काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ। यस सम्बन्धमा बैंक र जनकपुर बोल्ट्सबिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपिएलको तेस्रो सिजनलाई लक्षित गरी गरिएको हो।
नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले एनपिएलले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यसैबिच, एनपिएलको तेस्रो सिजनका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आधिकारिक लिस्ट ए टी–२० मान्यता प्रदान गरेको छ। यस मान्यतासँगै प्रतियोगितामा खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्यांकमा समावेश हुनेछन्। यसले नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्न र आधिकारिक तथ्यांकमा आधारित खेल करिअर निर्माण गर्न थप अवसर प्रदान गर्नेछ।
एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सले नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गरिसकेको छ। पहिलो संस्करणको च्याम्पियन बनेपछि टोली नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बन्नुका साथै मधेश प्रदेशको खेलकुद पहिचानलाई थप उजागर गर्न सफल भएको छ।
मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस सहकार्यले बैंकलाई समुदायसँग जोडिने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा युवा सशक्तीकरणमा योगदान पुर्याउने अवसर प्रदान गर्ने बताए। उनका अनुसार, बैंकले आफ्नो व्यावसायिक पहिचानलाई मात्र प्राथमिकता नदिई क्रिकेटमार्फत समुदायसँग जोडिने र स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसमेत राखेको छ। एनपिएलको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य लिइरहेका वेला टोलीसँग सहकार्य गर्न पाउँदा बैंक गौरवान्वित रहेको उनले बताए।
जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्टस् प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकसँगको साझेदारीप्रति खुसी व्यक्त गरे। उनले भने, ‘मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौँ। ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिँदै अघि बढेको जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेको छ।’
उनले थपे, ‘एनपिएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन पनि उपाधि जनकपुर फर्काउने हाम्रो लक्ष्य छ। आइसिसीको आधिकारिक मान्यतासँगै यो सिजन हाम्रा खेलाडीका लागि झनै महत्त्वपूर्ण बनेको छ। मुक्तिनाथ विकास बैंकको साथले मैदानभित्र र बाहिर दुवैतर्फ हामीलाई थप ऊर्जा प्रदान गर्नेछ। मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने हाम्रो साझा प्रतिबद्धतालाई यस सहकार्यले अझ बलियो बनाउनेछ।’
नेपाली बैंकिङ क्षेत्रमा ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले यस साझेदारीलाई खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा योगदान पुर्याउने अवसरका रूपमा लिएको छ। बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्धलाई थप सुदृढ बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।