कोरोना भाइरसविरुद्धको भ्याक्सिन धेरै परीक्षण भएको ब्राजिलसँगै छैन भ्याक्सिन

मंगलबार, २० माघ, २०७७
डिजिटल संस्करण

ब्राजिलको साओ पाउलोस्थित इमिलियो रिबास इन्स्टिच्युड अफ इन्फेक्सियस डिजिजको कोभिड– १९ वार्ड संक्रमणबाट सिकिस्त भएका बिरामीले भरिएका छन् । वार्डभित्र बिरामीको शरीरमा जोडिएको मेसिनको आवाज तीव्र छ । त्योभन्दा तीव्र बन्दै छ, बिरामीहरूले लिने सास । 

वार्डमा उपचाररतमध्ये धेरैलाई बचाउन मुस्किल छ । लामो समयदेखि उक्त वार्डमा कोरोना संक्रमित बिरामीको उपचारमा खटिएकी नर्स मोनिका कालाजन्स आफूले पहिले धेरै मृत्यु देखेको बताउँछिन् । उनी भन्छिन्, ‘कोरोनाबाट मैले आफ्ना आठ सहकर्मी गुमाइसकेँ । यो साँच्चिकै निर्दयी रोग रहेछ ।’

मोनिका दैनिक आफ्नो जीवन जोखिममा राखेर अरू संक्रमितको उपचारमा खटिएकी छिन् । यद्यपि, कोरोना भाइरस नियन्त्रणका लागि ब्राजिलले गरेको प्रयास कतै पनि सफलतानजिक देखिँदैन । देशको त्यो प्रयासका लागि दैनिक आफ्नो जीवन जोखिममा राखेकी मोनिकालाई भाग्यमानी नै मान्नुपर्दछ, उनलाई अहिलेसम्म केही भएको छैन ।

ब्राजिल विश्वमै कोरोना भाइरस महामारीबाट धेरै थलिएको देश हो । पहिलो चरणको संक्रमण कम नहुँदै ब्राजिलीहरूको जनजीवन दोस्रो चरणको संक्रमणले तहननहस नै बनाएको छ । यसकारण उसलाई भ्याक्सिन पहिले र ठूलो मात्रामा आवश्यक थियो । यस्तै, कोरोना भाइरसविरुद्ध निर्माण भएका धेरै भ्याक्सिनको परीक्षण ब्राजिलमै बढी भएको छ । यसले पनि ब्राजिल कोरोना भाइरसविरुद्धको भ्याक्सिन पहिले पाउनका लागि हकदार थियो । यद्यपि, ब्राजिलसँग आफ्ना नागरिकका लागि आवश्यक भ्याक्सिन छैन । ब्राजिलियन सरकार आफ्नो नागरिकका लागि आवश्यक भ्याक्सिन सुरक्षित गर्नमै असफल भएको छ । 

गत जनवरीमा मोनिका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्राप्त गर्ने पहिलो ब्राजिलियन बनेकी थिइन् । त्यसपछि तीव्र बन्ने अपेक्षा गरिएको ब्राजिलको आमभ्याक्सिनेसन निक्कै सुस्त पो बन्दै गयो । 

आइतबारसम्म ब्राजिलमा मात्रै ०.५ प्रतिशतले मात्रै अस्त्रजेनेका वा सिनोभाक भ्याक्सिनको पहिलो डोज प्राप्त गरेका छन् । भ्याक्सिनको परीक्षणमा सहभागी भएकाबाहेक अन्य कोही पनि ब्राजिलियनले अहिलेसम्म पूर्ण रूपमा भ्याक्सिन लगाउन पाएका छैनन् ।

बाहिरबाट आउनुपर्ने भ्याक्सिनमा निकै ढिला भएको छ । छिटो भ्याक्सिन ल्याउने सरकारी योजना पनि देखिएको छैन ।

सरकारी कार्यशैलीले ढिलासुस्ती
गत वर्ष जुनमा केही विज्ञहरूले चिन्ता गरेका थिए कि ब्राजिलले भ्याक्सिनका लागि कठिन संघर्ष गर्नुपर्नेछ । ब्राजिलको स्वास्थ्य प्रणाली कमजोर छैन । उनीहरूको अस्पताल र स्वास्थ्य केन्द्रहरूसँग ठूलो संख्यामा सफल भ्याक्सिनेसन गरेको अनुभव छ । अस्पतालबाहेक उनीहरूको प्रत्येक नगरपालिकामा अनुभवी स्वास्थ्यकर्मीहरू छन् ।

यद्यपि, राष्ट्रपति जइर बोल्सोनारो र उनको संघीय सरकारको कार्यशैलीका कारण विभिन्न देशमा बनेको धेरै भ्याक्सिनको परीक्षणको केन्द्र नै बनेको ब्राजिल आफैँले पर्याप्त भ्याक्सिन पाउन सकेको छैन । त्यसमा राष्ट्रपति र उनी नेतृत्वको सरकारकै कार्यशैलीको आलोचना हुन थालेको छ ।

‘यो महामारी सुरु हुँदा मैले भनेको थिएँ कि ल्याटिन अमेरिकामा भ्याक्सिन लगाउन सुरु गर्ने ब्राजिल पहिलो देश बन्नेछ । किनभने यो कसरी गरिन्छ भनेर हामीलाई राम्रोसँग थाहा छ,’ ब्राजिलियन माइक्रोबायोलोजिस्ट तथा स्वास्थ्य अभियानकर्ता नाटालिया पास्टरनेक भन्छन्, ‘त्यसका लागि हामीसँग सबै संरचना तयार छ । हामीलाई अब मात्रै राम्रो राष्ट्रपतिको आवश्यकता छ ।’

ब्राजिलको संघीय स्वास्थ्य अधिकारीहरूले सुरुवातमा भ्याक्सिनबारे अरू ठूला देशले जस्तै घोषणा गरेका थिए । उनीहरूले अस्त्रजेनेका भ्याक्सिन देशमै उत्पादन गर्ने जनाएका थिए । सन् २०२१ को जनवरीसम्म उनीहरूले देशमै अस्त्रजेनेकाको ३० मिलियन डोज उत्पादन गर्ने जनाएका थिए ।

थप दुई सय मिलियन डोज भ्याक्सिन वर्षको अन्त्यसम्म उत्पादन गरिने घोषणा गरेका थिए । उनीहरूले पहिलो चरणमा स्वास्थ्यकर्मी, वृद्धवृद्धालाई भ्याक्सिन लगाइने र त्यसपछि सर्वसाधारणका लागि उपलब्ध गराउने घोषणा गरेका थिए ।

ब्राजिलियन अधिकारीहरूले सुरुवातमा अस्त्रजेनेका भ्याक्सिनमा आफ्नो भरोसा राखेका थिए । यद्यपि, यो भ्याक्सिनको परीक्षण अवधि अरू भ्याक्सिनको भन्दा केही लम्बियो । ढिलै भए पनि ब्राजिलियन निकायले गत १७ जनवरीमा अस्त्रजेनेकाको भ्याक्सिनलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो । यद्यपि, भ्याक्सिन बनाउने आवश्यक ‘इन्ग्रेडियन्ट’को अभावमा ब्राजिलका ल्याबहरूले आफ्नो देशमा आवश्यक देखिएको हजारौँ डोज भ्याक्सिनको उत्पादन कार्य सुरु नै गर्न पाएका छैनन् ।

निर्माण पूरा भएका भ्याक्सिन कहिलेबाट उपलब्ध गराउने भन्ने विषयमा समेत सरकारले निर्णय गर्न सकेको छैन । ब्राजिलको जत्तिकै किन्ने क्षमता भएका अरू देशहरूले अरू नै भ्याक्सिन किन्ने गरी सम्झौता गरेका छन् । मोडर्ना, सिनोभाकजस्ता कम्पनीले निर्माण गर्ने भ्याक्सिन किन्न अरू देशले सम्झौता गर्दा ब्राजिलले भने त्यसतर्फ कुनै प्रयास गरेन ।

ब्राजिललाई गत अगस्टमा फाइजरले आफूले निर्माण गरेको भ्याक्सिन ७० ७० मिलियन डोज किन्न प्रस्ताव गरेको थियो । यद्यपि, ब्राजिलका स्वास्थ्यमन्त्रीले उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए । राष्ट्रपति बोल्सेनेरोले भने आफ्नो सरकारको जत्तिको अरू कुनै पनि सरकारले गर्न नसक्ने भनी दाबी गरेका छन् ।


केन्द्र सरकारभन्दा नगर अगाडि
ब्राजिलले आफूले निकट भविष्यमा प्राप्त गर्ने अपेक्षा गरेको भ्याक्सिन हो, कोरोनाभ्याक । यो भ्याक्सिन चीनको सिनोभाकले निर्माण गरेको हो । ब्राजिलले यसलाई पनि गत १७ जनवरीमै आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । त्यससँगै ब्राजिलले एक सय मिलियन डोज किन्ने गरी सम्झौता पनि गरेको छ । 

यो निर्णयले राष्ट्रपति बोल्सेनेरोमाथि नै प्रहार गरेको छ । राष्ट्रपति बोल्सेनेरोले महिनौँसम्म यही भ्याक्सिनको आलोचना गरेका थिए । उनले आफ्नो धेरै भाषणमा चीनमा निर्माण भएको भ्याक्सिनले मान्छेलाई मार्न सक्ने वा अपांग बनाउन सक्ने भनी आलोचना गरेका थिए, जसको अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन ।

चीनसँग भ्याक्सिन किन्ने निर्णय साओ पाउलोका गभर्नर जाओए डोरियाले गरेका हुन्, जो बोल्सेनेरोका राजनीतिक प्रतिद्वन्द्वी हुन् । उनलाई अर्काे वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा बोल्सेनेरोका प्रतिद्वन्द्वीको रूपमा पनि हेरिएको छ । उनले सीधै चीनसँग सिनोभाकको भ्याक्सिन किन्नेबारे सम्झौता गरेका हुन् । 

उनले राष्ट्रपति बोल्सेनेरोको कार्यशैलीले आफूलाई यो निर्णय गर्न बाध्य पारेको बताएका छन् । ‘भ्याक्सिनको सम्बन्धमा हामी अहिलेको भन्दा साँच्चिकै छिटो हुनैपर्छ,’ उनले भनेका छन्, ‘ब्राजिलमा अहिले हामीले दुईवटा भाइरससँग लड्नुपरेको छ । एउटा कोरोना भाइरस र अर्काे बोल्सेनेरो भ्याक्सिन ।’
 

सुझावित समाचार