मिर्गौला प्रत्यारोपणमा जोड दिऊँ

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

आज विश्व मिर्गौला दिवस (मार्च ११) विश्वभर मिर्गौला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम गरेर मनाइँदै छ । विश्वप्रसिद्ध जर्नल ल्यान्सेटको रिपोर्टअनुसार विश्वमा सन् २०१७ मा दीर्घ मिर्गौलारोगको कारण १२ लाखको मृत्यु भएको थियो, ६९ करोड ७५ लाख मानिस मिर्गौलारोगले ग्रसित थिए । नेपालमा भने पर्याप्त तथ्यांक राख्ने प्रणाली (पपुलेसन बेस्ड नेसनल मिर्गौला रजिस्ट्री) नभएकाले वास्तविक दीर्घ मिर्गौलारोगीको संख्या यकिन छैन । तर, विभिन्न अनुसन्धानले कुल जनसंख्याको १० प्रतिशत दीर्घ मिर्गौलारोगी रहेको देखाएका छन् । अस्वस्थकर जीवनशैली, प्रशस्त पिउने पानीको अभाव, मानसिक तनाव, मिर्गौलाको नियमित स्वास्थ्य जाँच नगर्नु यो रोग लाग्नुका प्रमुख कारण हुन् ।

नेपालमा पर्याप्त तथ्यांक राख्ने प्रणाली नभएकाले वास्तविक दीर्घ मिर्गौलारोगीको संख्या यकिन छैन । तर, विभिन्न अनुसन्धानले कुल जनसंख्याको १० प्रतिशत दीर्घ मिर्गौलारोगी रहेको देखाएका छन् ।

बेलायतबाट प्रकाशित हुने प्रसिद्ध अन्तर्राष्ट्रिय जर्नल बायोमेड सेन्ट्रल (बिएमसी नेफ्रोलोजी)मा प्रकाशित एक अध्ययनले नेपालको दीर्घ मिर्गौलारोगीहरूको स्वास्थ्यजन्य गुणस्तरीय जीवनयापनको अवस्थाबारे अध्ययन गरेको थियो । यसमा दीर्घ मिर्गौलारोगीहरूको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय स्वास्थ्यको बृहत् अध्ययन गरिएको थियो । अध्ययनअनुसार डायलाइसिस गरेका बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शारीरिक, मानसिक, सामाजिक र वातावरणीय स्वास्थ्यका अवयवहरू तुलनात्मक रूपमा राम्रो देखिएको थियो । यद्यपि, सामाजिक, आर्थिक अवस्थाले डायलाइसिसका बिरामीलाई भने कुनै असर नपरेको देखियो । उच्च आर्थिक अवस्था र न्यून आर्थिक अवस्था भएका डायलाइसिसका बिरामीको गुणस्तरीय जीवनयापनको स्तरमा कुनै फरक नआएको अध्ययनले देखाएको छ । अध्ययनमा महिलाभन्दा पुरुषमा धेरै मिर्गौलाको दीर्घ समस्या देखिएको पाइएको छ । उपचार सेवा लिने सवालमा भने पुरुषभन्दा महिलाको संख्या थोरै हुनुले उपचारको पहुँचमा विभेद हुन सक्नेसमेत अध्ययनले औँल्याएको छ ।

नेपालको मिर्गौला स्वास्थ्य प्रणालीमा देखिएका कमजोरीलाई यस अध्ययनले उजागर गर्दै समाधानका लागि सुझाब पेस गरेको छ । हालसम्म नेपालभरि जम्मा ४२ स्थानमा डायलाइसिस सेवा र पाँच अस्पतालमा प्रत्यारोपण सेवा उपलब्ध छ । यद्यपि, अधिकांश सेवा राजधानीकेन्द्रित हुँदा बिरामीले समयमै दूरदराजबाट सेवा लिन सास्ती झेल्नुपरेको अवस्था छ । यसका अलावा नेफ्रोलोजिस्ट डाक्टरको सीमित संख्या, डायलाइसिस र प्रत्यारोपण सेवा पाउन लामो अवधिसम्म कुर्नुपर्ने बाध्यता, अपर्याप्त आर्थिक सुरक्षा तथा सरकारको सीमित स्वास्थ्य बिमा प्याकेज पनि समस्याका रूपमा रहेका छन् । 

सरकारले विपन्न नागरिक उपचार कोषअन्तर्गत डायलाइसिसका लागि एक लाख रुपैयाँ र प्रत्यारोपणका लागि पाँच लाखसम्म रकम उपलब्ध गराउँदै आएको छ । तथापि, स्वास्थ्य बिमाले बिरामीको सम्पूर्ण औषधोपचार खर्च, यातायात शुल्क, घरबहाल नधान्ने हुँदा नेपालमा मिर्गौलाको उपचार पाउन ठूलो चुनौती देखिएको अध्ययनले देखाउँछ । त्रिवि शिक्षण अस्पताल नेफ्रोलोजी विभाग प्रमुख डा. महेशराज सिग्देलको सुपरिवेक्षणमा गरिएको यो अध्ययनले नेपालमा मिर्गौला स्वास्थ्यको प्रणालीलाई व्यापक सुधार गर्न मिर्गौला प्रत्यारोपण सेवामा जोड दिनुपर्ने, साथै सरकारले मिर्गौलाका दीर्घरोगीका निम्ति स्वास्थ्य बिमाको दायरा बढाउनुपर्ने निष्कर्ष निकालेको छ । 

(रानाभाट नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य हुन्) 

सुझावित समाचार