चालू आर्थिक वर्ष ०७७/७८ मा नेपाल दूरसञ्चार कम्पनीको आम्दानी घटेको छ । कम्पनीको तथ्यांकअनुसार चालू आवको दोस्रो त्रैमासिक अवधिमा कम्पनीको आयमा १ दशमलव ७४ प्रतिशतले कमी आएको हो ।
उक्त अवधिमा कम्पनीले १७ अर्ब ७२ करोड आय गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीले १८ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कोभिड महामारीका कारण कम्पनीको आयमा कमी आएको कम्पनीको दाबी छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेप तथा कुल निक्षेपमा प्राप्त हुने ब्याजदरमा कमी आएका कारण आयमा कमी भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार चालू आवको ६ महिनाको अवधिमा कम्पनीको ब्याजदर आयमा २० करोड ७४ लाख रुपैयाँ कमी आएको छ । त्यस्तै, महामारीका कारण डेटा प्याकेज कम मूल्यमा वितरण गरिएका कारण जिएसएम सेवातर्फ गत आवको तुलनामा चालू आवमा राजस्वमा कमी आएको कम्पनीले जनाएको छ ।
त्यस्तै, चालू आवको दोस्रो त्रैमास अवधिमा कम्पनीको खुद मुनाफा भने २५ करोड ३८ लाखले वृद्धि भई १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । चालू आवको पहिलो त्रैमासमा भने कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । कम्पनीको कुल सेवाबापतको आयमा भने ९ करोड ८ लाख रुपैयाँले वृद्धि भई ९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।