झापा महिला गोल्डकप ५ मंसिरदेखि

आइतबार, ८ कार्तिक, २०८३
डिजिटल संस्करण

झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण मंसिर पहिलो साताबाट हुने भएको छ। प्रतियोगिताको दोस्रो संस्करण ५ मंसिरदेखि १२ मंसिरसम्म हुने आयोजक झापा महिला गोल्डकपले जनाएको छ। प्रतियोगिता झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा हुनेछ।

प्रतियोगितामा तीन विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबको महिला टिम सहभागी हुने टुंगो लागिसकेको आइतबार पत्रकार सम्मेलन गर्दै झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए। यस्तै, तीन विदेशी क्लब र नेपालको दुई शीर्ष डिभिजन क्लबको सहभागिता रहने उनले बताए। आयोजकले आफ्नै टिम बनाउने उनको भनाइ छ। यसअघि पहिलो संस्करणमा आयोजकको आफ्नै टिम थिएन। जिल्लास्तरबाट छनोट गरेर कोशी प्रदेशभित्रकै खेलाडीको टिम बनाउने तयारी भइरहेको अध्यक्ष थोप्राले बताए।

‘कोशी प्रदेशमा नचम्की बसेका हिराहरू पनि छन् नि ! हामीले बजारमा टल्काएर राखेको हिरा मात्रै देखेका छौँ। लुकेर बसेका प्रतिभा देखेका छैनौँ,’ उनले भने, ‘यस्ता प्रतिभा पनि विभिन्न ठाउँमा खोज्ने काम गरिरहेका छौँ। जिल्ला जिल्लामा नाम लिस्ट मगाएका छौँ। १५ दिनअघिदेखि बन्ध प्रशिक्षणमा राख्ने तयारी गरेका छौँ।’

दोस्रो संस्करणको विजेता टिमले नगद ११ लाख र उपविजेताले नगद ५ लाख ५० हजार प्राप्त गर्नेछ। यसअघि पहिलो संस्करणको विजेतलाई १० लाख १० हजार र उपविजेतालाई पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो। पहिलाे संस्करण नेपाल पुलिस क्लबले जितेको थियो। यस्तै, दोस्रो संस्करणको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० हजार प्रदान गरिने आयोजकले जनाएको छ। उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, प्रशिक्षक र उच्च गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सम्पन्न गर्न एक करोड २५ लाख लाग्ने अनुमान गरिएको अध्यक्ष थोप्राले बताए। उनका अनुसार प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी नेत्रहीन संघ र अटिजम भएका बालबालिकाको अध्ययनका लागि एक विद्यालयलाई प्रदान गरिनेछ।

पहिलो संस्करणमा झापा महिला गोल्डकपलाई दर्शक अभूतपूर्व उपस्थिति रहेको थियोे। पहिलो संस्करणमा गेटमनी मात्रै ५८ लाख संकलन भएको थियो। फाइनल खेलमा मात्रै टिकट विक्रीबाट ३० लाख २ हजार चार सय संकलन भएको आयोजकले जनाएको छ। यद्यपि पहिलो संस्करणमा खेलाडीको सुरक्षामा भने गम्भीर लापरवाही भएको थियो। दर्शक सीधै मौदानमा पुग्ने गरेको कारण फाइनल खेल पटकपटक अवरुद्ध भएको थियो। यसपटक भने खेलाडीको सुरक्षालाई ध्यानमा राख्दै संवेदनशीलता अपनाइने उनले बताए।

‘पहिलो संस्करणबाट धेरै कुरा सिकेका छौँ। व्यवस्थित बनाउन भरपुर कोशिश गरिरहेका छौँ। त्यसका लागि चिनबाट ४ हजार दर्शक क्षमताको आलमोनियमको प्यारापिट पनि ल्याएका छौँ,’ उनले भने, ‘खेलाडीको सुरक्षा र दर्शक व्यवस्थापनमा हामी सचेत छौँ। कसरी व्यवस्थित गर्न सकिन्छ अध्ययन पनि गर्दैछौँ र त्यहीअनुसार व्यवस्थापन पनि गर्छौँ।’  गत वर्ष करिब ७ हजार दर्शक क्षमताको अस्थायी र स्थायी प्याराफिटलाई सयपटक १२ हजार क्षमताको बनाइने उनी बताउँछन्।

प्रतियोगिताभरि ९० हजार दर्शकले प्रतियोगिता प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखिएको अध्यक्ष थोप्राले बताए। फिफाले एन्फा प्रतिबन्ध गरेको अवस्थामा फुटबललाई चलायमान गर्न मोफसलका प्रतियोगिताको योगदान रहेको उनी बताउँछन्। एन्फाको प्रतिबन्ध फुकुवा गर्नका लागि सबैले पहल गर्नुपर्ने उनको भनाइ छ।
 

सुझावित समाचार