बुढीगण्डकी नदीमा ठुलो बाढी

गोरखाकाे चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी पुन: बग्दा ठूलो बाढी

आइतबार, २५ असोज, २०८३
डिजिटल संस्करण

बुढीगण्डकी नदीमा बाढी आएकाे छ । गोरखाको चुमनुम्ब्री गाउँपालिका– ६ बाट ठुलो बाढी आइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्मका नदीतटीय छेउछाउ नजान र उच्चस्थानमा सतर्क रहेर बस्न त्यसआसपासका स्थानीयलाई बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

गोरखाकाे चुमनुब्री गाउँपालिका– ६ स्थित लोक्पा र चुम्लिङबिच ठुलो पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदी पुनः बग्न थालेको छ ।

आइतबार बिहान ५:३० बजे पहिरोका कारण नदी थुनिएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी सिर्दिबासबाट र प्रहरी चौकी चुम्चेतबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ ।

नदीतटीय क्षेत्रमा रहेका प्रहरी युनिट तथा स्थानीय बासिन्दालाई सचेत गराइएको प्रहरीले जनाएको छ । बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठुलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीको भनाइ छ ।

हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त नभएको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

तर, सामाजिक सञ्जालमा देखिएका केही भिडियोहरूमा नदीतटीय  क्षेत्रका केही घर तथा भवनहरू कालो लेदोसहित आएको बाढीले  बगाएको देखिएको छ । 

सुझावित समाचार