शनिबार रातिबाट खुल्यो पृथ्वी राजमार्ग

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५, गलौदीनजिकै भासिएको सडक मर्मतपछि सञ्चालनमा

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण

सडक भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग शनिबार रातिबाट सञ्चालनमा आएको छ । नयाँ ट्रयाक खोल्ने काम सकिएकाले सञ्चालनमा आएको हो । नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डका प्रमुख गुरुप्रसाद अधिकारीले बताए । ‘शनिबार बिहानैदेखि ६ वटा एक्स्काभेटर, दुईवटा लोडर र दुईवटा ब्याकहो लोडरले काम गरेका थियौँ,’ उनले भने ।

भासिएको सडकको कुनातर्फ ब्याक कटिङ गरेर राजमार्ग सञ्चालनमा ल्याइएको हो । १५७ मिटर लम्बाइ, ६ मिटर चौडाइ, १२ मिटर भित्ताको उचाइ काटेपछि मात्रै राजमार्ग सञ्चालन गर्न सकिएको छ ।

भोटेकोशी बाढीका कारण भदौ १४ गते पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा भासिएको सडक नयाँ ट्रयाक खोलिएपछि असोजबाट सञ्चालन भएको थियो । वैकल्पिक मार्गका रूपमा खोलिएको कृष्णभिर क्षेत्रमा बर्सातको समयमा पहिरो झरेर सडक अवरुद्ध हुँदै आएको छ । पृथ्वी राजमार्गकै परेवाभिर, चालिसे, बांगेलगायतका क्षेत्रमा खसेको पहिरोले पनि यात्रुले ठुलै सास्ती व्यहोरे ।

भारतबाट काठमाडौं हिँडेका सञ्जय चौधरीको वास बाटोमै भयो । ‘आउँदा–आउँदै गन्तव्य नपुगी बाटोमै वास पर्यो । बाटो कहिले खुल्छ थाहा छैन,’ उनले भने, ‘पशुपति दर्शन गर्न भनेर भारतबाट आएको, नचिनेको ठाउँ बाटोमै अलपत्र परेँ ।’

शुक्रबारदेखि यात्रु अलपत्र
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– ५, गलौदीनजिकै भासिएको सडक मर्मतपछि सञ्चालनमा आएको छ । ६५ भन्दा बढी जिल्लालाई संघीय राजधानीसँग जोड्ने देशकै लाइफलाइन मानिने पृथ्वी राजमार्ग अवरुद्ध बन्दा हजारौँ यात्रु प्रभावित बनेका छन् । अत्यावश्यक सवारी, यात्रुसँगै मालवाहक सवारीको उच्च चाप हुने पृथ्वी राजमार्गको वैकल्पिक मार्ग नहुँदा यात्रुले हरेक वर्ष यस्तै सास्ती खेप्दै आएका छन् । पोखराबाट आएका दीपेन्द्र परियार पनि खाना खाने होटेल खोज्दै गर्दा गलौदीमा भेटिए । बाटोमा सानो सवारी पास भएको छ भनेर सुनेर आएका परियार परिवारसँग भेट्न आज घर पुग्न पाएनन् । बाटोमै वास बस्नु परेको गुनासो गरे ।

सुझावित समाचार