जोनसोन एन्ड जोनसोनको भ्याक्सिनलाई अनुमति, ‘एक डोज’ लगाए पुग्ने

आइतबार, १६ फागुन, २०७७
डिजिटल संस्करण

अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्टे«सन (एफडिए)का वैज्ञानिकहरूको प्यानलले जोनजोन एन्ड जोनसोन कम्पनीले उत्पादन गरेको कोभिड भाइरसविरुद्धको भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको छ । एफडिएको प्यानलले शुक्रबार आपत्कालीन प्रयोगका लागि भ्याक्सिन प्रयोग गर्न सकिने गरी अनुमति दिएको हो । यो भ्याक्सिन अमेरिकामा अनुमति पाउने तेस्रो हो ।

औषधि उत्पादक कम्पनी जोनसोन एन्ड जोनसोनले यो भ्याक्सिनको एक डोजले नै ६६ प्रतिशत प्रभावकारिता देखाएको दाबी गरेको थियो । सोहीअनुसार एक डोज प्रयोगका लागि एफडिएले अनुमति दिएको हो । भ्याक्सिनका बारेमा कम्पनीले विश्वका विभिन्न स्थानमा परीक्षण र अध्ययन गरेको जनाएको छ । जसमा कोभिडका सिभियर केसहरूमा समेत ८५ प्रतिशत प्रभावकारी देखिएको थियो । अमेरिकामा यही साता कोरोना भाइरस संक्रमणबाट ५० हजारजनाको मृत्यु भएको छ ।

अमेरिकामा यसअघि दुईवटा खोपलाई आपत्कालीन प्रयोगमा अनुमति दिइएको थियो । खोपहरूले मान्यता पाइसके पनि अपेक्षाकृत रूपमा संक्रमण नियन्त्रणमा आइसकेको भने छैन । जोनसोनको भ्याक्सिन एक सट मात्रै लगाए पनि हुने भएपछि अब महामारी नियन्त्रणमा आउने अपेक्षा गरिएको छ । 

जोनसोन एन्ड जोनसोनले पनि बजारमा छिटोभन्दा छिटो भ्याक्सिन ल्याउने तयारी गरिरहेको जनाएको छ । जोनसोन एन्ड जोनसोन एडिनो भाइरसमा आधारित भ्याक्सिन हो । कम्पनीले निर्माण गरेको ‘एडी२६ कोभ२ एस’ नामक भ्याक्सिनमा एडिनो भाइरस २६ प्रयोग गरिएको छ ।

जोनसोनले एडिनो भाइरसलाई परिमार्जन गरेर भ्याक्सिनमा प्रयोग गरेको जनाएको छ । जुन कोषिकाभित्र प्रवेश गर्न सक्छ, तर कुनै किसिमको समस्या देखाउँदैन । यसअघि पनि एडिनो भाइरस भ्याक्सिनमा प्रयोग गरिँदै आइएको थियो । जुन इबोलाविरुद्धको भ्याक्सिनमा पनि प्रयोग भएको थियो । जोनसोनले एचआइभी र जिका भाइरसविरुद्धको भ्याक्सिनमा पनि एडिनो भाइरस प्रयोग गरिरहेको जनाएको छ । 

सुझावित समाचार