नेपाली धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा आइतबार स्वर्ण जितेकी छिन् । महिलातर्फ निर्धारित दूरी पुष्पाले दुई घन्टा ५९ मिनेट ३ सेकेन्डमा पूरा गरी स्वर्णपदक जितेकी हुन् । उनले गत वर्ष मंसिरमा नेपालमै सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा रजत जितेकी थिइन् ।
बंगलादेशको ढाकामा भएको म्याराथनमा जितसँगै पुष्पाले पाँच लाख टाका पुरस्कार जितेको टिम प्रशिक्षकको भूमिकामा रहेका धनीराम चौधरीले जानकारी दिए । पुष्पा दक्षिण एसियाली राष्ट्रमा पहिलो भएकी हुन् । उक्त स्पर्धामा विभिन्न तीन राष्ट्रका १२ खेलाडी सहभागी थिए । भारतबाट ३, नेपालबाट १ र बंगलादेशबाट ८ खेलाडीले भाग लिएको प्रशिक्षक चौधरीले जानकारी दिए । भारतीय खेलाडीले दोस्रो र तेस्रो स्थान हासिल गरेका छन् ।
म्याराथनमा पुरुषतर्फ १३औँ सागका स्वर्ण विजेता किरणसिंह बोगटीले प्रतिस्पर्धा गरेका थिए । किरण दक्षिण एसियाली राष्ट्रमा चौथो भए । निर्धारित दूरी तय गर्न किरणले २ घन्टा २६ मिनेट १३ सेकेन्ड समय खर्चे । प्रशिक्षक चौधरीका अनुसार किरणबाहेक म्याराथनमा भारतबाट ५, माल्दिभ्सबाट १ र बंगालदेशबाट ७०/८० जनाले भाग लिएका थिए । शीर्ष तीन स्थानमा भारतीय खेलाडीले कब्जा जमाए ।