूपमा मार्की सोमपाल कामीसँगै राष्ट्रिय टिमबाट खेलिरहेका अलराउन्डर गुल्सन झा र बलर नन्दन यादव तथा विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई अनुबन्ध गरेको छ।