वुहानमा कोरोना भाइरस संक्रमणबारे रिपाेर्टिङ गर्ने पत्रकारलाई चार वर्ष जेलको सजाय

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण
वुहानमा कोरोना भाइरस संक्रमणबारे रिपाेर्टिङ गर्ने पत्रकारलाई चार वर्ष जेलको सजाय

फैसला हुनुअघि अदालत परिसरमा जम्मा भएका झाङका समर्थक

चीनको वुहान सहरमा कोरोना भाइरस संक्रमण फैलिएकोबारे रिपाेर्टिङ गरेका एक नागरिक पत्रकार (सिभिल जर्नालिस्ट)लाई चार वर्षको जेल सजाय सुनाइएको छ । संक्रमणबारे प्रत्यक्ष प्रसारण गरेको भन्दै उनलाई गत मे महिनामै नियन्त्रणमा लिइएको थियो । उनलाई सोमबार जेल सजाय सुनाइएको हो ।

पेसाले वकिल ३७ वर्षीया झाङ जानलाई ‘समुदायमा त्रास फैलाएको र समस्याबारे बढाइचढाई गरेको’ आरोप लागेको थियो । उनको लाइभ प्रसारण सामाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा भाइरल भएको थियो । त्यसपछि स्थानीय निकायले उनीलाई नियन्त्रणमा लिएको थियो । यसअघि पनि स्थानीय प्रशासनले भाइरसबारे हल्ला गरेको र सरकारविरोधी क्रियाकलाप गरेको आरोपमा कैयौँ व्यक्तिलाई नियन्त्रणमा लिइसकेको छ ।

‘फैसलापछि झाङ निरश र स्तब्ध भएकोजस्तो देखिन्थिन्,’ उनका वकिल रेन क्युएनिउले भने, ‘उनलाई सांघाई पुदोङ न्यु डिस्ट्रिक पिपुल्स कोर्टले सोमबार बिहान जेल सजाय सुनाएको हो ।’ फैसलाका क्रममा अदालतमै रहेकी उनकी आमा ठूलो स्वरमा रोएको वकिल रेनले बताए । 

चिनियाँ कम्युनिस्ट पार्टीको अनुमतिविना अथवा उनीहरूको विपक्षमा समाचार संप्रेषण गर्नु निकै कठिन छ । फैसला हुनुअघि अदालत परिसरमा जम्मा भएका झाङका समर्थक, कूटनीतिक निकायका प्रतिनिधिलाई बेवास्ता गर्दै प्रहरीले झाङलाई अदालतभित्र लगेका थिए । जहाँ उनको पक्षमा वकालत गर्ने वकिल थिए । प्रहरी नियन्त्रणमा रहेकी पत्रकार झाङले गत जुनदेखि नै भोक हडताल गरेको उनको वकिलको भनाइ छ । तर, प्रशासनले उनको स्वास्थ्य बिग्रन थालेपछि जबर्जस्ती पाइपमार्फत खाना खुवाएको थियो । ‘गत साता मैले उनलाई भेट्दा यदि कडा सजाय भयो भने फेरि भोक हड्ताल सुरु गर्छु भनेकी थिइन्,’  वकिल रेनले भने ।
 

सुझावित समाचार