आन्दोलनकारीको तोडफोडलाई बढाइचढाइ गरिँदै छ फ्रान्समा

बुधबार, १८ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • भौतिक क्षति र आममानिसमाथि हुने राज्य दमनलाई एउटै स्तरमा राखिनु गलत हो

विगत केही सातादेखि फ्रान्समा जलिरहेका भवन र भत्किएका किनमेल केन्द्रका तस्बिरले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रभुत्व जमाएका छन् । ‘फ्रान्स जलिरहेको छ’, ‘फ्रान्स अशान्तिमा छ’, ‘फ्रान्समा अराजकता’ जस्ता विषय समाचारका प्रमुख शीर्षक बनेका छन् । शिक्षामा सुधारको माग गर्दै विगत केही सातादेखि भएको विद्यार्थी आन्दोलनले हिंसात्मक मोड लिएको छ । त्यसो त फ्रान्समा हिंसा र तोडफोडका घटना नयाँ होइनन् ।

विगतमा यी हिंसा किन भएका थिए र आज पनि भइरहेको छ भनेर बुझ्न ‘हिंसा’ शब्दको जाँच गरौँ । आजको सन्दर्भमा पसलको तोडफोड भएका सिसा, प्रदर्शनकारीलाई घाइते बनाउने प्रहरी अधिकारी, आगलागी गरिएको कार वा निहत्था भिडमा चलाइएको गोलीलाई जनाउन अन्धाधुन्ध शब्दको प्रयोग गरिन्छ । भौतिक क्षति र मानिसमाथि हुने आक्रमण, विद्रोह तथा त्यसको दमनलाई एउटै स्तरमा राखिन्छ, जुन आफैँमा गलत हो ।

‘मुक्ति धर्मशास्त्र’का पक्षधर तथा ब्राजिलका पादरी डोम हेल्डर कामाराले हिंसाका तीन प्रकार छुट्याएका छन् । पहिलो– उत्पीडन गर्ने अन्याय, दोस्रो– त्यही अन्यायका कारण उत्पन्न हुने विद्रोह र तेस्रो– त्यस विद्रोहको जवाफमा गरिने दमन ।

म यसमा हिंसाको अर्को एउटा स्वरूप पनि थप्न चाहन्छु– असमानता, भेदभाव, सामाजिक अपमान र असुरक्षित जीवन । कुनै सामाजिक व्यवस्था बाह्य रूपमा शान्त देखिए पनि भित्र हिंस्रक हुन सक्छ । फ्रान्सेली इतिहासले हामीलाई स्मरण गराउँछ कि विद्रोह, त्यसलाई मलजल गर्ने अन्याय र त्यसको प्रतिक्रियास्वरूप हुने दमन कति गहिरोसँग एक–अर्कासँग जोडिएका हुन्छन् ।

फ्रान्सेली क्रान्तिको पूर्वसन्ध्यामा सन् १७८९ जुलाई १४ का दिन भएको बास्टिल (मध्यकालीन किल्ला र कारागार) माथिको आक्रमण एउटा चर्चित घटना हो । यो दमनकारी निरंकुश राजतन्त्रलाई अस्वीकार गर्ने क्रान्तिकारीहरूद्वारा गरिएको सशस्त्र विद्रोह थियो, जसले उक्त कारागारलाई राजतन्त्रको अत्याचारको प्रतीकका रूपमा हेरेका थिए । किल्लाका रक्षकले आक्रमणकारीमाथि गोली चलाउँदा करिब सयजनाको मृत्यु भयो । आत्मसमर्पणपछि बास्टिलका गभर्नर बर्नार्ड रेने जर्डन डे लोने मारिए र उनको टाउकोलाई एउटा भालामा उनेर सडकमा घुमाइएको थियो । त्यसपछिका सातामा किसानहरूले कुलीन वर्गका सम्पत्तिमाथि धाबा बोल्न थाले । उनीहरूले ती ठाउँमा तोडफोड गरे र महŒवपूर्ण कागजात जलाइदिए । यी कागजातले त्यस्तो सामन्ती प्रभुत्वलाई जनाउँथे, जसको अधीनमा किसान बस्न बाध्य थिए ।

उक्त घटनाको तीन वर्षपछि सन् १७९२ अगस्ट १० मा क्रान्तिकारीहरूले ‘टुइलरिज प्यालेस’ (दरबार) मा आक्रमण गरे । आक्रमणमा सयौँ ‘स्विस गार्ड’को ज्यान गयो । सेप्टेम्बर महिनामा विदेशी हमलाका त्रासबिच सशस्त्र समूहले हजारभन्दा बढी कैदीको हत्या गरे । मारिनेमा क्याथोलिक पादरीका साथै सामान्य अपराधमा पक्राउ परेका व्यक्तिसमेत थिए । जनआक्रोशका यी विस्फोट पुरानो व्यवस्थाको संरचनागत हिंसामा जरा गाडेर बसेका थिए, जन्मका आधारमा प्राप्त विशेषाधिकार, सामन्ती उत्पीडन, करसम्बन्धी असमानता, तथा बल प्रयोग र स्वेच्छाचारिता । 

१९औँ शताब्दीभर सत्तामा रहेकाहरूप्रतिको डर र आक्रोशले सामूहिक हिंसालाई मलजल गरिरह्यो । सन् १८३१ को फेब्रुअरीमा चर्चविरोधी भावना बोकेको एक भिडले पेरिसस्थित एक पादरीको दरबारमा तोडफोड गरी त्यहाँका सरसामान नष्ट गरिदियो । प्रदर्शनकारीले अपदस्थ राजासँग जोडिएको चर्चलाई निसाना बनाउँदै लगे । सन् १८७१ मा फ्रान्स र जर्मनबिचको युद्धमा फ्रान्सको पराजयपछि असन्तुष्ट पेरिसवासीको एउटा ठुलो समूहले विद्रोह गर्यो र ‘पेरिस कम्युन’ (मार्च १८ देखि मे २८, १८७१ सम्म पेरिसमा शासन गर्ने एक कट्टरपन्थी समाजवादी र क्रान्तिकारी सरकार) गठन गर्यो । भर्साइल्समा रहेको सरकारलाई आफूमाथि भइरहेको बमबारी रोक्न दबाब दिने उद्देश्यले उनीहरूले केही व्यक्तिलाई बन्धक बनाए । अन्ततः ‘रक्तपातपूर्ण साता’का वेला ती बन्धकको हत्या भयो । सोही समयमा भर्साइल्सको सेनाले हजारौँ पेरिसवासीको नरसंहार गर्यो ।

तर, सामाजिक हिंसा सधैँ विद्रोह र त्यसको दमनजस्तो उग्र रूपमा मात्र प्रकट भएको छैन । यो श्रम परिचालनका साथै कारखाना, मेसिनरी र रोजगारदाताका प्रतिनिधिलाई निसाना बनाउने माध्यमका रूपमा देखापरेको छ ।

सन् १८८६ जनवरी २६ मा डेकाजभिलमा खराब कार्यस्थितिका कारण आक्रोशित खानी मजदुरको भिडले स्थानीय खानीका उप–निर्देशक तथा इन्जिनियर जुल्स वाट्रिनलाई कुटपिट गरेपछि झ्यालबाट खसालेर हत्या गर्यो । उनको नामबाट ‘वाट्रिनाड’ भन्ने नयाँ शब्दको उत्पत्ति भयो, जसको अर्थ कुनै प्रबन्धक वा मालिकको हत्या गर्नु भन्ने हुन्छ ।

सन् १९०३ मा आर्मेन्टियर्समा कपडा उद्योगका मजदुरको हडताल उग्र बन्दै गयो र पछि पसलहरू तोडफोड गर्ने स्थितिमा पुग्यो । त्यसको तीन वर्षपछि लिमोजमा प्रदर्शनकारीहरूले बलपूर्वक कारखानाका ढोका खोले र एउटा कारखानामा पोर्सिलेन (चिनियाँ माटोका भाँडाकुँडा) नष्ट गरिदिए । त्यहाँ दुइटा पसल लुटिए भने एकजना निर्देशकको घरबाहिर विस्फोटक पदार्थ पड्काइयो ।

१९६८ मा विश्वविद्यालयको अवस्था सुधार गर्न विद्यार्थी नेतृत्वको विरोध प्रदर्शनले समाजव्यापी परिचालनलाई निम्त्यायो, जसले गर्दा लाखौँ कामदार हडतालमा उत्रिए । हडतालका क्रममा पेरिसका सडकमा राखिएका अवरोधक पल्टिएका, पार्किङ गरिएका कार जलेका, ढुंगाहरू फ्याँकिएका र सार्वजनिक सम्पत्तिमा तोडफोड भएका दृश्य देख्न सकिन्थ्यो । नान्टेसमा सुड एभिएसनका निर्देशकलाई उनको कारखानामा धेरै दिनसम्म बन्दी बनाइएको थियो ।

त्यसपछिका वर्षमा औद्योगिकीकरणको प्रक्रियाले कामदारलाई फेरि पनि अनिश्चित अवस्थामा पुर्यायो र श्रम विरोधको अर्को लहर ल्यायो । १९७९ मा ठुलो मात्रामा रोजगारी कटौतीको सामना गरिरहेका लंगवी र डेनाइनका स्टिल मजदुरले ब्रिको उपप्रान्तमा कार्यालयका ढोका तोडफोड गर्नुका साथै फाइलहरू छरिदिएका थिए । फोडेका ढोका र छरिएका फाइल छाडेर कतिपय मजदुर आन्दोलनमा सहभागी भए । आन्दोलनका क्रममा सवारी साधनहरू जलाइए र पसलका झ्यालहरू फुटाइए ।

२००९ मा क्लेरोइक्समा रहेको कन्टिनेन्टल प्लान्ट बन्द भएको घोषणापछि कर्मचारीले कम्पिएग्नेको उप–प्रिफेक्चरमा तोडफोड गरे । सन् २०१५ मा एयर फ्रान्समा जागिर कटौतीको विरुद्धमा प्रदर्शनको क्रममा दुई कार्यकारीमाथि आक्रमण गरियो । त्यस्तै, २०१६ मा रोजगारदाताले कामदारलाई सजिलै निकाल्न अनुमति दिने श्रम कानुन सुधारहरूको विरुद्धमा भएको विरोधका क्रममा स्टोरफ्रन्टहरू तोडफोड गरियो र प्रहरी सवारी साधनमा आक्रमण गरियो । दुई वर्षपछि आर्थिक असमानताविरुद्ध ‘पहेंलो भेस्ट’को प्रदर्शनका क्रममा हिंसाका डरलाग्दा दृश्य देखिए । डिसेम्बर २०१८ मा आर्क डे ट्रायम्फको संरचना बिग्रिएको थियो, पसल लुटिएका थिए ।

किसान र माछा मार्ने मानिसका गतिविधिले राज्यका प्रतिनिधि र सार्वजनिक भवनलाई लक्षित गर्दै निकै उग्र विरोध प्रदर्शन निम्त्याएका छन् । सन् १९९४ मा आफ्नो क्षेत्रमा देखिएको समस्याको विरोधमा माछा मार्ने मानिसले गरेको प्रदर्शन सुरक्षाकर्मीसँगको झडपमा परिणत भयो, जसका कारण लागेको आगोले ब्रिटानीको संसद् भवनलाई ध्वस्त बनायो । सन् १९९९ मा किसानहरूले वातावरणमन्त्री डोमिनिक भोयनेटको कार्यालयमा तोडफोड गरे ।

तर, सबै सामूहिक हिंसाहरू संगठित विरोध आन्दोलनभित्रै पर्छन् भन्ने छैन । कतिपय हिंसात्मक गतिविधि दुःखद घटनापछि भड्किन्छन्, जसले लामो समयदेखि जम्मा भएको आक्रोश र सामाजिक तनावलाई बाहिर ल्याउँछन् । सन् २००५ मा जाइद बेन्ना र बौना ट्राओरेको मृत्युपछि पेरिसका श्रमिक वर्गको बसोवास रहेको क्षेत्रमा भएका विरोध प्रदर्शनमा हजारौँ सवारी साधनमा आगो लगाइयो र सार्वजनिक भवनमा आक्रमण गरियो । यसको १८ वर्षपछि पेरिसको उपनगर नान्तेरमा प्रहरी अधिकृतद्वारा नाहेल मेर्जोकको हत्या भएपछि फेरि उस्तै दुःखद अवस्था दोहोरियो र त्यहाँ पनि सवारी साधन तथा पसलमाथि आक्रमण गरिए ।

अलजजिराबाट
(बान्टिग्नी फ्रान्सेली इतिहासकार तथा प्राज्ञिक हुन्)

 

सुझावित समाचार