सेयर बजारले आइतबार दुईवटा नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसूचक करिब ४९ अंकले बढेर २ हजार ५ सय २४ बिन्दुमा आइपुगेको छ । दैनिक कारोबार रकम पनि बढेर १० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । कारोबार रकममा समेत नयाँ रेकर्ड बनेको हो ।
नेप्से परिसूचक २ दिनदेखि लगातार नयाँ उचाइ बनाएर अगाडि बढेको छ । कारोबार रकममा भने यसअघि १५ माघमा बनाएको ९ अर्ब ८९ करोड रुपैयाँको रेकर्ड तोडेको हो । बजार बढ्दा लगानीकर्ताको सम्पत्तिको मूल्यसमेत ३४ खर्ब हाराहारी पुगेको छ । कुल बजार पुँजीकरण ३३ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको हो ।
बजारमा लगानीकर्ता आक्रामक देखिएका छन् । एकै दिन बजारमा कारोबारमा आएकामध्ये ३१ कम्पनीको सेयर मूल्य ९ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । ८ कम्पनीको मूल्य १० प्रतिशतले बढेर सर्किट ब्रेक नै लागेको छ । यसरी सर्किट ब्रेक लाग्नेमा २ बाहेक सबै लघुवित्त कम्पनी छन् भने एक वित्त कम्पनी र अर्को नागरिक लगानी कोष रहेको छ । सर्किट ब्रेक लागेका कम्पनीमा पनि अधिकांशको १ हजार ५ सयदेखि ४ हजार ६ सय रुपैयाँसम्म छ । लघुवित्तमा आएको उछालसँगै यो समूहमा करिब ८ प्रतिशतले वृद्धि भएको छ ।
कारोबारमा आएका कुल २ सय २ धितोपत्र तथा ऋणपत्रलगायतमध्ये १ सय ३२ वटाको मूल्य बढेको र ४८ कम्पनीको मूल्य घटेको हो । अधिकतम कारोबार भएको कम्पनीको पनि १ अर्ब रुपैयाँमुनि कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने हिमालयन डिस्टिलरीको ५३ करोड रुपैयाँको सेयर किनबेच भएको हो ।
बैंकिङ, विकास बैंक र सामूहिक लगानी कोषका समूहगत परिसूचक मात्र घटेका छन् । आइतबारबाट कारोबार सुरु भएको चन्द्रागिरि हिल्सको १ सय ६१ रुपैयाँमा पहिलो कारोबार भएको छ । तीनपटक भएको कारोबारमा ३० कित्ता सेयर खरिद–बिक्री भएर मूल्य करिब २ प्रतिशतले बढेको हो । अन्तिम कारोबारमा मूल्य १ सय ६४ रुपैयाँ कायम भएको हो । कम्पनीले पहिलो कारोबारका लागि ९६ रुपैयाँ ६९ पैसादेखि २ सय ९० रुपैयाँसम्मको मूल्य रेन्ज पाएको थियो ।