खेलकुदमा प्रत्येक खेलको छुट्टै पोसाक हुने गर्छ । खेलाडीको प्रदर्शन राम्रो होस् भन्ने उद्देश्यले सम्बन्धित खेलले विशेष खालको पोसाक निर्माण गरेको हुन्छ । यसमा ब्रान्ड जोडियो भने अझ उत्तम हुन्छ । यसले खेलाडीको प्रदर्शन सुधार ल्याउनमै मद्दत गर्ने गर्छ ।
त्यसैले त खेलाडीहरू विशेष ‘ब्रान्ड’लाई पछ्याउने गर्छन् । कतिपय खेलाडीले सम्बन्धित ब्रान्डसँग प्रायोजनको सम्झौता गरेका हुन्छन् । त्यही ब्रान्डले ती खेलाडीलाई सुहाउने वा उसले भनेकै जस्तो पोसाक बनाइदिएको हुन्छ । यही पोसाकका कारण उनीहरूले मैदानमा आफ्नो खेल क्षमता शतप्रतिशत प्रदर्शन गर्न सक्छन् भन्ने विश्वाससमेत गरिन्छ ।
अन्तर्राष्ट्रिय खेलकुदको अभ्यास यस्तै देखिएको छ । प्रायः खेल वा टोलीहरूले कुनै न कुनै ब्रान्डसँग सम्झौता गरेकै हुन्छन् । यो अहिले आधारभूत कुराजस्तै भइसकेको छ । कम्पनीहरूले खेल पोसाकसहित खेलाडीले प्रयोग गर्ने अरू कपडा पनि उत्पादन गर्ने गर्छन् । यसले प्रदर्शनमा सुधार ल्याउनुका साथै खेलाडीको मनोबल उच्च पार्ने र टोलीको स्तर माथि उठाउने गर्छ ।
पछिल्लो केही समयदेखि नेपाली खेलकुदले पनि यो ‘ट्रेन्ड’लाई पछ्याउने प्रयास गरेको छ । नेपाली खेलकुदले पछ्याइरहेको ब्रान्ड हो, केल्मी । स्पेनिस ‘स्पोर्टस् ब्रान्ड’ केल्मी पछिल्लो केही वर्षदेखि नेपाली खेलकुदमा छाएको छ । केल्मी सन् २०१८ तिर नेपाल भित्रिएको हो । यसले नेपाली खेलकुद प्रवेश गर्न भने फुटबलको सहायता लिएको हो । उसले नेपाली राष्ट्रिय फुटबल टोलीसँग प्रायोजनको सम्झौता गरेको थियो । नेपाली फुटबलले झन्डै एक वर्ष खेलाडीको पोसाकदेखि बलसम्म केल्मीकै प्रयोग गर्यो ।
त्यसपछि अरू खेलमा पनि केल्मी प्रवेश गर्यो । गत वर्ष काठमाडौंमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीले केल्मीकै ज्याकेट लगाए । विभिन्न खेल संघ, फुटबल क्लबहरूले उसकै कपडा लगाए । अहिले केल्मी नेपाली खेलकुदको ब्रान्डजस्तै बनेको छ ।
-नेपाली खेलकुदले रुचाएको यही ब्रान्डसँग जोडिएकी छिन्, नेपाली खेलकुदकी सफल खेलाडी आयषा शाक्य । नेपाली खेलकुदको कीर्तिमानी खेलाडीमध्येकी उनी व्यवसायीका रूपमा केल्मी ब्रान्डसँग जोडिएकी हुन् ।
दुई सन्तानकी आमा बनेपछि पनि गत १३औँ सागमा दुई स्वर्ण जितेकी आयषाले हालै कुमारीपाटी जावलाखेलमा केल्मीको ‘आउटलेट’ सञ्चालनमा ल्याएकी छिन् । उनको यो आउटलेटमा जुत्ता, ज्याकेट, ट्र्याकसुटदेखि खेलाडीले प्रयोग गर्ने प्रायः सबै सामान उपलब्ध छ । आयषा अहिले पनि खेलाडीकै रूपमा छिन् ।
११औँ सागमा जितेको सहित साग खेलकुदमा ३ स्वर्णपदक जितेकी उनको खेलाडी जीवन अझै केही समय अघि बढ्नेछ । सागमा स्वर्णपदक जितेकै आधारमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रशिक्षकको जागिर पाएकी उनी अहिले आफू पनि प्रशिक्षणमा सहभागी हुन्छिन् र अरूलाई पनि प्रशिक्षण दिन्छिन् ।
कोभिड–१९ महामारी सुरु भएपछि बिहान आफ्नो प्रशिक्षण गर्छिन् । दिउँसो उनले प्रशिक्षण दिने विद्यालयमा अनलाइनमार्फत पुग्छिन् र सिकाउँछिन् । त्यसपछिको समय आफ्नो व्यवसायका लागि छुट्याएकी छिन् । उनी व्यवसाय सुरु गर्नुका दुई कारण सुनाउँछिन् । पहिलो, नेपाली खेलाडी वा खेलकुदलाई कुनै ब्रान्डसँग जोड्न मद्दत गर्नु । दोस्रो, खेलाडीले खेलेरै पनि देशभित्रै जीवन जिउन सक्छ भनेर देखाउने प्रयास ।
‘नेपाली खेलाडी वा नेपाली खेलकुदसँग यस्तो अनुभव नै छैन । गुणस्तरको खेल पोसाकले खेलाडीको प्रदर्शनमै पनि धेरै फरक ल्याउँछ भन्ने तथ्य धेरैले बुझेका छैनन्,’ आयषा भन्छिन्, ‘नेपाली खेलकुदसँग एउटा ब्रान्डलाई जोड्ने प्रयासस्वरूप यो व्यवसायको सुरुवात गरेकी हुँ । साथै, अर्काे दृष्टिकोणबाट भन्नुपर्दा यो मेरो ‘सर्भाइबल’का लागि पनि हो ।’
सर्भाइबल कसरी ? उनी थप्छिन्, ‘म अहिले खेल्दै पनि छु । राखेपमा मेरो जागिर पनि छ । तर, थोरै तलबको जागिरले जीवन कसरी चल्छ ? जागिरपछिको समय यहाँ प्रयोग गरेर जीवन जिउने बाटो बनाउँछु भनेर पनि यो सुरुवात गरेकी हुँ । खेलकुदमा लामो समय खर्चिएपछि खेलाडीलाई जीवन धान्न भने विदेश जानुपर्ने बाध्यता छ । म विदेश जान चाहन्नँ । देशभित्रै केही गरेर खेलकुदमै रहिरहन चाहन्छु । त्यसको आधार पनि हो यो व्यवसाय ।’
खेलाडीका रूपमा केल्मीको कपडा उनी आफैँले पनि धेरै प्रयोग गरेकी छिन् । त्यसले दिएको सन्तुष्टिले नै उनलाई यसको व्यवसायका लागि प्रेरित गर्योे । उनी यो ब्रान्ड नेपाली खेलकुदका लागि सुहाउँदो भएको बताउँछिन् । उनका अनुसार अरू ठूला ब्रान्डजस्तो महँगो केल्मी छैन । ठीकै मूल्यमा अन्तर्राष्ट्रिय गुणस्तरको कपडा लगाउन पाइने उनको भनाइ छ ।
उनी र उनको परिवारलाई यो व्यवसाय नयाँ भने होइन । दक्षिण एसियाली खेलकुदको ४ संस्करणमा लगातार ४ स्वर्णपदक जितेका अर्का कीर्तिमानी खेलाडी एवं उनका श्रीमान् दीपक विष्टले धेरैपहिले नै बानेश्वरमा खेलकुदकै सामग्री पाइने स्पोर्टस् युनिभर्स सञ्चालनमा ल्याएका छन् । त्यहाँ आयषाले पनि सहयोग गरेकी हुन् ।
अब भने उनी पूर्ण रूपमा केल्मीको आउटलेटमा हुन्छिन् । स्पोर्टस् युनिभर्स दीपककै जिम्मामा हुनेछ । नेपाली खेलकुदमा निरन्तर ठूला सफलता पछ्याएकी आयषालाई अब आफ्नो नयाँ सुरुवातलाई पनि सफलताको नयाँ उचाइमा पु¥याउनुपर्ने चुनौती हुनेछ । उनी भन्छिन्, ‘ठूलै व्यवसायी बनौँला भन्ने त छैन । मैले पहिले नै भनेको जस्तै नेपाली खेलकुदलाई नयाँ ब्रान्डसँग जोड्न र मेरो जीवन चलाउने माध्यम बनाउनका लागि यो व्यवसाय सुरु गरेकी हुँ । ठूलै सफलता प्राप्त भएछ भने त्यसलाई मेरो भाग्य सम्झनेछु ।’