जलविद्युत् आयोजनाले खेतीयोग्य जमिन मासिने

आयोजना निर्माणका क्रममा तीन सय ५५ रूख काटिने

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

लमजुङमा निर्माण हुन लागेको ५० मेगावाटको मर्स्याङ्दीबेसी जलविद्युत् आयोजनाले नौ हेक्टर खेतीयोग्य जमिन मासिने भएको छ । बेसीसहर नगरपालिका ६ र १० मा पर्ने आठ दशमलव ९५ हेक्टर जमिन आयोजनाबाट प्रभावित हुने भएको हो । 
दिव्यज्योति हाइड्रो प्रालिले निर्माण गर्न लागेको आयोजनाले निर्माण अवधिमा १५ दशमलव नौ हेक्टर जमिन उपयोगमा ल्याउने आयोजनाका प्रमुख नारायणप्रसाद खनालले बताए । आयोजनाको प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रभावित क्षेत्रको कुल खेतीयोग्य जमिनमध्ये ६ दशमलव १५ हेक्टर खेत र दुई दशमलव ८० हेक्टर बारी उपयोग गरिनेछ ।

कुल खेतीयोग्य जमिनबाट वार्षिक ७२ दशमलव ३९ मेट्रिकटन खाद्यान्न उत्पादन क्षति हुने आयोजनाको प्रतिवेदनमा उल्लेख छ । आयोजनाको प्रभाव मूल्यांकन प्रतिवेदनमा आयोजना निर्माणका क्रममा दुई दशमलव ६५ हेक्टर जंगलको क्षति हुनेछ भने आयोजना निर्माणका क्रममा तीन सय ५५ रूख काटिने आयोजनाले जनाएको छ । 

वनजंगलमा हुने क्षतिको सट्टा १० गुणा बढी बोटविरुवा रोपिने जानकारी दिइएको छ । प्रभावित क्षेत्रका जलचर प्राणीको वासस्थान सुरक्षित गर्न ढुंगा राख्ने, वार्षिक रूपमा माछाका भुरा छोड्ने प्रतिवेदनमा उल्लेख छ । आयोजनाको हाल प्रभावित क्षेत्रको जग्गा मुआब्जा निर्धारणको काम मात्रै सुरु भएको छ ।

आयोजनाले अन्य निर्माणकार्य भने सुरु गरेको छैन । करिब आठ महिनाअघिबाट आयोजना निर्माण सुरु गर्ने भनिए पनि कोरोना भाइरसको जोखिमसँगै सरकारले जारी गरेको लकडाउनका कारण निर्माणकार्य प्रभावित भएको आयोजनाका प्रमुख खनालको भनाइ छ । 

आयोजनाले बायो इन्जिनियरिङ प्रविधिको प्रयोग जमिन स्थायीकरण गर्न सबै सम्भावित पहिरो जान सक्ने र गइरहेका ठाउँहरूको पहिचान गरी रोकथामको उपाय अवलम्बन गर्नेछ । आयोजनाले भौतिक तथा रासायनिक वातावरण प्रभाव न्यूनीकरणका लागि चार करोड १६ लाख, जैविक वातावरण सन्तुलन तथा व्यवस्थापनका लागि एक करोड १९ लाख ५० हजार र सामाजिक, आर्थिक तथा सांस्कृतिक वातावरण व्यवस्थापनका लागि तीन करोड दुई लाख ४७ हजार आठ सय ४० रुपैयाँ विनियोजन गरेको आयोजनाका प्रमुख खनालले बताए । 

निर्माण रोक्न स्थानीय युवाको माग
मर्स्याङ्दीबेसी जलविद्युत् आयोजनाको निर्माण कार्य रोक्न बेसीसहरका स्थानीय युवाले माग गरेका छन् । युवाहरूले बेसीसहर नगरपालिकाका नगर प्रमुख गुमानसिंह अर्यालललाई ज्ञापनपत्र बुझाउँदै उक्त आयोजना निर्माण कार्य सुरु हुनुअगावै रोक्न माग गरेका हुन् । युवाहरूको नेतृत्व गर्दै बेसीसहरका कुमार अर्यालले नगर प्रमुख अर्याललाई ज्ञापनपत्र बुझाएका थिए । 

सुझावित समाचार