काठमाडौं/ तेस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा झन्डै डेढ अर्बको आर्थिक कारोबार हुने अनुमान गरिएको छ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार पत्रकार सम्मेलन गर्दै एक महिनाको अवधिमा एक अर्ब ५० करोडको प्रत्यक्ष आर्थिक कारोबार गर्ने बताएको हो। क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार एनपिएल कमिटीले ७० करोडमाथिको र सहभागी आठ टोलीले पनि सोहीबराबरको खर्च गर्नेछन्।
‘टिकेटिङसहित सम्पूर्ण गरेर एनपिएल कमिटीले ७०–७५ करोडको आर्थिक कारोबार गर्छ भने त्यही हाराहारीमा हामीसँग भएका टिम ओनरहरूले पनि खर्च गरेर १५० करोडको कारोबार एक महिनाको अवधिमा हुन्छ,’ प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने।